Below Menu
Below Menu

अर्थतन्त्रलाई रेमिट्यान्स र सञ्चितिको टेकोः लगानी र व्यापार सन्तुलन चुनौतीमै ! 

अर्थतन्त्रलाई रेमिट्यान्स र सञ्चितिको टेकोः लगानी र व्यापार सन्तुलन चुनौतीमै ! 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार मुलुकका बाह्य सूचकहरु सबल देखिएका छन् भने आन्तरिक अर्थतन्त्रमा सुस्तता र संरचनागत चुनौतिहरु कायमै रहेका छन् ।

Sponsored Advertisement

राष्ट्र बैंकका अनुसार मूल्यवृद्धि नियन्त्रणमा रहेको भने विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि देखिएको छ । फलस्वरुप चालु खाता र शोधनान्तर स्थिति  दोब्बरभन्दा बढी बचतमा रहेको छ । 

तर, उच्च व्यापार घाटा, कर्जा विस्तार सुस्त, कमजोर पुँजीगत खर्च र शेयर बजारको उतारचढावले पनि आन्तरिक आर्थिक गतिविधिमा दबाब भने कायमै राखेको छ ।

मूल्यवृद्धि १.६३ प्रतिशतमा सिमित

राष्ट्र बैंकका अनुसार मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको ६.०५ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा कम हो । चालु आर्थिक वर्षको पाँच महिनाको औसत मुद्रास्फीति १.५५ प्रतिशत मात्र रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक हुँदा तरकारी, दाल तथा मरमसलाको मूल्यमा उल्लेख्य गिरावट आएको छ । यद्यपि घ्यू तथा तेल, दुग्ध पदार्थ र गैर–मदिराजन्य पेय पदार्थको मूल्य भने बढेको छ । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ, जसमा शिक्षा, विविध सेवा, कपडा तथा जुत्ताचप्पलको मूल्य वृद्धि उल्लेखनीय छ।

मङ्सिर महिनामा थोक मुद्रास्फीति २.७८ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको ६.५२ प्रतिशतभन्दा निकै कम हो। निर्माण सामग्रीको थोक मूल्य भने ४.५२ प्रतिशतले बढेको देखिन्छ ।

निर्यात बढेपनि व्यापार घाटा कायमै

पाँच महिनामा कुल निर्यात ५८.२ प्रतिशतले वृद्धि भई एक खर्ब १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । भारततर्फको निर्यात उल्लेखनीय रूपमा बढे पनि चीनतर्फको निर्यात ७३ प्रतिशतभन्दा बढीले घटेको छ ।

यस्तै, कुल आयात १५.८ प्रतिशतले बढेर ७६६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । यसका कारण व्यापार घाटा ६४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ, यद्यपि निर्यात–आयात अनुपात १५.२ प्रतिशतमा सुधार आएको छ ।

वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ । 

रेमिट्यान्सले अर्थतन्त्रलाई टेको

पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा विप्रेषण ६ अर्ब १६ करोड पुगेको छ । यसले चालु खाता र शोधनान्तर स्थिति दुवैलाई बलियो बनाएको छ ।

मङ्सिर महिनामा विप्रेषण आप्रवाह १८३ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह ११८ अर्ब ७९ करोड रहेको थियो ।
समीक्षा अवधिमा चालु खाता ३५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ भने शोधनान्तर स्थिति ४२१ अर्ब ८९ करोड रुपैयाँले बचतमा पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । 

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर सात अर्ब ६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ५० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा सात अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ ।

विदेशी मुद्रा सञ्चिति जीडिपीको ५२ प्रतिशत नाघ्यो

मङ्सिर मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब एक अर्ब ४७ करोड रुपैयाँ पुगेको छ, जसले २१.७ महिनाको वस्तु आयात धान्न सक्ने देखिएको छ । विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ५२ प्रतिशतभन्दा बढी पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २८ खर्ब ६६ अर्ब ४७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ३३५ अर्ब कायम भएको छ । 

सरकारको खर्चमा चालु खर्च हाबी 

राष्ट्र बैंकका अनुसार चालु आवको पाँचाैँ महिनासम्ममा सरकारको कुल खर्च ५६४ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । जसमा चालु खर्चको हिस्सा सबैभन्दा बढी रहेको छ भने पुँजीकगत खर्च न्युन रहेको छ ।

मंसिर मसान्तसम्म चालु खर्च ३९८ अर्ब ५ करोड रहेको छ भने पँुजीगत खर्च ३३ अर्ब ८७ करोड र वित्तीय व्यवस्था खर्च १३२ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

सरकारको कुल राजस्व परिचालन ४ खर्ब ६ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यसअन्तर्गत कर राजस्व ३८२ अर्ब २३ करोड र गैरकर राजस्व २४ अर्ब ७ करोड परिचालन भएको छ । विभिन्न सरकारी खातामा २ खर्ब ५३ अर्ब २ करोड रुपैयाँ नगद मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ । 

कर्जा प्रवाह सुस्त, घरजग्गामा उच्च निर्भरता 

राष्ट्र बैंकका अनुसार चालु आवको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले बढेको छ । बैंकहरुको कर्जा प्रवाह ५५ खर्ब ९९ अर्ब ९५ करोड रुपैयाँ रहेको हो । 

घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा अझै उच्च रहेको छ भने कृषि र वित्तीय अचल सम्पत्ति क्षेत्रमा कर्जा घटेको छ । 

निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । 

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको २.० प्रतिशत, विकास बैंकहरूको ०.८ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ । 

मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १४.९ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत रहेको छ । 

पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा र वित्त विमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले घटेकोछ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये हायर पर्चेज कर्जा ६.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ५.७ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.७ प्रतिशत, क्यास क्रेडिट कर्जा २.६ प्रतिशत, आवधिक कर्जा १.२ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.० प्रतिशत, र ट्रष्ट रिसिट (आयात) कर्जा ०.९ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ५.४ प्रतिशतले घटेको छ । 

शेयर बजारमा संकुचन

यस अवधिमा नेप्से परिसूचक २६८२.२९ बिन्दुबाट घटेर २६०१.६२ कायम भएको छ । धितोपत्र बजार पँुजीकरण ४३ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँमा झरेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ७१.५२ प्रतिशत रहेको छ । 

नेप्सेमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २८५ पुगेको छ । जसमा १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत्कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । 

पाँच महिनामा रु२१ अर्ब ९६ करोड बराबरको साधारण शेयर, रु.७ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर, रु.६ अर्ब २५ करोड बराबरको म्युचुअल फन्ड, रु.३ अर्ब ४० करोड बराबरको डिबेन्चर, रु.३ अर्ब २४ करोड बराबरको बोनस सेयर र रु.९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल रु.४३ अर्ब २४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

यस अवधिमा नेपाल धितोपत्र बोर्डले रु.११ अर्ब ८३ करोड बराबरको म्युचुअल फण्ड, रु.५ अर्ब १५ करोड बराबरको साधारण शेयर र रु.३ अर्ब ७८ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.२० अर्ब ७५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।
 

थप समाचार