Below Menu
Below Menu

आरपीएम मोडेलमार्फत स्वदेशी अटोमोबिल उद्योग विकासबारे नाईमाको संवाद

आरपीएम मोडेलमार्फत स्वदेशी अटोमोबिल उद्योग विकासबारे नाईमाको संवाद

काठमाडौं : नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले Institute of Engineering, Thapathali Campus सँगको सहकार्यमा आफ्नो मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ।

Sponsored Advertisement

क्याम्पस प्रमुख डा। खेम ज्ञवलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको मुख्य विषय “Completely Knocked Down (CKD) Vehicle
Assembly: Opportunities, Challenges, and Prospects” रहेको थियो।

अध्यक्षीय मन्तव्यमा क्याम्पस प्रमुख डा‍ खेम ज्ञवलीले थापाथली क्याम्पसले लामो समयपछि यति महत्वपूर्ण उद्योग–शिक्षा सहकार्यमा आधारित कार्यक्रम आयोजना गर्न पाएकोमा गर्व व्यक्त गरे । 

उनले यस्ता संवादहरू व्यवहारिक सिकाइ, अनुसन्धान तथा उद्योगसँग सहकार्य विस्तारका लागि वास्तविक आवश्यकता भएको उल्लेख गर्दै, कार्यक्रमको महत्वपूर्ण पहलका लागि NAIMA, Automobile and Mechanical Engineering Students’ Innovative Nexus (AMESIN) लाई धन्यवाद दिए । 

करिब २०० जना सहभागी रहेको कार्यक्रममा प्राविधिक प्रस्तुति तथा प्यानल छलफल आयोजना गरिएको थियो। प्राविधिक प्रस्तुतिको सहजीकरण थापाथली क्याम्पसका सहायक प्राध्यापक इ. लोचन केन्द्र देवकोटाले गरेका थिए । 

प्यानल छलफलमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योगपति तथा नाईमाका बोर्ड सदस्य शेखर गोल्छा, तथा थापाथली क्याम्पसका डेपुटी इन्स्ट्रक्टर इ. लक्ष्मण पालिखेल सहभागी रहेका थिए । 

कार्यक्रमको स्वागत मन्तव्य इन्जिनियर देवेन्द्रबहादुर राउत, प्रमुख, अटोमोबिल एन्ड मेकानिकल इन्जिनियरिङ विभाग, तथा नाईमाका सदस्य एवं सारडा ग्रुपका  निर्देशक गौरव सारडाले गरेका थिए । मन्तव्यमा इ. राउतले राष्ट्रिय विकासका लागि स्थानीय उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै, प्राज्ञिक र औद्योगिक क्षेत्रबीच अझ बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिए । 

नाईमा सदस्य सारडाले CKD Vehicle Assembly “Make in Nepal” नीतिसँग जोडिएको व्यवहारिक औद्योगिक मोडेलका रूपमा प्रस्तुत गर्दै, यसले दक्ष जनशक्ति विकास, युवा रोजगारी सृजना, प्रविधि स्थानान्तरण तथा स्थानीय आपूर्ति श्रृङ्खलाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

प्यानल छलफलका क्रममा वक्ताहरूले मानव स्रोत विकास, प्रविधि सुदृढीकरण र नीतिगत स्थायित्व बिना दिगो औद्योगिक विकास सम्भव नहुनेमा जोड दिए। भारत, चीन, ब्राजिल तथा अफ्रिकी मुलुकहरूको अनुभवले CKD vehicle assembly लाई औद्योगिकीकरणको प्रारम्भिक आधारका रूपमा सफल देखाएको उल्लेख गर्दै, “Make in Nepal” सन्दर्भमा यसको दीर्घकालीन सम्भावनाबारे चर्चा गरियो।

कार्यक्रमको सहजीकरण नाईमाका कार्यकारी निर्देशक राजकुमार दुलालले गरेका थिए । उनले नाईम मोबिलिटी संम्वादलाई आगामी दिनहरूमा अझ फराकिलो सहकार्य र युवा सहभागिता अभिबृद्दी सहित निरन्तरता दिइने जानकारी गराउँदै, यसको दशौं श्रृङ्खला IOE पुल्चोक क्याम्पसमा आयोजना गर्ने योजना रहेको बताए । 

समापन मन्तव्य काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी तथा नाईमाकी बोर्ड सदस्य यमुना श्रेष्ठले दिएका थिए । एसएसपी अधिकारीले चालक, ट्राफिक प्रहरी तथा सरोकारवालाहरूलाई आधुनिक सवारी साधन प्रविधिबारे शिक्षित गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै, उदीयमान सवारी प्रविधि तथा सफ्ट स्किल्स सम्बन्धी तालिम उपत्यकाका सम्पूर्ण ट्राफिक प्रहरीलाई प्रदान गर्ने नाईमाको पहलको उच्च प्रशंसा गरे। साथै, हालै ट्राफिक प्रहरी कार्यालयमा भएको क्षतिपछि नाईमाले गरेको सहयोगप्रति उनले हार्दिक आभार व्यक्त गरे । 

नाईमाका बोर्ड सदस्य यमुना श्रेष्ठले CKD vehicle assembly, नीतिगत स्पष्टता तथा शैक्षिक संस्था, सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र नेपालको अटोमोबिल उद्योगलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने धारणा व्यक्त गरिन् । उनले नाईमा मोबिलिटी जस्ता संवादात्मक पहलहरूले ज्ञान आदान–प्रदान, नीतिगत समझदारी र दीर्घकालीन औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

नीति निर्माता, अटोमोबाइल उद्योगका प्रतिनिधि, शैक्षिक विज्ञ, ट्राफिक प्रहरी, सञ्चारकर्मी, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रममा खुला अन्तरक्रिया तथा प्रश्नोत्तर सत्रसमेत सञ्चालन गरिएको थियो।

विद्यार्थी संगठन AMESIN को संयोजनमा सम्पन्न यस कार्यक्रममा CKD vehicle assembly, मार्फत रोजगारी सृजना, सीप विकास, उत्पादकत्व वृद्धि र स्वदेशमै मूल्य श्रृङ्खला विस्तार गर्ने सम्भावनाहरूबारे गहन छलफल गरिएको थियो।

थप समाचार