Below Menu
Below Menu

साना किसानको २४औँ वार्षिक साधारण सभामा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

साना किसानको २४औँ वार्षिक साधारण सभामा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. (SKBBL) को १५ प्रतिशत बोनस लाभांश पारित भएको छ ।

Sponsored Advertisement

संस्थाको २४औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष खेम बहादुर पाठकले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनमार्फत प्रस्ताव गरेको बोनस शेयर १४.२५% र कर प्रयोजनका लागि नगद लाभांश ०.७५% गरी १५ प्रतिशत लाभांश उपलब्ध गराउने प्रस्ताव पारित भएको हो।

यसैगरी साधारण सभामा प्रस्ताव गरिएको आर्थिक वर्ष २०८२ को असाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाव विवरण, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु सर्वसम्मत पारित भएका छन् ।

आ.व २०८१/८२ मा वित्तीय संस्थाको जारी र चुक्ता पुँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार, कुल सम्पक्ती ४१ अर्ब ५० करोड ४९ लाख ७३ हजार पुगेको छ ।

प्रति शेयर आम्दानी रु. २०.२९, प्रति शेयर बुक नेटवर्थ रु. २३९.३८, जम्मा पुँजीमा प्रतिफल ८.४८%, मूल्य आम्दानी अनुपात ४३.४० र कुल पुँजी कोष १६.०२% रहेको संस्थाले जनाएको छ ।

साधारण सभामा अध्यक्ष पाठकले गरिबी निवारणका लागि ग्रामीण क्षेत्रका साना किसानहरुलाई केन्द्रमा राखेर लगानी गर्दै आएको यस संस्थालाई अझै साना किसानहरुका लागि नभई नहुने संस्थाका रुपमा विकास गर्दै जाने प्रतिवद्धता जनाए।

उनले सबैभन्दा पहिले गरिब र किसानहरुलाई माथी उठाउन सके देशकै अर्थतन्त्र सुधार हुने बताए। ग्रामीण क्षेत्रमा पशुपालन, दुग्धजन्य उत्पादन, तरकारी उत्पादन, साना तथा लघुउद्यम विकास का लागि लघुवित्तले प्रदान गर्दै आएको साथ र सहयोगको सार्थकता समेत प्रमाणीत हुँदै गएको दाबी गरे।

यसैगरी प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले स्वागत मन्तव्य राख्दै संस्थाले उद्यम र उद्यमशीलताको विकासमा आफ्नो ध्यान केन्द्रीत गरेको बताए।

उनले युवा, महिला र गरिब किसानहरुको आर्थिक सवलिकरणका कार्यक्रमलाई सरकारसँगै दातृ निकायहरुसँग सहकार्य गरी सञ्चालन गर्दै जाने प्रतिवद्धता समेत जनाए।

यस वित्तीय संस्थामा देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा १ हजार ४ सय ६३ साझेदार संस्था आवद्ध रहेको संस्थाले जनाएको छ ।

आवद्ध सहकारी संस्थाहरूले रु.८८ अर्ब ८४ करोड ४९ लाख बराबरीको आन्तरिक पुँजी निर्माण गरी परिचालन गरेका छन् । वित्तीय संस्थाले आ.व २०८१/८२ को अन्त्यसम्ममा कुल ९,४१,७३१ साना किसान परिवारलाई लघुवित्त सेवा पुर्याउन सफल भएको छ ।

जसमध्ये दलित १०.९२%, जनजाति ४२.२१% र अन्यको ४६.८७% रहेकोमा महिला सहभागिता ८२% छ ।

साधारण सभाका अवसरमा यस वित्तीय संस्थाले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारको ऋण सहयोगमा १५ वर्ष अघिदेखि सञ्चालन गर्दै आएको सहुलियतपूर्ण पशुपालन तथा तरकारी खेती कर्जा कार्यक्रममा १ लाख ६९ हजार ५०० किसानहरुलाई व्यवसायसंग जोड्न सफल भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा २ लाख ८५ हजार ३ सय ७२ जना किसानलाई रु.४३ अर्ब ८० करोड ९२ लाख पशुपालन कर्जा र १८ हजार १ सय २ जना साना किसानलाई रु. ३ अर्ब ९ करोड ५२ लाख तरकारी खेती कर्जा प्रवाह भएको उल्लेख छ ।

किसानहरुले बाख्रा, बङ्गुर, पाडापाडी, भैँसी र गाई जस्ता १७ लाख ७९ हजार ७० पशुवस्तु पालन र १० हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरेका छन् ।

यस कार्यक्रमका माध्यमबाट वार्षिक रुपमा झण्डै रु. ७ अर्बको हाराहारीमा र हालसम्म रु. ७३ अर्ब भन्दाबढीको मासु तथा दुग्धजन्य पदार्थ र तरकारीको उत्पादन भएको आँकलन गरिएको छ ।

यस वित्तीय संस्थाले एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको सहकार्यमा कृषिमा युवा तथा स्तरोन्नती भएका साना किसानहरुलाई लक्षित गरी कृषि उत्पादन, प्रशोधन र बजारीकरण कार्यमा संलग्न गराउन ग्रामीण उद्यम परियोजना सञ्चालन गरेको छ ।

थप समाचार