सहकारी महासंघ अध्यक्ष मल्लले भनिन्, ‘चाँडै नै स्वदेश फर्कनेछु र आफ्नो जिम्मेवारी सम्हाल्नेछु’

सहकारी महासंघ अध्यक्ष मल्लले भनिन्, ‘चाँडै नै स्वदेश फर्कनेछु र आफ्नो जिम्मेवारी सम्हाल्नेछु’

काठमाडौं : राष्ट्रिय सहकारी महासंघ लि. नेपालकी अध्यक्ष ओमदेवी मल्लले प्रतिकूल स्वास्थ्यका कारण संघको ३३औं वार्षिक साधारणसभामा भौतिक रुपमा उपस्थित हुन नसकेको बताउँदै प्रतिनिधिहरु समक्ष क्षमा याचना गरेकी छिन् । साथै उनले स्वास्थ्यमा सुधार हुनासाथ स्वदेश फर्केर जिम्मेवारी सम्हाल्ने बताएकी छिन् ।

महासंघको आज जारी वार्षिक साधारण सभाका प्रतिनिधिहरुको नाममा पत्र प्रेषित गर्दै प्रतिकूल स्वास्थ्यका कारण सभामा सहभागी हुन नपाउँदा अत्यन्त पीडाबोध भएको उल्लेख गर्दै सुधार भए लगत्तै सबैसँग भेट्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । उनले पत्रमा लेखेकी छिन्, ‘स्वास्थ्यमा केही सुधार हुना साथ चाँडै नै स्वदेश फर्कनेछु र आफ्नो जिम्मेवारी सम्हाल्नेछु भन्ने यहाँहरु सबै सामु प्रतिवद्धता व्यक्त गर्दै छिटै भेट्ने विश्वस दिलाउँछु ।’

आफूलाई पीडाबोध भएको भन्दै उनले लेखेकी छिन्,  ‘साधारणसभामा महासंघको अध्यक्षका रुपमा उपस्थित हुन नसक्ने जानकारी गराउनु पर्दा निकै पीडावोध भएको छ, मन भक्कानिएको छ, तनले ठिक ढंगले काम गरिरहेको छैन । अध्यक्ष अनिवार्य उपस्थित हुनै पर्ने यो साधारणसभामा यसरी पत्रमार्फत शुभकामना व्यक्त गरिरहँदा मन अमिलो भएको छ, त्यसका लागि सम्पूर्ण प्रतिनिधि साथीहरु, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकारज्यूहरु लगायत सम्पूर्ण सहकारी अभियानका साथीहरुसंग क्षमा चाहन्छु । स्वास्थ्य उपचार र पारिवारीक भेटघाटका लागि ३ महिनादेखि म संयुक्त राज्य अमेरिकामा छु ।’

३३औं वार्षिक साधारणसभाका प्रतिनिधिहरुलाई सम्बोधन गरिएको पत्रमा उनले लेखेकी छिन्, ‘मान्छेका इच्छा, चाहना, भावना, जिम्मेवारी, दायित्व सबै भन्दा महत्वपूर्ण स्वास्थ्य रहेछ भन्ने पनि यतिबेला अनुभूत गरेको छु, आफुले नेतृत्व गरेको संस्थाको मुख्य जिम्मेवारीका रुपमा रहेको वार्षिक साधारणसभामा उपस्थित हुन नपाउँदा म मर्माहत भएको छु, विक्षप्त भएको छ, फेरी पनि मेरो बाध्यता यहाँहरुको बीचमा राख्दैछु ।’

उनले लेखेकी छिन्, ‘३३ औं वार्षिक साधारणसभा भन्दा अगावै स्वदेश फर्कने, साधारणसभाको तयारीमा यहाँहरु सबै जस्तै सक्रिय रहने योजनाका साथ यहाँ आएकी थिएँ । तर चाडै फर्कने चाहना हुदा हुदै पनि स्वास्थ्यका कारणले केही समय अझै स्वदेश फर्कन नसक्ने वाध्यता आइपरेको व्यहोरा अवगत गराउन चाहन्छु । २ दशकदेखि कुनै पनि वार्षिक साधारणसभामा अनुपस्थित नभएको मान्छेलाई आफै अध्यक्ष भएको समयमा उपस्थित हुन नसक्दा कस्तो पीडावोध भएको होला, मेरा सहकर्मी सहकारीकर्मी साथीहरुलाई मैले भनिरहनै पर्दैन । सहकारी क्षेत्रको आफ्नो दायित्वप्रति म सचेत छु । मलाई माया, सद्भाव र मार्गदर्शन गराउने सम्पूर्ण सहकारी अभियानकर्मी साथीहरु, मेरो मन मस्तिष्क नेपालमै छ।’

साथै उनले आफ्नो अनुपस्थितिमा संघका बरिष्ठ उपाध्यक्षले आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छिन् । उनले भनेकी छिन्, ‘ मेरो स्वास्थ्य र पारिवारीक भेटघाटका लागि अमेरिका प्रस्थान गर्नु अघि वरिष्ठ उपाध्यक्षज्यूलाई विनियम अनुसार नै अध्यक्षले गर्दै आएका सम्पूर्ण कार्य गर्ने अख्तियारी सहित कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी छु । मलाई विश्वास छ, मुलुकको सहकारी अभियानको संगिन अवस्थामा उहाँले आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नु हुनेछ । ३३ औं वार्षिक साधारणसभालाई भव्य रुपमा सफल पार्न उहाँ सहित सम्पूर्ण सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र व्यवस्थापनलाई आग्रह गर्दछु ।’

थप समाचार