Below Menu
Below Menu

मंगलम इन्डस्ट्रिजको आम्दानी एक अर्ब नाघ्यो, जोखिम घटेपनि नाफा मार्जिन खुम्चिँदै 

मंगलम इन्डस्ट्रिजको आम्दानी एक अर्ब नाघ्यो, जोखिम घटेपनि नाफा मार्जिन खुम्चिँदै 

काठमाडौं : पोलिमर पाइप तथा फिटिङ उत्पादन गर्ने मंगलम इन्डस्ट्रिज लिमिटेडले सन् २०२५ मा एक अर्ब ८ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीको कारोबार पछिल्ला तीन वर्षमा एक अर्ब रुपैयाँकै आसपास स्थिर छ ।

क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालका अनुसार कम्पनीको आम्दानी सन् २०२३ मा ९९ करोड ८० लाख, सन् २०२४ मा एक अर्ब ८ करोड १० लाख र सन् २०२५ मा एक अर्ब ८ करोड ४० लाख रुपैयाँ पुगेको छ । 

यसैगरी सन् २०२२ मा कम्पनीले एक अर्ब एक करोड र सन् २०२२ मा एक अर्ब १४ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । 

सन् २००९ मा स्थापना भई २०२३ मा पब्लिक लिमिटेड बनेको मंगलम इन्डस्ट्रिजमा प्रमुख शेयरधनी शशि चुरिवाल ५१.३५ प्रतिशत, अवसर इक्विटी डाइभर्सिफाइड फन्ड को २८.५७ प्रतिशत र साइनी खेतान १९.९६ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

सन् २०२५ मा निजी इक्विटी लगानी भित्रिएपछि कम्पनीको नेटवर्थ बढेर ६५ करोड ५० लाख रुपैयाँ पुगेको छ । यससँगै कम्पनीको ऋण–इक्विटी अनुपात (गियरिङ रेसियो) सन् २०२३ को २.६६ गुणाबाट घटेर १.०५ गुणामा झरेको छ, जसले वित्तीय जोखिम घटाएको देखिन्छ ।

इन्फोमेरिक्स नेपालले मंगलमलाई एक अर्ब १४ करोड ४९ लाख बराबरको बैंकिङ सुविधाका लागि रेटिङ दिएको छ । जसमा दीर्घकालीन कर्जा ५२ करोड ४९ लाख रुपैयाँ र अल्पकालिक कर्जा ६२ करोड रुपैयाँ रहेको छ ।

रुपन्देहीको धकधईस्थित कारखानाबाट कम्पनीले सीपीभीसी पीभीसी, एचडीपीई पाइप तथा फिटिङ र पानी ट्यांकी उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ७ हजार ९६२ मेट्रिक टन रहेको छ । ‘मंगलम’ ब्रान्डका उत्पादन देशभरका डिलरमार्फत बिक्री भइरहेका छन्।

कम्पनीले सन् २०२६ का लागि भारतमा १,८०० मेट्रिक टन पाइप निर्यात गर्ने सम्झौता गरिसकेको छ । यसले घरेलु बजारमा निर्भरता घटाउन र भविष्यमा आम्दानी बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ  ।

यद्यपि कम्पनीको नाफा पनि मार्जिन घट्दै गएको छ । सन् २०२३ मा २०.१४ प्रतिशत रहेको एबिटा मार्जिन सन् २०२५ मा घटेर १२.५५ प्रतिशतमा झरेको छ । उच्च डिलर छुट, प्रचार खर्च र कडा प्रतिस्पर्धाका कारण नाफामा दबाब परेको रेटिङ रिपोर्टमा उल्लेख  छ ।यसैगरी कम्पनीको वर्किङ क्यापिटल

चक्र २९७ दिन पुगेको छ, जुन नगद प्रवाहका लागि चुनौतीपूर्ण मानिन्छ । उधारो बिक्री धेरै हुनु, ठूलो स्टक राख्नुपर्ने अवस्था र बिक्री वर्षको अन्तिम महिनामा केन्द्रित हुनु यसको प्रमुख कारण हुन्।

मंगलमले प्रयोग गर्ने कच्चा पदार्थमध्ये ९८ प्रतिशत आयातित गर्नुपर्छ । यसले कच्चा पदार्थको मूल्य, डलर विनिमय दर र अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण लागत बढ्ने र नाफामा असर पर्ने देखिएको छ । 
 

Advertisment

थप समाचार