Below Menu
Below Menu

सहकारी अभियान सुदृढ बनाउन सबैको साझा दायित्वः मन्त्री चौलागाईं

सहकारी अभियान सुदृढ बनाउन सबैको साझा दायित्वः मन्त्री चौलागाईं

काठमाडौं : राष्ट्रिय सहकारी महासंघको ३३ औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले सहकारी अभियान देशको अर्थतन्त्रको बलियो खम्बा भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका चुनौती समाधान गर्दै अभियानलाई प्रभावकारी बनाउनु सरकार मात्र नभई सम्पूर्ण सरोकारवालाको साझा दायित्व भएको बताए ।

उनले सहकारीलाई पारदर्शी, उत्तरदायी र विश्वासयोग्य बनाउँदै आर्थिक समृद्धिमा यसको भूमिकालाई अझ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए । 

साधारण सभामा सहकारी विभागका रजिष्ट्रार सुशील ढकालले सहकारी अभियानसँग हातेमालो गर्दै देखिएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सहकारी क्षेत्रको नियमन अहिले सबैभन्दा ठूलो चुनौती बनेको बताउँदै नियमन प्रणालीमा एकरूपता र स्पष्टता ल्याउन जरुरी रहेकोमा जोड दिनुभयो। सहकारीप्रति जनविश्वास कायम राख्न प्रभावकारी अनुगमन र नीतिगत सुधार अपरिहार्य रहेको उनको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा महासंघका सल्लाहकार केशव बडाल, दीपकप्रकाश बाँस्कोटा, माननीय खगराज अधिकारी, देवन्द्रराज कडेल, लिलामणि पौडेल, गणेश शाह र उषा झाले सहकारी अभियानलाई सशक्त रूपमा अगाडि बढाउन महासंघले खेल्नुपर्ने नेतृत्वदायी भूमिकाबारे धारणा राखे । उनीहरूले वर्तमान अवस्थामा सहकारी क्षेत्रमाथि बढ्दै गएको दबाब, विश्वासको संकट तथा नीतिगत अस्पष्टताका बीच महासंघको सशक्त नेतृत्व अपरिहार्य रहेको औँल्याए । 

कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले महासंघको प्रगति प्रतिवेदन प्रस्तुत गरे । उपाध्यक्ष खेम पाठकले स्वागत मन्तव्य राखे भने उपाध्यक्ष डीबी बस्नेतले महासंघको विनियम संशोधन प्रस्ताव पेश गरे । त्यसैगरी उपाध्यक्ष इन्दिरा पन्तले महासंघको भावी कार्यक्रम तथा बजेट प्रस्तुत गरे ।

महासंघका महाप्रबन्धकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासंघकी अध्यक्ष ओमदेवी मल्ल स्वास्थ्य उपचारका लागि अमेरिकामा रहेकाले साधारण सभामा प्रत्यक्ष उपस्थित हुन नसके पनि शुभकामना सन्देश पठाउनुभएको थियो। उक्त सन्देश कार्यवाहक अध्यक्ष पोखरेलले सभामा पढेर सुनाएका थिए । 

साधारण सभाले सहकारी क्षेत्रको सुदृढीकरण, नीतिगत सुधार, पारदर्शिता र विश्वास पुनःस्थापनाका लागि महासंघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ । सभाले सहकारी अभियानलाई थप मजबुत बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
 

Advertisment

थप समाचार