काठमाडौं : राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालको ३३ औं वार्षिक साधारण सभाले निवर्तमान अध्यक्ष पदेन सञ्चालक रहने विगतको निर्णयलाई सच्याएको छ।
महासंघमा अध्यक्षको पदावधि सकिएपछि निवर्तमान बनेर अध्यक्ष पछिको बरियतामा बस्ने विगतको निर्णय सच्याउँदै निवर्तमान अध्यक्षलाई पदेन नबनाउने गरी विनियम संशोधन गरेर नियमनकारी निकायमा प्रमाणिकरणका लागि पठाउन लागिएको छ ।
‘निवर्तमानको बारेमा देशभरका सहकारीकर्मीहरुले निकै आवाज उठाउनु भयो । कार्यकारी अध्यक्ष भइसकेको व्यक्ति निवर्तमान अध्यक्ष, जसको मत दिने अधिकार समेत हुँदैन, त्यस्तो व्यक्तिलाई कार्यकारी टिममा राख्ने कुरा नगरौं भन्ने सबैको सहमति भयो, ‘महासंघका उपाध्यक्ष तथा विनियम संशोधन उपसमितिका संयोजक डिबी बस्नेतले भने, ‘अध्यक्ष भएर योगदान गरेको व्यक्तिको सल्लाह सुझाव, मार्गनिर्देशन आवश्यक छ । त्यसका लागि सल्लाहकार वा अन्य विधि बनाउन सकिन्छ । निवर्तमान चाँही नबनाउँ भन्ने सहमतिका आधारमा विनियम संशोधन गरियो ।’
२०५० सालमा स्थापना भएको महासंघको पहिलो अध्यक्ष दिपक प्रकाश बाँस्कोटा बने । डेढ दशक भन्दा बढी अध्यक्ष भएका बाँस्कोटा अहिले पनि महासंघको सल्लाहकार छन् । बाँस्कोटापछि अध्यक्ष भएका केशव प्रसाद बडालले २ कार्यकाल नेतृत्व सम्हाले । बडाल अध्यक्षबाट बाहिरिँदै गर्दा महासंघको विनियम संशोधन गरेर निवर्तमानलाई पदेन बनाउने व्यवस्था गरिएको थियो । बडालले १० वर्ष अध्यक्ष र ४ वर्ष निवर्तमान अध्यक्ष भएर नेतृत्व गरे । हाल उनी सल्लाहकार छन् । बडालपछि अध्यक्ष भएका मिनराज कंडेल हाल निवर्तमान अध्यक्षका रुपमा पदेन सञ्चालक छन्।
६ वर्ष पहिला निकै जोडतोडका साथ निवर्तमान अध्यक्षलाई पदेन सञ्चालक बनाउने प्रस्ताव आयो, पारित भयो । निवर्तमानको एक कार्यकाल सकिएर अर्काे कार्यकाल आधा भएको बेला किन संशोधन गरियो प्रश्नमा संयोजक बस्नेतले भने, ‘निवर्तमान अध्यक्षलाई पदेन बनाउने विषयमा देशभरबाट बिरोध आयो । धेरै साथीहरुले यो नगरौं भन्नुभयो । हामीले हटाउने प्रस्ताव साधारणसभा लग्यौं । साधारण सभाबाट सर्वसम्मत पारित भएको छ ।’
बडाल अध्यक्षबाट हट्दै गर्दा निवर्तमान अनिवार्य र ओमदेवी मल्ल अध्यक्षबाट हट्दै गर्दा निवर्तमान खारेजका विषयमा सहकारीकर्मीहरुकाबीचमा गाइगुइ चल्दैछ । पावर भएकाहरुका लागि हुँदै नभएको विधि पनि बनाइन्छ, पावरलेस भएपछि भएको विधि पनि हटाइन्छ ?
अध्यक्ष ओमदेवी मल्ल यतिबेला उपचारको लागि अमेरिकामा छिन् । साधारण सभाकै दिनअध्यक्ष मल्लले शुभकामना सन्देश पठाउँदै छिटै फर्केर जिम्मेवारी सम्हाल्ने बताएकी छिन् ।
व्यक्ति हेरेर विधि निर्माण भएको हो भन्ने प्रश्नमा बस्नेतले भने, ‘हिजो आवश्यकता महसुस गरेरै निवर्तमानको व्यवस्था गरिएको थियो, अहिले सबैको सहमति यसलाई हटाउ भन्ने भयो, हटाइयो ।’
नेपालका सहकारीहरुको सबै भन्दा माथिल्लो निकाय राष्ट्रिय सहकारी महासंघको विनियम संशोधनका क्रममा सञ्चालक समितिको संख्या १७ कायम गरिएको छ । हाल महासंघमा निवर्तमान पदेनसहित २५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति थियो ।
संशोधित विनियममा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष दुइ, महिला उपाध्यक्ष एक गरी पाँच सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ, यसमा निवर्तमानलाई मात्र हटाइएको छ ।
यस्तै सञ्चालकहरुमा सात प्रदेशबाट एक एक जना र ५ जना खुला सदस्य रहने व्यवस्था गरिएको विनियम संशोशन उपसमितिका संयोजक बस्नेतले जानकारी दिए । सहकारी ऐनमा ३३ प्रतिशत महिलाको सहभागिता हुनु पर्ने व्यवस्था भएकाले सात प्रदेशबाट निर्वाचित हुने सात जनामा तीन जना महिला र खुला पाँच जनाबाट निर्वाचित हुने सञ्चालकमा दुई जना महिला अनिवार्य हुने प्रस्ताव साधारणसभाबाट पारित भएको बस्नेतले बताए।
Advertisment