Below Menu
Below Menu

ओम हस्पिटलको व्यापार ८८ करोड नाघ्यो, ऋण भार घट्दै

ओम हस्पिटलको व्यापार ८८ करोड नाघ्यो, ऋण भार घट्दै

काठमाडौं : चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले पछिल्ला वर्षहरूमा कारोबार, नाफा तथा वित्तीय स्थायित्वमा उल्लेखनीय सुधार गरेको देखिएको छ । 

क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालको पछिल्लो प्रतिवेदनअनुसार अस्पतालले सन् २०२५ मा ८८ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५ करोड १० लाख रुपैयाँले बढी हो।

अस्पतालको आम्दानी विगत केही वर्षदेखि निरन्तर बढ्दो क्रममा रहेको छ । सन् २०२४ मा ओम हस्पिटलको कारोबार ८२ करोड ९० लाख रुपैयाँ रहेको थियो भने सन् २०२३ मा ७२ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ७० करोड १० लाख रुपैयाँ थियो । पछिल्ला चार वर्षमा अस्पतालको व्यापार स्थिर रूपमा विस्तार हुँदै गएको हो ।

कारोबारसँगै नाफामा पनि उल्लेखनीय सुधार आएको छ । सन् २०२१ मा ५.३२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा बढेर १२.९० प्रतिशत पुगेको छ ।

त्यसैगरी, करपछिको खुद नाफा मार्जिन सन् २०२४ मा २.०८ प्रतिशत रहेकोमा सन् २०२५ मा बढेर ५.५९ प्रतिशत पुगेको छ । सन् २०२५ मा अस्पतालले ११ करोड ४० लाख रुपैयाँ नगद संचित गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

इन्फोमेरिक्स नेपालले ओम हस्पिटललाई कुल ५८ करोड ८५ लाख रुपैयाँ बराबरको बैंकिङ सुविधाका लागि क्रेडिट रेटिङ प्रदान गरेको छ । यसमध्ये दीर्घकालीन कर्जा ४२ करोड ८५ लाख रुपैयाँ र अल्पकालीन कर्जा १६ करोड रुपैयाँ रहेको छ । अस्पताललाई दीर्घकालीन कर्जातर्फ ‘डबल बी प्लस’ र अल्पकालीन कर्जातर्फ ‘ए फोर प्लस’ रेटिङ दिइएको छ । 

उक्त प्रतिवेदन अनुसार अस्पतालको ऋण भारमा समेत सुधार देखिएको छ । अस्पतालको ऋण–स्वपुँजी अनुपात सन् २०२४ मा १.८६ रहेकोमा सन् २०२५ मा घटेर १.०९ पुगेको छ । अस्पतालले आफ्नो वित्तीय संरचना थप सुदृढ बनाउँदै लगेको देखिएको हो । 

ओम हस्पिटल करिब ३० वर्षभन्दा बढी अनुभव बोकेको १७५ बेड क्षमताको बहु–विशेषज्ञ अस्पताल हो । अस्पतालको सबैभन्दा बलियो पक्ष स्त्रीरोग तथा प्रसूति सेवा हो, जसले कुल आम्दानीमा ठूलो योगदान पुर्याउँदै आएको छ । 

अस्पतालको नेतृत्व वरिष्ठ रेडियोलोजिस्ट डा. आनन्दप्रसाद श्रेष्ठले गरिरहेका छन् । प्रमुख शेयरधनीहरूमा डा. भोला रिजाल र व्यवसायी विजय मल्ल रहेका छन् । डा. रिजालको ५.८५ प्रतिशत र विजय मल्लको ५.०९ प्रतिशत शेयर स्वामित्व रहेको छ।

पछिल्ला पाँच वर्षमा अस्पतालको आम्दानी करिब १६ प्रतिशतको वार्षिक औसत दरले बढेको इन्फोमेरिक्सको प्रतिवेदनमा उल्लेख गरिएको छ । ओपिडी र आईपीडी दुवै सेवामा स्थिर बिरामी आवागमन हुनुका साथै प्रति बिरामी आम्दानी बढ्नुले यस वृद्धिलाई टेवा दिएको हो । 

अस्पतालको ऋण तिर्ने क्षमतामा पनि उल्लेखनीय सुधार आएको छ।  ब्याज कभरेज रेसियो सन् २०२३ मा १.१२ गुणा रहेकोमा सन् २०२४ मा १.५८ गुणा र सन् २०२५ मा २.९६ गुणा पुगेको छ ।

त्यसैगरी, ऋण सेवा कभरेज रेसियो सन् २०२३ मा ०.७५ गुणा रहेकोमा सन् २०२४ मा १.२८ गुणा र सन् २०२५ मा १.८३ गुणा पुगेको छ । प्रवद्र्धकबाट भएको पूँजी थप र सञ्चित नाफाका कारण अस्पताल ऋणको किस्ता र ब्याज सहज रूपमा तिर्न सक्ने अवस्थामा पुगेको हो । 

नेपालमा स्वास्थ्य बीमाको पहुँच विस्तार हुँदै जानु, आम नागरिकमा स्वास्थ्यप्रतिको चेतना बढ्नु, जीवनशैलीजन्य रोगहरूको वृद्धि तथा आधुनिक उपचार प्रविधिको प्रयोग बढ्नुका कारण संगठित स्वास्थ्य सेवाको माग तीव्र रूपमा बढ्दै गएको छ । 

यद्यपि, केही चुनौतीहरू पनि कायमै रहेका छन् । पछिल्ला तीन वर्षमा अस्पतालको औसत बेड अकुपेन्सी करिब ३१ प्रतिशत मात्र रहेको छ, जुन ठूला टर्शियरी केयर अस्पतालहरूको तुलनामा कम हो । 

गाइनोकोलोजी केन्द्रित सेवाका कारण ल्यापारोस्कोपिक सर्जरीपछि बिरामी छिटो डिस्चार्ज हुने हुँदा बेड खाली रहने अवस्था देखिएको छ । साथै, काठमाडौं उपत्यकामा निजी अस्पतालबीचको तीव्र प्रतिस्पर्धा र अनुभवी चिकित्सकलाई टिकाइराख्नुपर्ने चुनौती पनि अस्पतालका प्रमुख जोखिमका रूपमा रहेका छन्।
 

Advertisment

थप समाचार