Below Menu
Below Menu

एक वर्षमा गृहलक्ष्मी ग्यासको व्यापार एक अर्ब २७ करोड, नाफामा निरन्तर सुधार 

एक वर्षमा गृहलक्ष्मी ग्यासको व्यापार एक अर्ब २७ करोड, नाफामा निरन्तर सुधार 

काठमाडौं : गण्डकी प्रदेशमा एलपी ग्यास आपूर्ति गर्दै आएको गृहलक्ष्मी ग्यास कम्पनी प्रालिले सन् २०२५ मा एक अर्ब २७ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

जुन अघिल्लो वर्षको तुलानामा करिब ५ प्रतिशत बढी हो । कम्पनीले सन् २०२४ मा एक अर्ब २० करोड ७० लाखको व्यापार गरेको थियो । पछिल्ला पाँच वर्षमा कम्पनीको कारोबार औसत वार्षिक करिब १२ प्रतिशतले वृद्धि हुँदै आएको छ ।

यसअघि कम्पनीले सन् २०२३ मा एक अर्ब १६ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा एक अर्ब ३ करोड २० लाख र सन् २०२१ मा ८१ करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापारसँगै नाफामा पनि क्रमिक सुधार देखिएको छ । सन् २०२५ मा कम्पनीको एबिटा मार्जिन ५.०४ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ६.१० प्रतिशतभन्दा केही घटेको हो ।

यस्तै, शुद्ध नाफा  मार्जिन १.३८ प्रतिशत पुगेको छ, जुन सन् २०२१ मा ०.३५ प्रतिशत मात्रै थियो । यसले कम्पनीले क्रमशः नाफामा सुधार गर्दै गरेको देखिएको हो । यद्यपि नाफाको दर भने अझै सीमित छ ।

गृहलक्ष्मी ग्यासको कुल नगद सञ्चिति ४५ करोड रुपैयाँ पुगेको छ, जुन सन् २०२१ मा ३१ करोड रुपैयाँ रहेको थियो । यसले कम्पनीको आन्तरिक नगद प्रवाह सुदृढ रहेको देखिएको छ । 

कम्पनीको ब्याज तिर्ने क्षमता ३.८७ गुणा पुगेको छ, जुन पछिल्ला पाँच वर्षमा सधैं २.८ गुणाभन्दा माथि रहँदै आएको छ । कम वित्तीय लागतका कारण कम्पनीलाई ऋण सेवा गर्न सहज भइरहेको रिपोर्टमा उल्लेख छ ।

इन्फोमेरिक्स नेपालले कम्पनीलाई कुल ५५ करोड रुपैयाँ बराबरको बैंकिङ सुविधाका लागि क्रेडिट रेटिङ प्रदान गरेको छ । यसमध्ये दीर्घकालीन कर्जा २० करोड रुपैयाँ र अल्पकालीन कर्जा ३५ करोड रुपैयाँ रहेको छ । अस्पताललाई दीर्घकालीन कर्जातर्फ ‘डबल बी माइनास’ र अल्पकालीन कर्जातर्फ ‘ए फोर प्लस’ रेटिङ दिइएको छ । 

सन् २०२५ मा कम्पनीको कुल ऋण÷कुल नगद अनुपात ५.०९ गुणा रहेको छ, जुन सन् २०२१ को ६.५८ गुणा थियो । यसले ऋणको भार क्रमशः घट्दै गएको देखिएको हो । 

तर, कम्पनीको ट्याङ्गिबल नेटवर्थ अझै नकारात्मक नै रहेको छ । सन् २०१०÷११ मा वर्तमान व्यवस्थापनले कम्पनी लिँदा रहेको पुरानो घाटा र कमजोर सञ्चित नाफाका कारण यो अवस्था आएको हो । 

कम सञ्चालन मार्जिन र उच्च अवमूल्यन खर्चका कारण सञ्चित नाफा छिटो बढ्न नसक्दा नेटवर्थ सकारात्मक हुन नसकेको रिपोर्टमा उल्लेख छ ।

कम्पनीको कारोबार धेरै हदसम्म कार्यशील पूँजीमा निर्भर रहेको छ । सन् २०२५ मा यसको वर्किङ क्यापिटल इन्टेन्सिटी ३० प्रतिशत रहेको छ ।ग्राहकबाट भुक्तानी लिन ८०–९० दिन लाग्ने तर, नेपाल आयल निगमलाई ७–१२ दिनमै पैसा दिनपर्ने भएकाले नगद दबाब रहेको गरेको देखिएको छ । जसका कारण कम्पनीले छोटो अवधिको ऋण सीमा करिब ९० प्रतिशतसम्म प्रयोग गरिरहेको छ ।

नेपालमा एलपी ग्यास क्षेत्र अत्यन्तै नियन्त्रित रहेको छ । आयात, मूल्य निर्धारण, सिलिन्डर मापदण्डदेखि वितरणसम्म सबै कुरा नेपाल आयल निगमको नियन्त्रणमा छन् । निगम नै एकमात्र आयातकर्ता भएकाले आपूर्ति र मूल्यसम्बन्धी जोखिम उच्च छ । साथै, गृहलक्ष्मी ग्यासको कारोबार गण्डकी प्रदेशमै सीमित भएकाले भौगोलिक जोखिम पनि कायम छ ।

१९९४ देखि सञ्चालनमा रहेको कम्पनी हाल धर्मराज बर्तौलाको नेतृत्वमा छ । कम्पनीमा उनको स्वामित्व हिस्सा ६० प्रतिशत रहेको छ । १५ वर्षभन्दा बढी उद्योग अनुभव भएका बर्तौलाको नेतृत्वमा कम्पनीले स्थिर रूपमा कारोबार बढाउँदै लगेको छ । 
 

Advertisment

थप समाचार