Below Menu
Below Menu

भुगर्भ सिमेन्टको व्यापार २० प्रतिशतले बढ्यो, एक अर्ब ६७ करोडको कारोबार

भुगर्भ सिमेन्टको व्यापार २० प्रतिशतले बढ्यो, एक अर्ब ६७ करोडको कारोबार

काठमाडौं : भुगर्भ सिमेन्ट लिमिटेडले सन् २०२५ मा एक अर्ब ६७ करोड रुपैयाँको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०.१४ प्रतिशत बढी हो । कम्पनीले सन् २०२४ मा एक अर्ब ३९ करोड र सन् २०२३ मा एक अर्ब २६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । 

कम्पनीको व्यापार र उत्पादन क्षमता उपयोग बढेपनि कच्चा पदार्थको मूल्य वृद्धिका कारण नाफा तथा मार्जिनमा दबाब देखिएको छ । सन् २०२५ मा कम्पनीको एबिटा मार्जिन १५.१७ प्रतिशतमा झरेको छ । जुन अघिल्लो वर्षको २९.८८ प्रतिशतभन्दा केही घटेको हो । सन् २०२३ मा यस्तो मार्जिन १.६९ प्रतिशत रहेको थियो । 

सन् २०२५ सिमेन्ट तथा क्लिंकरको वृद्धि बढ्दा कम्पनीको कुल सञ्चालन आम्दानी करिब २० प्रतिशतले बढेको छ ।  यस अवधिमा कम्पनीको क्षमता उपयोग ६६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ५२ प्रतिशत थियो । 

केयर रेटिङ नेपालले कम्पनीलाई चार अर्ब करोड रुपैयाँ बराबरको बैंकिङ सुविधाका लागि क्रेडिट रेटिङ प्रदान गरेको छ । यसमध्ये दीर्घकालीन कर्जा तीन अर्ब चार करोड सात रुपैयाँ र अल्पकालीन कर्जा ९५ करोड ९२ लाख  रुपैयाँ रहेको छ । अस्पताललाई दीर्घकालीन कर्जातर्फ ‘डबल बी माइनास’ र अल्पकालीन कर्जातर्फ ‘ए फोर प्लस’ रेटिङ दिइएको छ । 

ऋणीहरूबाट ठूलो मात्रामा रकम असुली तथा कार्यशील पूँजी व्यवस्थापनमा सुधार आएपछि कम्पनीले आफ्नो कर्जाको स्तर घटाउन सफल भएको छ । कुल गियरिङ अनुपात सन् २०२४ मा ४.९० गुणा रहेकोमा सन् २०२५ मा ३.६२ गुणामा झारेको छ ।

सन् २०२५ मा कम्पनीले कपछिको नाफा ३ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ भने ग्रस क्यास एक्रुअल ११ करोड ६० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको ब्याज वहन क्षमता पनि केही सुधार भई ब्याज कभरेज अनुपात १.७२ गुणा पुगेको छ ।  

यद्यपी केयर रेटिङ नेपालले कम्पनीको पूँजी संरचना अझै उच्च रूपमा ऋणमा निर्भर रहेको जनाएको छ । कार्यशील पूँजीमा आधारित व्यवसाय भएकाले सन् २०२५ मा सञ्चालन चक्र १६७ दिन लामो रहेको छ, यद्यपि यो सन् २०२४ को १८५ दिनभन्दा सुधार हो।

सिमेन्ट उद्योग अत्यन्तै प्रतिस्पर्धी र चक्रीय प्रकृतिको भएकाले मूल्य निर्धारणमा कम्पनीको नियन्त्रण सीमित रहँदै आएको छ । पछिल्ला वर्षहरूमा सिमेन्ट तथा क्लिंकरको मूल्य घट्दो क्रममा रहँदा नाफामा दबाब परेको रिपोर्टमा उल्लेख छ । 

साथै, कच्चा पदार्थको मूल्य उतारचढाव पनि कम्पनीका लागि मुख्य जोखिमका रूपमा रहेको छ । सन् २०२५ मा कच्चा पदार्थ लागत बिक्रीको करिब ७३ प्रतिशत पुगेको छ ।

भुगर्भ सिमेन्टसँग ३,२०० मेट्रिक टन प्रतिदिन क्षमताको आफ्नै चुनढुंगा खानी रहेको छ ।  उच्च गुणस्तरको चुनढुंगा उत्पादन तथा आंशिक क्लिंकर उत्पादन क्षमताका कारणले कम्पनीले स्वतन्त्र ग्राइन्डिङ युनिटहरूभन्दा प्रतिस्पर्धात्मक फाइदा लिँदै आएको छ । 

सन् २०१६ मा स्थापना भएको भुगर्र्भ सिमेन्ट लिमिटेड सन् २०२३ जुनमा निजीबाट सार्वजनिक कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीले पीपीसी र ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ, जसको ग्राइन्डिङ क्षमता ७०० मेट्रिक टन प्रतिदिन र क्लिंकर क्षमता ३०० मेट्रिक टन प्रतिदिन रहेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र प्रबन्ध निर्देशक नन्दी केशर पौडेलसहित अनुभवी व्यपस्थापन टोलीले कम्पनीको नेतृत्व गरिरहेको छ । 


 

Advertisment

थप समाचार