काठमाडौं : भैरहवामा चारतारे होटल सञ्चालन गर्दै आएको एसियन होटल लिमिटेडले पछिल्लो आर्थिक वर्षमा उल्लेखनीय रूपमा कारोबार विस्तार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०२५ मा १० करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १७ प्रतिशतले बढी हो।
कम्पनीले सन् २०२३ मा ६ करोड ६० लाख रुपैयाँ कारोबार गरेको थियो भने सन् २०२४ मा यो बढेर ७ करोड ४० लाख रुपैयाँ पुगेको थियो। पछिल्ला वर्षहरूमा सञ्चालन विस्तार र सेवा क्षमता वृद्धि भएपछि कम्पनीको आम्दानी निरन्तर सुधारोन्मुख देखिएको छ।
एसियन होटल लिमिटेड हाल प्राथमिक शेयर निष्कासन (आईपीओ) ल्याउने तयारीमा रहेको छ। सन् २०१५ मा स्थापना भएको कम्पनी सन् २०२५ को जुलाईमा निजी लिमिटेडबाट सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो।
रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई आईआरएन डबल बी रेटिङ प्रदान गरेको छ।
कम्पनीले सन् २०२२ देखि होटल सञ्चालन सुरु गरेको हो। प्रारम्भिक चरणमा १६ वटा कोठासहित आंशिक रूपमा सञ्चालनमा आएको होटल सन् २०२५ को जनवरीदेखि भने ६६ वटा कोठासहित पूर्ण क्षमतामा सञ्चालनमा आएको छ।
कम्पनीका अनुसार होटलको औसत अकुपेन्सी दर सन् २०२३ मा ३७ प्रतिशत रहेकोमा सन् २०२४ मा बढेर ५३ प्रतिशत पुगेको थियो। सन् २०२५ मा भने निर्माण तथा विस्तारसम्बन्धी काम जारी रहेकाले अकुपेन्सी दर करिब ५० प्रतिशतमा सीमित भएको देखिन्छ।
सञ्चालन विस्तार, कोठा संख्या वृद्धि, ब्याङ्क्वेट बुकिङ तथा क्यासिनो भाडा आम्दानीका कारण कम्पनीको पीबीआईएलटीडी मार्जिन पनि उल्लेखनीय रूपमा सुधार भएको छ। सन् २०२५ मा यो मार्जिन करिब ५९ प्रतिशत पुगेको छ, जबकि सन् २०२३ मा २१.६५ प्रतिशत र सन् २०२४ मा ४१.४७ प्रतिशत मात्र रहेको थियो।
यद्यपि, कम्पनीले सन् २०२५ मा एकपटकको कर खर्चका कारण लेखा अनुसार खुद नोक्सानी व्यहोर्नुपरेको छ। नियन्त्रण संरचनामा परिवर्तन भएपछि आयकर ऐन, २०५८ को दफा ५७ अनुसार सम्पत्ति तथा दायित्व बजार मूल्यमा पुनर्मूल्याङ्कन गर्दा अवास्तविक नाफामा कर लागेकाले यस्तो अवस्था आएको कम्पनीले जनाएको छ। सामान्य सञ्चालनका आधारमा भने कम्पनीले करिब ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
एसियन होटलको पूँजी संरचना पनि पछिल्लो वर्ष उल्लेखनीय रूपमा सुदृढ भएको छ। सन् २०२५ को अन्त्यमा कम्पनीको समग्र गियरिङ रेसियो १.०८ गुणा मा झरेको छ, जुन सन् २०२४ मा ३.४८ गुणा र सन् २०२३ मा ३.०८ गुणा थियो। प्रवद्र्धकहरूले गरेको इक्विटी इन्फ्युजनका कारण ऋण भार घट्न सहयोग पुगेको हो। प्रस्तावित आईपीओपछि कम्पनीको नेटवर्थ अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
एसियन होटल लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको सिद्धार्थनगर (भैरहवा) मा अवस्थित छ। होटल बुद्ध जन्मस्थल लुम्बिनी, पाल्पाका धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थल, भारत–नेपाल सीमा तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेकाले यसको स्थान रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। यसले विशेषगरी भारतीय तथा बौद्ध पर्यटनसँग सम्बन्धित पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
कम्पनीको अध्यक्ष पारस अधिकारी हुन्। कम्पनीमा पारस अधिकारी र सन्तोष चौधरीको १४–१४ प्रतिशत स्वामित्व रहेको छ। अनुभवी सञ्चालक समिति तथा २५ वर्षभन्दा बढी अनुभव भएका जनरल म्यानेजर ओमप्रकाश पाण्डेको नेतृत्वमा होटल सञ्चालन भइरहेको छ।
Advertisment