साढे १० अर्ब भुक्तानी बाँकी रहँदा स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन, निर्देशक काफ्लेले दिए राजीनामा

साढे १० अर्ब भुक्तानी बाँकी रहँदा स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन, निर्देशक काफ्लेले दिए राजीनामा

काठमाडौं : स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटतर्फ उन्मुख भइरहेका बेला स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्।

डा. काफ्लेले बोर्डको निर्देशक पदबाट दिएको राजीनामा पत्र स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष बुझाएका हुन्। तनहुँका काफ्ले तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलको कार्यकालमा स्वास्थ्य बीमा बोर्डको निर्देशकमा नियुक्त भएका थिए।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अस्पताल तथा सेवा प्रदायकलाई गर्नुपर्ने भुक्तानी दायित्व निरन्तर बढ्दै जाँदा बोर्ड आर्थिक र व्यवस्थापकीय दबाबमा परेको थियो। यही बेला काफ्लेको राजीनामा आएको हो।

बीमा रकम भुक्तानी नहुँदा देशभरका अस्पतालहरूले क्रमशः बीमा सेवामार्फत उपचार दिन बन्द गर्न थालेका छन्। यही १ माघदेखि ४० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको जनाउँदै महाजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा स्थगित गरेको छ।

बीमा बोर्डका अनुसार देशभरका ५१० वटै सेवा प्रदायक अस्पताल तथा स्वास्थ्य संस्थालाई साढे १० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ। स्रोत व्यवस्थापन गर्न नसक्ने अवस्था आएपछि बोर्डले विभिन्न विकल्पसहित सरकारसँग सहयोगको माग गर्दै आएको थियो।

नेपालमा स्वास्थ्य बीमा कार्यक्रम २०७२ सालमा सुरु गरिएको हो। बीमामार्फत सबै नागरिकलाई सस्तो, समान, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सुरु गरिएको कार्यक्रम हाल गम्भीर चुनौतीको सामना गरिरहेको छ।

थप समाचार