काठमाडौं : माछाको दाना उत्पादन गर्ने कम्पनी अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड (एएमडीयु)ले चालु आर्थिक वर्षको तीन महिनामै १८ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले प्रकाशित गरेको रिपोर्ट अनुसार एएमडीयूको कारोबार पछिल्ला वर्षहरूमा तीव्र गतिमा विस्तार हुँदै गएको देखिएको छ ।
कम्पनीले सन् २०२४ मा सात करोड ९० लाखको कारोबार गरेको थियो । व्यावसायिक उत्पादन सुरु भएको पहिलो आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा कम्पनीको कारोबार झण्डै पाँच गुणाले बढ्दै ३९ करोड ८० लाख रुपैयाँ पुगेको थियाे ।
कारोबारसँगै कम्पनीको सञ्चालन नाफा पनि उल्लेख्य रूपमा सुधारिएको छ । सन् २०२४ मा ८.५७ प्रतिशत रहेको पीबीआईएलटीडी मार्जिन सन् २०२५ मा बढेर १५.१८ प्रतिशत पुगेको छ भने चालु आवको तीन महिनामा १५.६३ प्रतिशतमा छ । बढ्दो बिक्री, उत्पादन क्षमताको राम्रो उपयोग र लागत व्यवस्थापनका कारण सञ्चालन नाफा सुधारिएको इन्फोमेरिक्सले जनाएको छ ।
यद्यपि, करअघिको नाफा र खुद नाफा मार्जिन अझै १ प्रतिशतभन्दा कम नै रहे पनि अघिल्लो वर्षको घाटाबाट कम्पनी नाफामा प्रवेश गरेको छ ।
कम्पनीको पूँजी संरचना पनि सुधारिएको रिपोर्टमा उल्लेख छ । प्रवद्र्धकहरूको थप इक्विटी लगानीका कारण समग्र ऋण–इक्विटी अनुपात सन् २०२४ को १.८४ गुणाबाट सन् २०२५ मा १.२१ गुणामा झरेको छ । यो अनुपात २०२५ अक्टोबर मध्यसम्म आइपुग्दा थप सुधार हुँदै १.०६ गुणामा पुगेको छ । यसले कारोबार बढ्दै जाँदा पनि कम्पनीको वित्तीय जोखिम क्रमशः घट्दै गएको देखिएको हो ।
सन् २०२५ मा ब्याज भुक्तानी क्षमता १.३९ गुणा पुगेको छ भने ऋण सेवा कभरेज अनुपात १.१८ गुणा रहेको छ । इन्फोमेरिक्स नेपालले अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड (एएमडीयू) लाई डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।
सरकारले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘कृषिमा लगानीको दशक’ घोषणा गरेको छ । यसअन्तर्गत मत्स्य कोरिडोर विकास, माछा तथा पशुपालनका लागि प्रयोग नभएको जमिनको उपयोग, अनुदान तथा सहुलियत कार्यक्रमजस्ता पहलले माछा पालन र त्यससँग सम्बन्धित माछा दाना उद्योगको माग बढाउने इन्फोमेरिक्सको विश्लेषण छ ।
कच्चा पदार्थको मूल्य उतारचढाव, विदेशी मुद्रामा हुने आयातका कारण विनिमय दरको जोखिम, तथा उच्च कार्यशील पूँजी आवश्यकताले कारोबार र नाफामा दबाब सिर्जना गर्न सक्ने बताइएको छ । सन् २०२५ मा कच्चा पदार्थ लागत कुल सञ्चालन आम्दानीको करिब ७८ प्रतिशत रहेको छ ।
सन् २०११ मा स्थापना भई सन् २०२५ मे देखि पब्लिक लिमिटेड बनेको कम्पनीको प्रतिघण्टा ५ टन दाना उत्पादन गर्ने क्षमता छ । चितवनको खैरहनीमा अवस्थित २४ हजार मेट्रिक टन वार्षिक उत्पादन क्षमताको अत्याधुनिक माछा दाना उत्पादन प्लान्टमार्फत ‘मस्त्य राजा’ ब्रान्डमा उत्पादन गर्दै आएको एएमडीयूले आगामी दिनमा उत्पादन र बिक्री थप विस्तार गर्ने लक्ष्य लिएको छ ।
कम्पनीको नेतृत्व अध्यक्ष निरञ्जन थापाले गरिरहेका छन् । उनीसँग कृषि क्षेत्रको लामो अनुभव छ । बोर्डमा संस्थागत लगानीकर्ताको रूपमा टिम भेन्चर्स लिमिटेडको पनि प्रतिनिधित्व छ । यस्तै, मुख्य कार्यकारी अधिकृत यश पुरीले झण्डै १० वर्षको व्यवस्थापकीय अनुभवका साथ कम्पनी हाँकिरहेका छन् । कम्पनीमा सिए उमेश जंग थापाको २६ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
यसैबीच, अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ बराबरको १० लाख ९ हजार ५३१ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने योजना बनाएको छ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। यस सम्बन्धी सम्झौतामा एएमडीयुका प्रमुख कार्यकारी अधिकृत यश पुरी र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।
Advertisment