Below Menu
Below Menu

चुनावी सरगर्मी बढेसँगै शेयर बजारमा उत्साहः नेप्से परिसूचक ४२ अंकले बढ्दा पौने १२ अर्बको कारोबार 

चुनावी सरगर्मी बढेसँगै शेयर बजारमा उत्साहः नेप्से परिसूचक ४२ अंकले बढ्दा पौने १२ अर्बको कारोबार 

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ।

निर्वाचन आयोगले तय गरेको कार्यसूचीअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन प्रक्रिया अघि बढेको हो। यसअघि सोमबार राजनीतिक दलहरूले समानुपातिकतर्फको उम्मेदवार सूची बुझाइसकेका छन्।

देश चुनावमय बन्दै जाँदा त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिन थालेको छ। लामो समयदेखि राजनीतिक अस्थिरताका कारण सुस्त रहेको बजारमा लगानीकर्ताको मनोबल बढेसँगै उल्लेखनीय सुधार देखिएको हो। यसको असर नेप्से परिसूचक र कारोबार रकम दुवैमा प्रतिविम्बित भएको छ।

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४२.२७ अंकले बढेर २७१४.८१ बिन्दुमा बन्द भएको छ। यसअघि आइतबार नेप्से ३१.१२ अंकले बढेर २६७२.५५ बिन्दुमा बन्द भएको थियो।

आज कारोबारमा आएका २२४ कम्पनीको शेयरमूल्य बढेको छ भने ३१ कम्पनीको शेयरमूल्य घटेको छ। पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

बजारसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ। आज कुल ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आइतबार भने ८ अर्ब ४० करोड २७ लाख रुपैयाँको कारोबार भएको थियो।

आजको कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४० करोड ७९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो।

सर्वाधिक मूल्य बढ्नेमा गोर्खाज फाइनान्स कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सिद्धार्थ बैंक डिबेञ्चरको शेयरमूल्य ४.२३ प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार