Below Menu
Below Menu

वित्तीय दबाबमा कान्तिपुर टेलिभिजनः विवरण लुकाउँदा रेटिङ ‘डाउनग्रेड’ 

वित्तीय दबाबमा कान्तिपुर टेलिभिजनः विवरण लुकाउँदा रेटिङ ‘डाउनग्रेड’ 

काठमाडौं : कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडको रेटिङ डाउनग्रेड गरिएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई यसअघि प्रदान गरेको रेटिङ घटाउँदै बी–माइनस श्रेणीमा राखेको हो । साथै आवश्यक सूचना उपलब्ध नगराएकोले रेटिङ फिर्ता गर्ने चेतावनीसहित (नोटिस फर वीथ्ड्रअल्) पनि जारी गरिएको छ ।

रेटिङ निगरानीका लागि आवश्यक वित्तीय तथा सञ्चालनसम्बन्धी सूचना उपलब्ध नगराइएको र पटक–पटकको अनुरोधमा पनि कम्पनी व्यवस्थापनले सहयोग नगरेको इक्रा नेपालको भनाई छ । 

क्रेडिट रेटिङ नियमावली २०६८ तथा इक्रा नेपालको (वीथ्ड्रअल् सस्पेन्स पोलिसी) अनुरूप उपलब्ध सीमित सूचनाका आधारमा रेटिङ कारबाही गरिएको एजेन्सीले जनाएको छ ।

किन घटाईयो रेटिङ ? 

कम्पनीको पछिल्लो वित्तीय अवस्था र कार्यसम्पादनबारे पर्याप्त सूचना नभएका कारणले रेटिङ डाउनग्रेड गरिएको इक्राको प्रतिवेदनमा उल्लेख छ । 
सूचना अभावका कारण कान्तिपुर टेलिभिजनकोे वास्तविक क्रेडिट जोखिम कति परिवर्तन भएको छ भन्ने यकिन गर्न नसकिएको इक्रा नेपालको भनाइ छ ।

रेटिङले कम्पनीको वर्तमान जोखिम प्रोफाइललाई पूर्ण रूपमा देखाउने हुँदा यस्तो अवस्थामा लगानीकर्ता, ऋणदाता तथा बजार सहभागीलाई रेटिङ प्रयोग गर्दा विशेष सतर्कता अपनाउन सुझाव समेत दिइएको छ । 

यस्तो छ वित्तीय अवस्था 

इक्रा नेपालका अनुसार कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सन् २०२४ मा २३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १४.१० प्रतिशतले कम हो । सन् २०२३ मा कम्पनीको व्यापार २७ करोड ७० लाख रुपैयाँ बराबरको रहेको थियो ।

यसअघि कम्पनीले सन् २०२० मा ३१ करोड २० लाख, सन् २०२१ मा ३२ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ३७ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । पछिल्ला दुई वर्षमा भने कम्पनीको व्यापारमा गिरावट आएको देखिएको हो ।

कम्पनीको व्यापारसँगै सञ्चालन नाफा (पीबीआईएलटीडी मार्जिन) पनि उल्लेख्य रुपमा घटेको छ । सन् २०२२ मा ३१.१ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२३ मा ३.९ प्रतिशत र सन् २०२४ मा ६.५ प्रतिशत मा झरेको छ ।

यसका साथै कम्पनीको ऋण सेवा क्षमताका सूचकहरू पनि पछिल्ला वर्षहरूमा कमजोर हुँदै गएको देखिएको छ । २०२३ मा ऋण तिर्ने क्षमता (इन्ट्रेस कभरेज) ०.१ गुणासम्म झरेको थियो, जबकि सन् २०२४ मा १.० ग्णा देखिएको छ । कुल ऋण र नाफा मार्जिन अनुपातमा ठूलो उतार–चढाव देखिँदा कम्पनीमा वित्तीय दबाब बढेको देखिएको हो। 

कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड नेपालकै अग्रणी मिडिया प्रसारण कम्पनीहरूमध्ये एक हो । सन् २००० नोभेम्बरमा निजी लिमिटेडका रूपमा स्थापना भई जुलाई २०२१ मा सार्वजनिक लिमिटेडमा रूपान्तरण भएको यो कम्पनी कान्तिपुर मिडिया समूहअन्तर्गत पर्छ । कम्पनीले कान्तिपुर दैनिक, दी काठमाडौ पोष्ट, रेडियो कान्तिपुर लगायतका सञ्चार माध्यम सञ्चालन गरिरहेको छ । 

अन्तिम पटक रेटिङ हुँदा कम्पनीमा ११ जना शेयरधनी थिए, जसमा करिब २९ प्रतिशत शेयरसहित कैलाश सिरोहिया प्रमुख शेयरधनी तथा व्यवस्थापकीय निर्देशक थिए ।
 

Advertisment

थप समाचार