Below Menu
Below Menu

इभी गाडीमा ‘प्रि–बजेट स्टक’को असरः प्रयोग बढ्दा पनि आयात र राजस्व दुवैमा गिरावट

इभी गाडीमा ‘प्रि–बजेट स्टक’को असरः प्रयोग बढ्दा पनि आयात र राजस्व दुवैमा गिरावट

काठमाडौं : नेपालमा विद्युतीय सवारी साधन (इभी) गाडीको प्रयोग बढ्दै गएपनि इभी गाडी आयात भने घटेको देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको छ महिनामा पाँच हजार ७१ युनिट विद्युतीय गडी (कार, जीप र भ्यान) आयात भएका छन् ।

यस अवधिमा सरकारले १२ अर्ब पाँच करोड ४५ लाख ३८ हजार रुपैयाँ उक्त संख्यामा गाडी आयात गरेको हो । विभागको तथ्यांकअनुसार विद्युतीय गाडीको आयातबाट सात अर्ब ४५ करोड ७९ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

यो राजस्व गत आवको सोही अवधिको तुलनामा ८.६३ प्रतिशतले कम हो । गत वर्ष सरकारले १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको पाँच हजार ४८० युनिट इभी गाडी आयात गर्दा आठ अर्ब १६ करोड २३ लाख रुपैयाँ बराबरको राजस्व उठाएको थियो । 

सरकारले चालु आर्थिक वर्षको बजेटमा सवारी कर बढाउने हल्ला चलेपछि अघिल्लो वर्ष व्यवसायीहरुले इभी गाडी अग्रिम आयात गरेका थिए । करिब छ हजार युनिट इभी गाडी अघिल्लो वर्ष नै भित्रिएकाले ती मध्ये धेरै अझै बिक्री हुन नसकेको र त्यसको असरस्वरुप चालु आवमा नयाँ आयात घटेको देखिएको हो । 

नेपालमा विश्वप्रसिद्ध ब्रान्डका ५० किलोवाटदेखि ३०० किलोवाटका विद्युतीय गाडी आयात हुने गरेका छन् । नेपाली बजारमा विशेष गरी मध्यम क्षमताका विद्युतीय गाडीको माग उच्च देखिएको छ ।

तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् । यस सेग्मेन्टमा सात अर्ब ८५ करोड ८० लाख मूल्यका तीन हजार १७ युनिट गाडी भित्रिएका छन् ।

सबैभन्दा धेरै विद्युतीय गाडी छिमेकी मुलुक चिनबाट आउने गरेको छ भने भारत, कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट पनि नेपालमा विद्युतीय सवारी आयात हुने गरेको छ ।

पुस मसान्तसम्म नेपालले ५० किलोवाटसम्मका दुई अर्ब ७१ करोड २२ लाख ७८ हजार मूल्य बराबरका एक हजार ५८५ युनिट गाडी आयात गरेको छ । त्यस्तै १०१ देखि २०० किलोवाटसम्मका एक अर्ब ४४ करोड २२ लाख ६२ हजार रुपैयाँ बराबरको ४६३ युनिट गाडी आयात भएका छन् । 

विभागका अनुसार यस अवधिमा २०१ देखि ३०० किलोवाटसम्मका चार करोड १९ लाख ३० हजार रुपैयाँ बराबरका छ युनिट गाडी आयात भएका छन् । 

पेट्रोल गाडीको आयातमा उल्लेख्य वृद्धि 

ईभी गाडीको  आयात घटे पनि चालु आवको यस अवधिमा  पेट्रोल तथा डिजेलबाट चल्ने कार आयात भने उल्लेख्य रुपमा बढेको छ । यस अवधिमा ३ हजार १९९ युनिट पेट्रोल कार आयात भएका छन् । 

जुन गत वर्ष सोही अवधिको तुलनामा ५५.९ प्रतिशत अर्थात् एक हजार १४७ युनिट धेरै हो । गत वर्षको पुससम्ममा कुल दुई हजार ५२ युनिट पेट्रोल कार आयात भएको थियो ।

पेट्रोल कार आयातमा हुन्डाईको वर्चस्व रहेको छ । कुल आयामध्ये एक हजार ५८३ युनिट अन एसेम्बल कार रहेका छन् । जसमा हुन्डाईको हिस्सा ४९.४८ प्रतिशत रहेको छ । हाल नेपालमा चारपाँग्रे सवारी एसेम्बल गर्ने कम्पनी हुन्डाईले मात्रै भएकाले यसको आयात बढेको हो । हुन्डाईले नेपालमा क्रेटा र भेन्यू उत्पादन गर्दै आएको छ 

विभागका अनुसार पुस मसान्तसम्म विद्युतीय र पेट्रोल गरी आठ हजार २७२ युनिट कार, जीप, भ्यान आयात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा कार आयात ९.८२ प्रतिशत अर्थात् ७४० युनिटले बढी हो । गत वर्षको सोही अवधिमा सात हजार ५३२ युनिट कार आयात भएको थियो ।

चालु आवको छ महिनामा कुल १५ अर्ब दुई करोड रुपैयाँ बराबरको कार आयात गरी सरकारले १४ अर्ब सात करोड रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ । 
 

Advertisment

थप समाचार