Below Menu
Below Menu

आन्तरिक बजारसँगै निर्यातमा जम्दै शिव शक्ति केमोप्लास्टः व्यापार सवा एक अर्ब नाघ्यो

आन्तरिक बजारसँगै निर्यातमा जम्दै शिव शक्ति केमोप्लास्टः व्यापार सवा एक अर्ब नाघ्यो

काठमाडौं : शिव शक्ति केमोप्लास्ट प्रालिले एक वर्षमा सवा एक अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा एक अर्ब १४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

Sponsored Advertisement

रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालका अनुसार सन् २०२४ को तुलनामा कम्पनीको व्यापार १४.१० प्रतिशतले बढी हो । सन् २०२४ मा कम्पनीले एक अर्ब ७० लाखको कारोबार गरेको थियो ।

यसअघिका वर्षम कम्पनीले सन् २०२३ मा ९२ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा एक अर्ब १३ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा एक अर्ब ३ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । पछिल्ला तीन वर्षमा कम्पनीको व्यापार औसत करिब ११ प्रतिशतले बढेको हो । 

आन्तरिक बजारसँगै निर्यातको माग बढ्दै जाँदा कम्पनीको समग्र व्यापार विस्तार भएको इन्फोमेरिक्सले जनाएको छ । सन् २०२४ मा कम्पनीको कुल बिक्रीमध्ये करिब ६१ प्रतिशत निर्यात थियो भने सन् २०२५ मा यो हिस्सा करिब ५९ प्रतिशत रहेको छ । यद्यपी निर्यात मूल्य बढेर ६७ करोड ५० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ६१ करोड ४० लाख रुपैयाँभन्दा बढी हो ।

कम्पनीको कारोबारसँगै नाफामा पनि सुधार देखिएको छ । सन् २०२४ मा दुई करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले सन् २०२५ मा २ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

सञ्चालन नाफा मार्जिन सन् २०२३ मा १.०३ प्रतिशत रहेकामा सन् २०२४ मा ७.७५ प्रतिशत पुगेको थियो । सन् २०२५ भने यो ५.८४ प्रतिशतमा सिमित रहेको छ । यसअघि सन् २०२२ मा ४.६५ प्रतिशत र सन् २०२१ मा ९.८१ प्रतिशत रहेको थियो । 

उद्योगको उपयोग क्षमता पनि पनि क्रमशः बढ्दै गएको छ । सन् २०२३ मा ५२ प्रतिशत रहेको उपयोग क्षमता सन् २०२४ मा ६४ प्रतिशत र सन् २५ मा ६५ प्रतिशत पुगेको छ । 

इन्फोमेरिक्स नेपालले कम्पनीको दीर्घकालीन र अल्पकालीन कर्जाको रेटिङ पनि अपग्रेड गरेको छ । दीर्घकालीन बैंक सुविधातर्फ बीबी प्लस र अल्पकालीन बैंक सुविधातर्फ एफोर रेटिङ प्रदान गरेको छ । 

कम्पनीले कुल ७३ करोड २१ लाख रुपैयाँ बराबरको कर्जा सुविधाका लागि रेटिङ गराएको छ, जसमा दीर्घकालीन ६ करोड २१ लाख र अल्पकालीन ६७ करोड रुपैयाँ रहेको छ । 

सन् २०२५ को अन्त्यमा समग्र गियरिङ अनुपात १.२७ गुणा र दीर्घकालीन ऋण–इक्विटी अनुपात ०.३८ गुणा रहेको छ । कम्पनीको ऋण तिर्ने क्षमता पनि ६.१९ गुणाले सुधारिएको छ भने ऋण सेवा कभरेजको अनुपात ५.४० गुणा रहेको छ ।

कम्पनीको कारखाना पर्सा जिल्लाको चोर्नी क्षेत्रमा अवस्थित छ । भारत–नेपाल सीमा नजिक रहेको कारखानाले कच्चा पदार्थ आपूर्ति र निर्यात दुवैमा सहज भएको कम्पनीको भनाई छ ।

यद्यपी उद्योगमा प्रयोग गर्ने कच्चा पदार्थको ९६ प्रतिशत हिस्सा आयातमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उचारचढाव र डलरको विनिमय दरको जोखिम कायमै रहेको छ । तर, सन् २०२५ मा विदेशी मुद्रा नोक्सानी करिब ३ लाख रुपैयाँमै सीमित रहेको छ । 

सन् २००२ मा स्थापना भएको शिव शक्ति केमोप्लास्ट प्रालि, शिव शक्ति ग्रुपअन्तर्गत सञ्चालनमा छ । कम्पनीले पीपी वोभन फ्याब्रिक्स, पीपी वोभन बोरा, लेमिनेटेड पीपी ब्याग, त्रिपाल तथा प्राकृतिक र रंगीन फ्याब्रिक्स उत्पादन तथा निर्यात गर्दै आएको छ । शिव शक्ति ग्रुपद्वारा सञ्चालित यस कम्पनीको व्यवस्थापन राहुलकुमार अग्रवालले गर्दै आएका छन् ।

कम्पनीको पीपी वोभन फ्याब्रिकतर्फ वार्षिक ८,५०० मेट्रिक टन र पीपी वोभन बोरातर्फ १,५०० मेट्रिक टन उत्पादन क्षमता रहेको छ । गुणस्तर व्यवस्थापन प्रणालीतर्फ कम्पनी आईएसओ ९००१ः२०१५ प्रमाणित पनि छ ।
 

ताजा पोस्ट
थप समाचार