काठमाडौं : कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको छ ।
संस्थाले स्थानीय सामुदायिक विद्यालयमा अध्यनरत आर्थिक रुपमा विपन्न समुदायका छात्रछात्रालाई विद्यालयको सिफारिसमा कुखुराका चल्लाहरु वितरण गरि यो कार्यक्रम सुरु गरेको हो ।
संस्थाले पहिलो चरणमा स्थानिय सरस्वती मा.वि. र नवज्योती मा.वि.मा अध्ययनरत २० जना विपन्न परिवारका विद्यार्थीलाई प्रति विद्यार्थी ५ वटाका दरले न्यू हिमशिखर र अष्ट्रेलियन लोकल जातका कुखुराका चल्ला वितरण गरेको छ । विद्यार्थीको व्यवसायिक सिप विकास गर्दै परिवारको आयआर्जनमा टेवा पुर्याउनुका साथै अभिभावकलाई व्यवसायीक कुखुरापालनतर्फ आकर्षित गर्ने संस्थाको योजना रहेको छ । भविष्यमा विद्यार्थी अथवा अभिभावकले व्यवसायिक कुखुरापालन गर्न चाहेमा संस्थाबाट आवश्यक पुँजी, प्रविधि उपलब्ध गराउने र व्यवसायिक क्षमता अभिवृद्धी गरिदिने संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले बताए।
संस्थाले दुईवटा विद्यालयका विद्यार्थीहरुलाई कुखुरा चल्ला वितरणका लागि छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहकारी संस्थाका सञ्चालक समिति सदस्य सरोज कुमार शाह, मनिराम न्यौपाने, महाप्रबन्धक डम्बर बहादुर शाह, वडा सदस्य बुधराम चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडकराज भाटले चल्लाहरु वितराण गरेका थिए।
विद्यालयका प्रध्यानाध्यापक दीपक भण्डारीले सुदुरपश्चिममै पहिलो पटक किसान बहुउद्देश्यीय सहकारी संस्थाले विद्यार्थी लक्षित पढ्दै कमाउँदै कार्यक्रम शुरु गरेकोमा खुशी व्यक्त गरे। वडा सदस्य बुधराम चौधरीले सहकारी संस्थाबाट सञ्चालन भईरहेका गरिब तथा विपन्न लक्षित कार्यक्रमहरुले समुदायमा आशा जगाएको भन्दै सहकारी संस्थाले आगामी दिनमा समेत समुदायमुखी कार्यक्रमहरुलाई निरन्तरता दिने अपेक्षा गरेका थिए।
वि.सं. २०५२ सालमा स्थापना भएको संस्थाले वित्तिय, कृषि र मार्ट गरि ३ वटा व्यवसायीक युनीटहरुमार्फत आफ्ना सदस्यलाई सेवा दिदै आएको छ । सुदरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशको राजापुर न.पा. कार्यक्षेत्र रहेको संस्थामा ९३ हजार भन्दा बढी शेयर सदस्य रहेका छन् । संस्थाको कुल कारोबार ७ अर्ब २० करोड रहेको छ ।