Below Menu
Below Menu

न्युनतम चुक्ता पुँजी पुर्याउन पाँच बीमा कम्पनी अझै असफल !

न्युनतम चुक्ता पुँजी पुर्याउन पाँच बीमा कम्पनी अझै असफल !

काठमाडौं : बीमा कम्पनीहरूलाई नियामक निकायले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्‍याउन अझै चुनौती कायमै देखिएको छ। नेपाल बीमा प्राधिकरणले पटक–पटक समयसीमा थप र विभिन्न सुविधा उपलब्ध गराउँदा पनि पाँच वटा बीमा कम्पनीले तोकिएको पुँजी पुर्‍याउन सकेका छैनन्।

नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि सम्बन्धी नीति सार्वजनिक गरेको थियो। साविकको बीमा समितिको निर्णयअनुसार निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ र जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ पुर्‍याउने व्यवस्था गरिएको थियो।

पुँजी वृद्धि योजनाको झण्डै चार वर्ष बितिसक्दा पनि सबै कम्पनीले लक्ष्य पूरा गर्न सकेका छैनन्। प्राधिकरणले २०७९ चैत मसान्तसम्म तोकिएको चुक्ता पुँजी पुर्‍याउनुपर्ने र सो अवधिमा पूँजी पुर्‍याउन नसक्ने कम्पनीले मर्जर तथा एक्विजिसन (गाभ्ने–गाभिने) प्रक्रियामार्फत पुँजी बढाउनुपर्ने व्यवस्था गरेको थियो।

उक्त निर्देशनपछि अधिकांश कम्पनी मर्जरमा गएका थिए भने केहीले हकप्रद तथा बोनस शेयर जारी गरेर वैकल्पिक उपाय अपनाए। तर यी सबै प्रयासपछि पनि केही कम्पनीहरू तोकिएको पुँजी पुर्‍याउन असफल भएका छन्।

कम्पनीहरूले पटक–पटकको छुट र सुविधा उपयोग गर्न नसकेपछि प्राधिकरणले थप एकपटक समय दिएको छ। प्राधिकरणले २०८१ असार २६ गते निर्णय गर्दै न्यूनतम चुक्ता पूँजी पुर्‍याउन नसक्ने कम्पनीलाई पुस मसान्तसम्मको अन्तिम समयसीमा दिएको हो। यसअघि २०८१ असार मसान्तसम्मको समयसीमा तोकिएको थियो।

हाल देशभर २८ वटा बीमा कम्पनी सञ्चालनमा छन्, जसमा १४ जीवन र १४ निर्जीवन बीमा कम्पनी रहेका छन्। प्राधिकरणको मापदण्डअनुसार जीवन बीमातर्फ राष्ट्रिय जीवन बीमा कम्पनीलाई अझै ४ अर्ब ८१ करोड ८९ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी आवश्यक छ।

यस्तै, निर्जीवन बीमातर्फ चार कम्पनीलाई कुल २ अर्ब ८५ करोड ३३ लाख ५ हजार २० रुपैयाँ थप पूँजी आवश्यक रहेको छ। हालसम्म युनाइटेड अजोड, प्रभु, सानिमा जिआईसी र राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ नपुगेको प्राधिकरणले जनाएको छ।

पूँजी वृद्धि प्रक्रिया सहज बनाउन प्राधिकरण पछिल्लो समय लचिलो बन्दै गएको छ। रिजर्भ र निश्चित प्रोभिजनलाई समेत चुक्ता पूँजीमा गणना गर्न सकिने व्यवस्था गरेपछि कम्पनीहरूलाई केही राहत मिलेको छ।

प्राधिकरणले तोकेको पूँजी पुर्‍याउन नसकेका निर्जीवन बीमा कम्पनीहरूमध्ये युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जिआईसी र प्रभु इन्स्योरेन्स कम्पनी हकप्रद शेयर निष्कासनको तयारीमा रहेका छन्।

कुन कम्पनीको चुक्ता पुँजी कति ? 

 

Advertisment

थप समाचार