Below Menu
Below Menu

खजुरीको वार्षिक कारोबार दुई अर्ब नाघ्यो, कर्जा रेटिङमा सुधार

खजुरीको वार्षिक कारोबार दुई अर्ब नाघ्यो, कर्जा रेटिङमा सुधार

काठमाडौं : खजुरीको नेपाल प्राइभेट लिमिटेडले सन् २०२५ मा दुई अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीको वार्षिक कारोबार दुई अर्ब ४ करोड ५ लाख रुपैयाँ पुगेको हो, जुन अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले बढी हो।

सन् २०२४ मा कम्पनीले एक अर्ब ७० करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो। पछिल्ला दुई आर्थिक वर्षमा खजुरीको नेपालको औसत वृद्धिदर ९ प्रतिशत रहेको इक्रा नेपालको प्रतिवेदनमा उल्लेख छ।

पछिल्ला वर्षहरूमा कम्पनीको व्यापार निरन्तर बढ्दो क्रममा देखिएको छ। सन् २०२१ मा एक अर्ब २८ करोड ६० लाख, सन् २०२२ मा एक अर्ब ६४ करोड तथा सन् २०२३ मा एक अर्ब ७३ करोड ४० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले पछिल्ला चार वर्षमा स्थिर वृद्धिदर कायम राखेको छ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा कम्पनीको कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३२ प्रतिशतले बढेको छ। यसले खजुरीको उत्पादनप्रति बजार माग र बिक्री सञ्जाल दुवै सशक्त बन्दै गएको देखिएको छ । 

इक्रा नेपालका अनुसार कम्पनीको कुल कारोबारमध्ये करिब ७८ प्रतिशत हिस्सा बिस्कुट, पेस्ट्री र कुकिजजस्ता प्रमुख उत्पादनबाट आउने गरेको छ। ‘खजुरीको’ ब्रान्डअन्तर्गत यी उत्पादनहरूले नेपाली बजारमा बलियो पकड बनाएका छन्।

कम्पनीले ललितपुर, चितवन र मकवानपुरस्थित उद्योगबाट उत्पादन गरी देशभर बिक्री–वितरण गर्दै आएको छ।

सन् २०२५ मा कम्पनीको सञ्चालन नाफा अनुपात १२ प्रतिशत रहेको छ। कच्चा पदार्थको मूल्यवृद्धि र विदेशी विनिमय दरको उतार–चढावका कारण नाफा मार्जिनमा दबाब देखिएको छ। सन् २०२४ मा नाफा मार्जिन १८ प्रतिशत र सन् २०२३ मा १० प्रतिशत थियो।

कम्पनीको कुल ऋण–ठोस नेटवर्थ अनुपात सन् २०२३ को ४.०३ गुणाबाट सन् २०२५ मा १.५९ गुणामा झरेको छ। सन् २०२४ मा गरिएको १५ करोड रुपैयाँको इक्विटी इन्फ्युजनले वित्तीय संरचना सुधार्न सहयोग पुगेको इक्रा नेपालको विश्लेषण छ। यससँगै कुल ऋण–ईबिट्डा ( ब्याज, कर, मूल्यह्रास, र परिशोधन अघि सञ्चालन नाफा) अनुपात पनि ४.४ गुणाबाट ३.६ गुणामा झरेको छ।

वित्तीय अवस्था र सञ्चालन क्षमतामा आएको सुधारका आधारमा इक्रा नेपालले खजुरीको नेपालको दीर्घकालीन कर्जाको रेटिङ एलबीबीमा उकासेको छ। अल्पकालीन कर्जाको रेटिङ एफोर भने यथावत् राखिएको छ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि एक अर्ब २६ करोड ९७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २३ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको छ।

सन् २०२५ मा ऋण सेवा अनुपात ०.९४ गुणामा सीमित रहँदा नगद प्रवाहमा दबाब देखिएको छ। चालु अनुपात ०.५७ गुणामा रहनु, उच्च परिचालन ऋणदाताको बोझ, उत्पादनमा उच्च एकाग्रता र तीव्र प्रतिस्पर्धालाई प्रमुख जोखिमका रूपमा औंल्याइएको छ।

यद्यपि, सन् १९९५ देखि व्यवसायिक अनुभव बोकेका प्रवर्द्धक, स्थापित ‘खजुरीको’ ब्रान्ड, अग्रिम भुक्तानीमै बिक्री हुने संरचना र न्यून डेब्टर जोखिमका कारण कम्पनीको दीर्घकालीन सम्भावना सकारात्मक रहेको इक्रा नेपालको निष्कर्ष छ।

कम्पनीमा एकै परिवारको छ जनाको स्वामित्व रहेको छ भने अध्यक्ष ओमनाथ महर्जन रहेका छन्।

Advertisment

थप समाचार