काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ९ वर्षे ‘विकास ऋणपत्र २०९१’ निष्कासन गर्ने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै उक्त ऋणपत्र माघ १४ गते बुधबार बोलकबोलमार्फत बिक्री गरिने जानकारी दिएको हो ।
कार्यालयका अनुसार विकास ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले खरिद गर्न सक्नेछन् । बोलकबोल पेश गर्ने अन्तिम समय बुधबार दिउँसो २ बजे तोकिएको छ ।
बिहीबार निष्कासन हुने यस ऋणपत्रको साँवा तथा अन्तिम ब्याज भुक्तानी २०९१ माघ १५ गते गरिनेछ । ब्याज भुक्तानी भने अर्धवार्षिक रूपमा हुने कार्यालयले जनाएको छ ।
ऋणपत्रमा इच्छुक लगानीकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी दुवै माध्यमबाट सहभागी हुन सक्नेछन् । कुल निष्कासित रकममध्ये ८५ प्रतिशत (८ अर्ब ५० करोड रुपैयाँ) प्रतिस्पर्धी बोलवालाका लागि र १५ प्रतिशत (१ अर्ब ५० करोड रुपैयाँ) अप्रतिस्पर्धी बोलवालाका लागि छुट्याइएको छ ।
अप्रतिस्पर्धी बोलवालाका लागि छुट्याइएको रकम पूरा बोल नपरेमा बाँकी रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ । साथै, अप्रतिस्पर्धी बोलवालाबाट छुट्याइएको सीमाभन्दा बढी बोल परेमा रकम समानुपातिक रूपमा बाँडफाँड गरिने व्यवस्था गरिएको छ ।
प्रतिस्पर्धी बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी, बाँडफाँड हुने अन्तिम बिन्दुसम्म कायम भएको ब्याजदरलाई एकल ब्याजदर निर्धारण गरिनेछ । सोही एकल ब्याजदरमा तथा सोभन्दा कम ब्याजदर कबोल गर्ने सबै प्रतिस्पर्धी बोलवालालाई ऋणपत्र उपलब्ध गराइनेछ ।
ऋणपत्र खरिदका लागि न्यूनतम ५० हजार रुपैयाँ र अधिकतम कुल निष्कासित रकमको सीमाभित्र, ५० हजारले निःशेष भाग जाने अंकमा बोल गर्न सकिनेछ । एक व्यक्ति वा संस्थाले प्रतिस्पर्धी वा अप्रतिस्पर्धीमध्ये कुनै एक माध्यमबाट मात्र सहभागिता जनाउन पाउनेछ ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था अप्रतिस्पर्धी बोलवालाको रूपमा सहभागी हुन नपाउने पनि कार्यालयले स्पष्ट गरेको छ ।
प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म) उल्लेख गर्नुपर्नेछ । उनीहरूले बहु–ब्याजदरमा पनि बोल गर्न सक्नेछन् । अप्रतिस्पर्धी बोलवालाले भने खरिद गर्न चाहेको रकम मात्र उल्लेख गर्नुपर्नेछ । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारण भएको एकल ब्याजदरमै अप्रतिस्पर्धी बोलवालालाई ऋणपत्र बिक्री गरिनेछ ।
Advertisment