काठमाडौं : स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवाको सही र जिम्मेवार उपयोग गर्न सेवाग्राहीहरूलाई आग्रह गरेको छ।
बोर्डले सोमबार एक सूचना जारी गर्दै अनावश्यक परीक्षणका लागि चिकित्सक वा स्वास्थ्यकर्मीमाथि दबाब नदिन तथा बीमा सेवाको दुरुपयोग नगर्न अनुरोध गरेको हो। “स्वास्थ्य बीमाको सही सदुपयोग गरौं” भन्ने सन्देशसहित बीमाको सहि सदुपयोग गर्न भनेको हो ।
सरकारद्वारा सञ्चालन हुँदै आएको स्वास्थ्य बीमा कार्यक्रमले नागरिकलाई स्वास्थ्य सेवा उपयोगका क्रममा लाग्ने खर्चको जोखिमबाट जोगाउँदै सामाजिक स्वास्थ्य सुरक्षालाई मजबुत बनाउँदै आएको बोर्डको भनाइ छ।
सामाजिक स्वास्थ्य बीमाको अवधारणामा आधारित यस कार्यक्रमको मुख्य उद्देश्य सबै नेपाली नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो।
स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा अन्य नीतिगत व्यवस्थाका आधारमा सञ्चालन भइरहेको यो कार्यक्रम सामाजिक स्वास्थ्य सुरक्षा प्रणालीको मेरुदण्डका रूपमा स्थापित हुँदै गएको छ।
सीमित स्रोतसाधन र केही संरचनागत चुनौतीका बाबजुद हाल दैनिक करिब ५० हजार नागरिकले स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिइरहेका छन्। यसबाट आम नागरिकको गोजीबाट हुने दैनिक औसत करिब ८ करोड रुपैयाँ बराबरको खर्च जोगिँदै आएको बोर्डले जनाएको छ।
कार्यक्रमले स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच विस्तार गर्दै नेपाललाई दिगो विकास लक्ष्य ९एसडीजी० हासिल गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सामाजिक ऐक्यबद्धताको सिद्धान्तअनुसार वित्तीय व्यवस्थापन गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन बोर्ड निरन्तर प्रयासरत रहेको जनाएको छ।
यसैबीच, बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई औचित्यका आधारमा मात्र जाँच, प्रयोगशाला परीक्षण तथा उपचार गर्न आग्रह गरेको छ। साथै, प्रचलित कानुन तथा बोर्डद्वारा जारी निर्देशिका, कार्यविधि र परिपत्रको पूर्ण पालना गर्दै कार्यक्रमलाई दिगो बनाउन सक्रिय भूमिका निर्वाह गर्न समेत अनुरोध गरिएको छ।
स्वास्थ्य बीमा सेवा लिँदा हाल असहजता देखिएका वा अस्थायी रूपमा सेवा अवरुद्ध भएका स्वास्थ्य संस्थाहरूलाई पुनः सञ्चालनमा ल्याउन निरन्तर पहल र छलफल भइरहेको बोर्डले जनाएको छ। आगामी दिनमा स्वास्थ्य बीमा कार्यक्रमलाई अझ सशक्त, व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने प्रतिबद्धता बोर्डले व्यक्त गरेको छ।
Advertisment