काठमाडौं : किया र इसुजु ब्रान्डका सवारीसाधनको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले एक आर्थिक वर्षमा झण्डै साढे चार अर्बको कारोबार गरेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२५ मा चार अर्ब ४० करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा २१.१२ प्रतिशतले बढी हो । सन् २०२४ मा कम्पनीले ३ अर्ब ६४ करोडको कारोबार गरेको थियो ।
कम्पनीले सन् २०२३ मा ४ अर्ब ५१ करोड २० लाख, सन् २०२२ मा १० अर्ब २ करोड ३० लाख र सन् २०२१ मा १० अर्ब ९६ करोड ८० लाखको कारोबार गरेको थियो । पछिल्ला वषहरुमा कारोबारमा उतारढाव देखिएपनि सन् २०२५ मा पुनः सुधार देखिएको हो ।
कम्पनीको कारोबार कियाको सोनेट र इसुजुको कमर्सियल भेइकलले धानेको छ । कियाको सोनेट, इसुजु हाई–ल्यान्डर कमर्शियल भेइकल तथा कोमात्सुका ठूला निर्माण उपकरणहरू क्षेत्रको माग बढ्दा कम्पनीको कारोबार बढेको रिपोर्टमा उल्लेख छ ।
सन् २०२५ मा कम्पनीको सञ्चालन आम्दानीको मुनाफा ७.१ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्ष ६ प्रतिशत रहेको थियो । यद्यपी सन् २०२३ मा यो मार्जिन १०.९ प्रतिशत रहेको थियो । पछिल्ला वर्षमा कम्पनीको मुनाफामा पनि दबाब रहेको देखिएको छ ।
इक्रा नेपालले कम्पनीको व्यवसायिक संरचनामा पनि केही जोखिम औँल्याएको छ । कुल आम्दानीको करिब ५६ प्रतिशत हिस्सा कियाका दुई मोडल (सेल्टोस र सोनेट) बाट आउने भएकाले सिमित उत्पादनमा अत्यधिक निर्भरता रहेको छ ।
साथै, विद्युतीय सवारी साधन (इभी) सेग्मेन्टको बढ्दो प्रतिस्पर्धा र सधैं बदलिँदो नीति/कर संरचना कम्पनीका लागि चुनौती थपिएको जनाएको छ ।
कारोबारमा वृद्धि देखिएपनि कम्पनीको वित्तीय संरचना अझै ऋणमुखी रहेको रिपोर्टमा उल्लेख छ । कुल ऋण–इबिटा अनुपात १२.७ गुणा र कुल बाह्य दायित्व/ट्यान्जिबल नेट वर्थ अनुपात ७.९ गुणा तथा कुल गिररिङ अनुपात ६.५ गुणा रहेको छ ।
कम्पनीको नेटवर्क क्यापिटल आवश्यकता सञ्चालन आम्दानीको ९९ प्रतिशत पुगेको छ । असुलीमा ढिलाई र लामो समयसम्म मौज्दातमा स्टक रहने अवस्थाका कारण बैंक ऋणमा निर्भरता बढेको इक्राको रिपोर्टमा उल्लेख छ । कम्पनीको ब्याज तिर्ने क्षमता ०.९ गुणा रहेको छ ।
हाल कम्पनीसँग ६ वटा आफ्नै शोरुम र देशभर १२ वटा क्षेत्रीय डिलर नेटवर्कहरू छन् । कम्पनीको नेतृत्व अध्यक्ष सुहृद घिमिरेले गरिरहेका छन् ।
सन् २०२६ को पहिलो छ महिनामै कम्पनीले दुई अर्ब ५० करोड रुपैयाँको कारोबार गरिसकेको छ ।
कम्पनीले बैंकिङ सुविधाअन्तर्गत कुल चार अर्ब ७५ करोड रुपैयाँ बराबरको कर्जाको रेटिङ गराएको छ । यसमा दीर्घकालीन कर्जाका लागि एक अर्ब रुपैयाँ, अल्पकालीन कर्जाका लागि तीन अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
Advertisment