Below Menu
Below Menu

नारायणी सामुदायिक अस्पतालको कारोबार ६४ करोड नाघ्यो, ३५० शैयाको विशिष्टीकृत सेवाको तयारी

नारायणी सामुदायिक अस्पतालको कारोबार ६४ करोड नाघ्यो, ३५० शैयाको विशिष्टीकृत सेवाको तयारी

काठमाडौं : चितवनको नारायणी सामुदायिक अस्पताल लिमिटेडले सन् २०२५ मा ६४ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । जुन गत वर्षको तुलनामा ४६.६८ प्रतिशतले बढी हो । 

केयर रेटिङ नेपालका अनुसार कम्पनीको कारोबार सन् २०२४ मा ४३ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा ४१ करोड ३० लाख रुपैयाँ रहेको थियो। पछिल्ला वर्षहरूमा अस्पतालको कारोबार निरन्तर रुपमा बढेको छ । 

हाल सञ्चालनमा रहेको १५० शैयाको अस्पताललाई ३५० शैयाको सुपर–विशेष अस्पतालमा विस्तार गर्ने योजनाअनुसार अस्पतालले ठूलो लगानीको परियोजना अघि बढाइरहेको छ । 

उक्त परियोजनाको कुल अनुमानित लागत चार अर्ब ७६ करोड रुपैयाँ रहेको छ, जसलाई ६०ः४० को ऋण–इक्विटी अनुपातमा वित्त पोषण गर्ने योजना छ । परियोजनाका लागि आवश्यक कुल ऋणमध्ये हालसम्म एक अर्ब ८९ करोड रुपैयाँ सुनिश्चित भइसकेको छ भने बाँकी रकम बैंक स्वीकृतिको प्रक्रियामा रहेको छ। कम्पनीले बैंकिङ सुविधाअन्तर्गत दीर्घकालीन कर्जाका लागि दुई अर्ब ४० करोड रुपैयाँ बराबरको कर्जाको रेटिङ गराइसकेको छ ।

स्न २०२६ को जनवरीसम्म आइपुग्दा अस्पताल निर्माणको वित्तीय तथा भौतिक प्रगति ७१ प्रतिशत रहेको छ । नयाँ अस्पतालको व्यावसायिक सञ्चालन सन् २०२६ नोभेम्बर ४ मा हुने छ ।  

तर, नयाँ अस्पतालको आकार कम्पनीको हालको सञ्चालन क्षमता र शुद्ध सम्पत्तिभन्दा धेरै ठूलो भएकाले समयमै निर्माण सम्पन्न गर्ने र लागत नियन्त्रणमा राख्ने चुनौती रहेको छ । परियोजना सञ्चालनमा आएपछि मात्र अपेक्षित नगद प्रवाह र आर्थिक प्रतिफल प्राप्त हुने अनुमान गरिएको छ ।

नेपालको स्वास्थ्य सेवा क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको भए पनि निजी अस्पतालहरूबीच प्रतिस्पर्धा बढ्दो अवस्थामा छ । यससँगै सरकारी नियमन र नीतिगत अनिश्चतता र प्रतिष्ठासम्बन्धी जोखिमले अस्पताल सञ्चालनमा थप चुनौती सिर्जना गरेको छ रिपोर्टमा उल्लेख छ ।  
 
अस्पतालले लिएको ऋण फ्लोटिङ ब्याजदरमा आधारित भएकाले ब्याजदरमा हुने उतार–चढावले मुनाफा मार्जिन र नगद प्रवाहमा असर पार्न सक्ने जोखिम रहेको केयर रेटिङले औँल्याएको छ । 

सन् २०२५ मा अस्पतालको कुल सञ्चालन आम्दानी ६८ करोड २० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले वृद्धि हो। यस अवधिमा पीबीआईएलटीडी मार्जिन १९.०५ प्रतिशत र खुद नाफा मार्जिन १३.१७ प्रतिशत रहेको छ ।

डाक्टरहरूलाई परामर्श सेवाको आधारमा भुक्तानी गर्ने प्रणाली लागू गरेपछि चिकित्सक परामर्श खर्च बढेर १२ करोड ३० लाख रुपैयाँ पुगेको छ । सन् २०२४ मा यस्तो खर्च तीन करोड रुपैयाँ रहेको थियो । यद्यपि, अस्पतालको कुल नगद प्रवाह १२ करोड १० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १० करोड रुपैयाँभन्दा बढी हो ।

न्युटन हस्पिटल प्रालि (एनएचपीएल) सँगको मर्जरपछि परियोजनासम्बन्धी ऋण थपिए पनि सन् २०२५ मा कुल ऋण–सम्पत्ति अनुपात ०.६१ गुणामै सीमित रहेको छ । 

नारायणी सामुदायिक अस्पताल चितवनका अनुभवी चिकित्सकहरूको समूहद्वारा प्रवद्र्धित संस्था हो। बोर्डका अध्यक्ष प्रो. डा. भक्तमान श्रेष्ठ प्रख्यात शल्य चिकित्सक हुन् । उनीसँग राष्ट्रिय क्यान्सर अस्पतालमा अध्यक्ष तथा कार्यकारी निर्देशकको रूपमा लामो समय काम गरेको अनुभव छ । 

नयाँ अस्पताल भरतपुर नगरपालिकाभित्र, पूर्व–पश्चिम राजमार्ग नजिकै निर्माणाधीन अवस्थामा रहेको छ । भारतको सीमावर्ती क्षेत्र नजिक भएकाले भारतबाट समेत बिरामीहरु आउने सम्भावना रहेको छ । 

नारायणी सामुदायिक अस्पताल लिमिटेडको स्थापना मार्च १३, २००६ मा भएको हो । हाल अस्पतालले १५० शैयाको सेवा प्रदान गरिरहेको छ । साथै, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत ल्याब टेक्निसियन (४० सिट), जनरल मेडिसिन–एचए (३० सिट) र बीएस्सी नर्सिङ (३० सिट) जस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

मर्जरपछि एनएचपीएल अन्तर्गत निर्माणाधीन ३५० शैयाको सुपर–स्पेशलिटी अस्पताल नारायणी अस्पतालकै नामबाट सञ्चालन हुनेछ, जसअन्तर्गत १०० शैया अन्कोलोजी (क्यान्सर उपचार) सेवाका लागि सञ्चालन गरिने जनाएको छ ।


 

Advertisment

थप समाचार