पनौती (काभ्रे) : सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३२औँ स्थापना तथा एकीकरण दिवस भव्य रूपमा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष मुकुन्द शर्माको सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्दव सापकोटा, पनौती नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दीपक दाहाल, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका कोषाध्यक्ष अर्जुन सापकोटा, जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष उदयराम कायस्थ, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति देवेन्द्र भैल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेका अध्यक्ष गोपाल दाहाललगायतको आतिथ्यता रहेको थियो।
त्यसैगरी संस्थाका निवर्तमान अध्यक्ष एवं जिल्ला सहकारी संघ लि. काभ्रेका सचिव प्रकाश बन्जारा, संस्थापक अध्यक्ष तथा बागमती प्रदेश सहकारी संघ लिमिटेडका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थापक सदस्यहरू, पूर्व सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरू, सल्लाहकार, विभिन्न विषयगत समिति तथा उप–समिति, सेवाकेन्द्र व्यवस्थापन उप–समिति, कर्मचारी तथा शेयर सदस्यहरूको उल्लेख्य सहभागिता थियो। अवसरमा संस्थाले विभिन्न विधामा ११२ जना शेयर सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको छ।
स्थापना दिवसको अवसरमा क्षेत्रगत तालिका बनाएर सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गरी उत्कृष्ट सदस्यहरूलाई सम्मान गरिने संस्थाका अध्यक्ष शर्माले जानकारी दिए।
यस्तै, अस्पतालमा उपचाररत सदस्यलाई निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धमा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखासँग गरिएको सम्झौता थप एक वर्षका लागि नवीकरण गरिएको छ। साथै, संस्थाको मुख्य कार्यालय परिसरमा आयोजित खुला रक्तदान शिविरमा ३७ जना रक्तदाताले रक्तदान गरेका थिए।
संस्थाका सचिव सरोजकुमार तिमल्सेनाद्वारा सञ्चालित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सूर्य मानन्धरले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको परिचयात्मक प्रस्तुति दिएका थिए। कार्यक्रममा उपस्थित अतिथिहरूले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको समापन गर्दै अध्यक्ष शर्माले संस्थालाई यो अवस्थासम्म पुर्याउन योगदान गर्ने संस्थापक सदस्य, पूर्व सञ्चालक, एकीकरण भएका संस्था, शेयर सदस्य, कर्मचारी, सहकार्य गर्ने संघ–संस्था तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै सम्मानित सम्पूर्ण महानुभावलाई बधाई तथा आगामी दिनका लागि सफलताको शुभकामना व्यक्त गरे।
Advertisment