काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले आफ्नो पहिलो वार्षिकोत्सवकै दिन कडा सूचना जारी गरेको छ। २०८१ माघ १४ गते स्थापना भएको प्राधिकरणले बुधबार जारी गरेको सूचनामा इजाजतपत्र नलिई बचत तथा ऋणको कारोबार गरेमा सहकारी संस्थाको दर्ता खारेजीसम्मको कारबाही हुने स्पष्ट पारेको छ।
सहकारी ऐन, २०७४ बमोजिम बचत तथा ऋणको मुख्य कारोबार गर्ने बचत तथा ऋण, कृषि, बहुउद्देश्यीयलगायतका सहकारी संस्थालाई फागुन ११ गतेभित्र अनिवार्य रूपमा इजाजतपत्र लिन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणबाट इजाजतपत्र नलिई बचत तथा ऋणको कारोबार गरेमा मापदण्डको दफा ४ को उपदफा ३ बमोजिमको कारबाही सहित धितो रोक्का तथा दृष्टिबन्धकमा समस्या आउने, करचुक्ता प्रमाणपत्र नपाउने, कर्जा सूचना केन्द्रको सदस्यता नपाउने, वार्षिक बाह्य लेखापरीक्षण गर्न नपाउने, कारोबार रोक्का हुने, ठगीसम्बन्धी कारबाही हुने तथा अन्ततः संस्थाको दर्ता खारेजीसम्म हुन सक्ने प्राधिकरणले जनाएको छ।

Advertisment