काठमाडौं : भुजुङ हाईड्रोपावर लिमिटेडको आईपीओ आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ १२ गतेदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले यस चरणमा कुल ८ लाख ३० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि जारी गरेको हो । जसमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन् । आवेदन नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट दिन सकिनेछ । साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले सम्हालेको छ । कम्पनीले यसअघि मंसिर ११ गते नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो ।
सोही अनुमतिअन्तर्गत पहिलो चरणमा कम्पनीले पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो ।
पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
Advertisment