काठमाडौं : ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले कर्जा सूचना केन्द्र लिमिटेडको सदस्यता प्राप्त गरेको छ ।
केन्द्रले आईतबार (माघ १८ गते) हाम्रो साकोसलाई इन्स्टिच्युसनल कोड CP 00001 प्रदान गरेको हो । केन्द्रले माघ ७ गते सूचना जारी गर्दै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुका लागि सदस्यता आव्हान गरेको थियो ।
केन्द्रले सदस्यता प्रदान गरेको गर्दै आधिकारिक पत्र पठाउँदै अन्य बैंक/वित्तीय संस्था तथा सहकारीहरूलाई जस्तै त्यस संस्थालाई पनि कर्जा सूचना सम्बन्धी सबै सेवाहरू प्रदान गर्न केन्द्र सदा तत्पर रहेको जनाएको छ।
हाम्रो साकोसले कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरेको बताउँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले यसले सहकारी क्षेत्रमा पारदर्शिता, कर्जा अनुशासन तथा जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाउने बताए।
केन्द्रसँग आबद्ध भएपछि सहकारीको कर्जा सूचना प्रणाली व्यवस्थित हुनुका साथै दोहोरो कर्जा, अस्वस्थ प्रतिस्पर्धा र जोखिम न्युनिकरणमा महत्वपूर्ण सहयोग पुग्ने उनले बताए।
संस्थाको सुशासन अभिवृद्धि गर्नुका साथै सदस्यहरूको विश्वास थप बलियो बनाउने अपेक्षा सीईओ घिमिरेको छ । साथै नियमनकारी निकायको निर्देशनअनुसार सहकारी क्षेत्रलाई जिम्मेवार, पारदर्शी र दिगो बनाउने दिशामा यो सदस्यता महत्वपूर्ण उपलब्धि हुने घिमिरेको भनाइ छ।
कर्जा सूचना केन्द्र लिमिटेडले सञ्चालनमा ल्याएको “सदस्यता संस्था(हरू) दर्ता प्रणाली (Membership Institution(s) Registration System – MIRS)” प्रणालीमार्फत सहकारी संस्थाहरूले अनलाइन माध्यमबाट सदस्यताका लागि आवेदन दिन सक्नेछन्।
अनलाइन आवेदन पेश गर्दा कर्जा सूचना केन्द्र लिमिटेडलाई सम्बोधन गरिएको आवेदन पत्र, सञ्चालक समितिको निर्णय/स्वीकृति पत्र, राष्ट्रिय सहकारी नियमन प्राधिकरण (NCRA) को दर्ता पत्र, सहकारी दर्ता प्रमाणपत्र तथा PAN दर्ता प्रमाणपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
सदस्यता दर्ता शुल्क ११३० रुपैयाँ (VAT सहित) तोकिएको छ। सहकारी सदस्यता दर्ताका लागि https://mirs.cibnepal.org.np/ लिंक प्रयोग गर्न सकिने केन्द्रले जनाएको छ।
अब सहकारी संस्थाहरुले ऋण नतिर्ने ऋणीहरुलाई कालो सूचिमा राख्न सक्नेछन् । सहकारीहरुले पनि बैंक तथा वित्तीय संस्था सरह कर्जा सूचनाहरुको आदान प्रदान गर्न सक्नेछन् ।
थप जानकारी, स्पष्टीकरण वा प्राविधिक सहयोग आवश्यक परे cooperative@cibnepal.org.np मा सम्पर्क गर्न केन्द्रले आग्रह गरेको छ।
सहकारी ऐन, २०७४ (२०८१ मा संशोधित दफा ८१ र १०१) बमोजिम बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूले कर्जा सूचना केन्द्र लिमिटेडको सदस्यता लिनु अनिवार्य गरेको छ।