Below Menu
Below Menu

शिवम् प्लास्टिक इन्डष्ट्रिको व्यापार २७ प्रतिशतले बढ्यो, नाफा मार्जिन भने खुम्चियो 

शिवम् प्लास्टिक इन्डष्ट्रिको व्यापार २७ प्रतिशतले बढ्यो, नाफा मार्जिन भने खुम्चियो 

काठमाडौं : शिवम् प्लास्टिक इन्डष्ट्रिले सन् २०२५ मा एक अर्ब ८५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २७.२२ प्रतिशतले बढी हो। 

केयर रेटिङ नेपालका अनुसार, सन् २०२४ मा कम्पनीको व्यापार एक अर्ब ४५ करोड ५८ लाख रुपैयाँ थियो भने सन् २०२३ मा व्यापार एक अर्ब ३५ करोड ९० लाख रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्षमा उच्च परिमाणमा सामग्री बिक्री हुँदा कम्पनीको व्यापार उल्लेख्य रूपमा बढेको हो। कम्पनीले चालु आवको पहिलो छ महिनामै ९२ करोड रुपैयाँको व्यापार गरिसकेको छ। यस अवधिमा कम्पनीको सञ्चालन नाफा ४.२४ प्रतिशत रहेको छ, जुन सन् २०२४ को ४.९४ प्रतिशतको तुलनामा केही घटेको हो। तर, खुद नाफा १ प्रतिशतभन्दा कम रहेको छ।

कम्पनीको कुल गियरिङ अनुपात २.६८ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ। सम्पत्तिको मूल्य घटेसँगै ऋण बढ्दा गियरिङ अनुपातमा वृद्धि भएको हो।

कम्पनीले उत्पादनका लागि आवश्यक कच्चा पदार्थको लगभग ९३ प्रतिशत भारतबाट आयात गर्ने गरेको रेटिङमा भनिएको छ। जसकारण मूल्यमा हुने उतार–चढावले नाफामा असर पर्ने गरेको रिपोर्टमा उल्लेख छ । 

साथै, कुल बिक्रीको ६० प्रतिशत भारतमा निर्यात हुने भएकाले व्यापार नीतिमा हुने परिवर्तनले पनि कम्पनीको आम्दानी र तरलतामा प्रभाव पार्न सक्ने रिपोर्टमा उल्लेख छ। लामो सञ्चालन चक्रका कारण बैंक ऋणमा निर्भरता रहने हुँदा ब्याजदरमा उतार–चढावले कम्पनीको वित्तीय दबाब बढाउने चुनौती पनि रहेको छ।

सन् २००० मा स्थापना भएको कम्पनी सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत भएको थियो। कम्पनीले पोलिप्रोपिलिन ओभन फ्याब्रिक उत्पादन गर्दै आएको छ, जुन खाद्यान्न प्याकेजिङ, पोलिमर, सिमेन्ट र एचडीपीई ओभन टर्पोलिन फ्याब्रिकमा प्रयोग हुने गर्छ।

कम्पनीको उत्पादन क्षमता ११ हजार १२५ टन फ्याब्रिक र ४ हजार ६२० टन टर्पोलिन रहेको छ। कम्पनीमा गोल्यान ग्रुप र अग्रवाल परिवारको स्वामित्व रहेको छ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि एक अर्ब ५८ करोड ३५ लाख रुपैयाँको रेटिङ गराएको छ। यसमध्ये दीर्घकालीन कर्जा २४ करोड ३५ लाख र अल्पकालीन कर्जा एक अर्ब ३४ करोड रुपैयाँको रेटिङ पाएको छ।

Advertisment

थप समाचार