Below Menu
Below Menu

सेलुसिटी इन्टरनेशनलको कारोबार दुई अर्ब नाघ्यो, नाफा बढेपनि ऋणभार चुनौतीपूर्ण

सेलुसिटी इन्टरनेशनलको कारोबार दुई अर्ब नाघ्यो, नाफा बढेपनि ऋणभार चुनौतीपूर्ण

काठमाडौं : भिभो ब्रान्डका स्मार्टफोन तथा पार्टपुर्जा वितरण गर्दै आएको सेलुसिटी इन्टरनेशनल प्रालिले सन् २०२५ मा दुई अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।

कम्पनीले सन् २०२५ मा कुल २ अर्ब २ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा करिब २३ प्रतिशतले वृद्धि हो। यसअघि कम्पनीले सन् २०२४ मा १ अर्ब ६४ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ३३ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो।

व्यापारमा उल्लेख्य वृद्धि भए पनि कम्पनीको नाफा मार्जिन कमजोर नै देखिएको छ। सन् २०२५ मा कम्पनीको सञ्चालन मार्जिन १.६९ प्रतिशतमा झरेको छ भने शुद्ध नाफा मार्जिन ०.६२ प्रतिशत मात्र रहेको छ।

यद्यपि, कम्पनीले सन् २०२५ मा एक करोड ६० लाख रुपैयाँ नगद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष (सन् २०२४) मा कम्पनीले एक करोड ४० लाख रुपैयाँ नगद नाफा कमाएको थियो।

केयर रेटिङ्स नेपालले सेलुसिटी इन्टरनेशनलका बैंक कर्जासम्बन्धी सुविधाहरूको रेटिङ पुनः पुष्टि गर्दै कम्पनीको उच्च ऋणभार, कमजोर ऋण सेवा क्षमता र कार्यशील पूँजीमा अत्यधिक निर्भरता प्रमुख जोखिमका रूपमा औंल्याएको छ।

सन् २०२५ को अन्त्यसम्म कम्पनीको कुल गियरिङ अनुपात ५.७९ गुणा पुगेको छ। यस्तै, ब्याज कभरेज रेसियो १.१४ गुणा मात्र रहेकोले ऋण भुक्तानी क्षमता कमजोर देखिएको छ। कुल ऋण÷सकल नगद आम्दानी अनुपात २९ गुणाभन्दा माथि रहनु पनि चिन्ताको विषय रहेको रिर्पोटमा उल्लेख छ । 

मोबाइल फोन वितरण व्यवसाय कार्यशील पूँजीमा अत्यधिक निर्भर हुने भएकाले कम्पनीले छोटो अवधिको बैंक कर्जामा ठूलो मात्रामा निर्भर रहनुपरेको छ। कम्पनीले अल्पकालीन कर्जाका लागि ६५ करोड रुपैयाँको रेटिङ प्राप्त गरेको छ। सन् २०२५ मा कम्पनीको सञ्चालन चक्र ८३ दिन रहेको छ।  

कम्पनीको कर्जा फ्लोटिङ ब्याजदरमा आधारित भएकाले ब्याजदरको उतारचढावले नाफामा प्रत्यक्ष असर पार्ने रिपोर्टमा उल्लेख छ । साथै, मोबाइल फोन आयात अमेरिकी डलरमा हुने भएकाले विदेशी मुद्रा विनिमय दरको जोखिम पनि कम्पनीले वहन गर्नुपरेको छ। हालसम्म कम्पनीले कुनै हेजिङ व्यवस्था नगरेको रेटिङ एजेन्सीले जनाएको छ।

मोबाइल फोन उद्योगमा प्रविधि तीव्र रूपमा परिवर्तन हुने भएकाले प्रविधिगत अप्रचलन अर्को ठूलो जोखिमका रूपमा देखिएको छ। साथै, कम्पनीको व्यवसाय विवो ब्रान्डको बजार प्रदर्शनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। नेपालमा सामसुङ, एप्पल, शाओमी लगायतका बलिया ब्रान्ड तथा कम लागतका अन्य ब्रान्डहरूसँगको कडा प्रतिस्पर्धाले नाफामा दबाब सिर्जना गरेको छ।

कम्पनीका अनुसार गत आर्थिक वर्षमा नयाँ मोडलका फोन सार्वजनिक गरिनु र वितरक संख्या बढाइनुले कारोबार वृद्धि भएको हो। हाल कम्पनीले २२ वटा डिलरमार्फत पश्चिम तथा पूर्वी नेपालमा आफ्नो वितरण सञ्जाल विस्तार गरेको छ।

संघाई परिवारद्वारा प्रवर्द्धित सेलुसिटी इन्टरनेशनल सन् २०१७ अगस्ट २८ मा निजी सीमित कम्पनीका रूपमा स्थापना भएको हो। कम्पनीले भिभो मोबाइलको नेपालका दुई राष्ट्रिय वितरकमध्ये एक हो र मोबाइल एक्सेसोरी तथा ग्याजेट्सका लागि एन्कर ब्रान्ड अन्तर्गत पनि आफ्नो कारोबार विस्तार गरिरहेको छ।


 

Advertisment

थप समाचार