काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब दुई अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ। इक्रा नेपालको अनुसार कम्पनीले यस अवधिमा एकअर्ब ९८ करोड रुपैयाँको व्यापार गरेकाे हाे ।
यस अविधमा कम्पनीले ३२ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ, जसको नाफा मार्जिन २४ प्रतिशत पुगेको छ।
पछिल्ला वर्षहरूमा कम्पनीको कारोबार र नाफा दुवैमा उल्लेखनीय वृद्धि देखिएको छ। सन् २०२५ मा कम्पनीले ९ अर्ब ५४ करोड ४० लाख रुपैयाँ कारोबार गर्दै १ अर्ब २ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो, जसको सञ्चालन नाफा मार्जिन १८ प्रतिशत रहेको थियो। यसले कम्पनीको कुल ऋण–इक्विटी अनुपातमा समेत सुधार ल्याएको थियो।
यसअघि सन् २०२४ मा कम्पनीले ६ अर्ब ४२ करोड ३० लाख, सन् २०२३ मा ५ अर्ब ३९ करोड १० लाख, र सन् २०२२ मा ७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो।
कम्पनीले क्लिंकर र सिमेन्ट उत्पादन र बिक्रीमा ध्यान केन्द्रित गर्दै आएको छ। सुरुवातमा वार्षिक ०.४ मिलियन मेट्रिक टन उत्पादन क्षमताबाट सुरु भएको उद्योग अहिले क्लिंकर र ग्राइन्डिङ दुवैको लागि करिब १ मिलियन मेट्रिक टन प्रतिवर्ष उत्पादन क्षमतामा पुगेको छ। भौगोलिक विविधतासँगै ढुवानी लागत कम हुँदै बजार खण्डित सिमेन्ट उद्योगमा कम्पनीको प्रतिस्पर्धात्मक क्षमता पनि वृद्धि भएको छ।
सर्वोत्तम सिमेन्टको मुख्य शेयरधनी सौरभ समूह हो। कम्पनी जुलाई २०१९ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको हो। मुख्य कारखाना रामनगर, नवलपरासीमा स्थित छ। कम्पनीको १०० प्रतिशत सहायक कम्पनी, सर्वोत्तम होल्डिङ प्रालिले तीनवटा ग्राइन्डिङ युनिट र दुईवटा खानी कम्पनीहरूमा लगानी गरेको छ।
हाल कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि ६ अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबरको क्रेडिट रेटिङ गराएको छ, जसमा दीर्घकालीन कर्जा ९ करोड १७ लाख र अल्पकालीन कर्जा ६ अर्ब ७ करोड रुपैयाँ रहेको छ।
Advertisment