Below Menu
Below Menu

शोभा ज्ञवालीको तेस्रो कृति ‘मन्दाकिनी’ सार्वजनिक

शोभा ज्ञवालीको तेस्रो कृति ‘मन्दाकिनी’ सार्वजनिक

काठमाडौं : शोभा ज्ञवालीको तेस्रो कृति ‘मन्दाकिनी’ सार्वजनिक गरिएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा कथा संग्रह विमोचन गरिएको हो।

महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष तथा नेपाल रिपब्लिक मिडियाकी अध्यक्षसमेत रहेकी ज्ञवालीको नयाँ कृतिले महिला संवेदना, सामाजिक अन्तरविरोध, पीडा र चेतनालाई केन्द्रमा राखेको छ। 

कार्यक्रममा उनले ‘मन्दाकिनी’ समाजभित्र दबिएका आवाज उजागर गर्ने प्रयास भएको बताइन्। उनका अनुसार पुस्तक कल्पनाभन्दा बढी यथार्थमा आधारित छ र परिवर्तनतर्फको सानो यात्रा हो।

यसअघि ज्ञवालीले २०७७ सालमा ‘सम्पूर्ण आकाश’ र त्यसपछि ‘संघर्ष’ प्रकाशित गरिसकेकी छन्। ‘मन्दाकिनी’ पनि उनले आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेकी हुन्।

कृतिमा १० विधाका कथा समेटिएका छन्। नेपालदेखि विश्व परिवेशसम्मका घटना, महिलामाथिको हिंसा र विभेद, मौन संघर्ष तथा आशाका सन्देश कथामा प्रस्तुत छन्।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालले ज्ञवालीको लेखन परिपक्व र प्रभावशाली रहेको बताए। उनले समाजका अप्ठ्यारामा परेका मानिसका कथा उठान गर्ने क्षमता लेखकमा रहेको उल्लेख गरे।

विशेष अतिथिमा दान बहादुर कार्की, चण्डिराज ढकाल, हेमराज ढकाल, केशव स्थापित र उमेश कुमार गुप्तालगायत विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी थिए।

कार्यक्रमको सभापतित्व विनोदराज ज्ञवालीले गरेका थिए।

‘मन्दाकिनी’लाई महिला जागरण र सामाजिक चेतनाको कृति रूपमा हेरिएको छ। उपस्थित साहित्यप्रेमी र पाठकले यसले नेपाली साहित्यमा नयाँ संवेदनशील हस्तक्षेप गर्ने विश्वास व्यक्त गरेका छन्।

Advertisment

थप समाचार