काठमाडौं : स्वस्तिक आयल इन्डष्ट्रिज प्रालिले एक वर्षमा १४ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीले सन् २०२५ मा उक्त रकम बराबरको तेल बिक्री गरेको हो ।
रेटिङ एजेन्सी इन्फोरिमेक्स नेपालका अनुुसार कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार १३०.३८ प्रतिशतले बढी हो । सन् २०२४ मा कम्पनीले ६ अर्ब २३ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
यसअघि सन् २०२३ मा कम्पनीले सात अर्ब २ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा १२ अर्ब ५१ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । पछिल्ला वर्षहरूमा कम्पनीको व्यापारमा उतारचढाव देखिएपनि सन् २०२५ माव्यापार विस्तार र नाफामा उल्लेख्य सुधार गरेको हो ।
विशेषगरी भारतले परिष्कृत खानेतेलमा आयात शुल्क बढाएपछि नेपाली उद्योगलाई प्रतिस्पर्धात्मक लाभ मिल्दा भारततर्फको निर्यात उल्लेख्य रूपमा बढेको कम्पनीले जनाएको छ ।
सन् २०२५ मा कम्पनीले ६ अर्ब ९२ करोड रुपैयाँको तेल निर्यात गरेको छ । जबकी सन् २०२४ मा कम्पनीले ३५ करोड रुपैयाँको मात्रै तेल निर्यात गरेको थियो । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै कम्पनीले ६ अर्ब १५ करोड रुपैयाँ बराबरको आम्दानी गरिसकेको । जसको करिब ४७ प्रतिशत हिस्सा निर्यातबाट आएको छ ।
सन् २०२४ मा १८ प्रतिशत रहेको कम्पनीको उत्पादन क्षमता उपयोग बढेर सन् २०२५ मा ३६ प्रतिशत पुगेको छ। यससँगै सञ्चालन मार्जिन ५.५६ प्रतिशत पुगेको छ भने करपछिको नाफा मार्जिन १.३३ प्रतिशतमा सकारात्मक भएको छ । अघिल्ला दुई आर्थिक वर्षमा कम्पनी घाटामा रहेको थियो ।
व्यापारमा सुधार देखिए पनि कम्पनीको पूँजी संरचना अझै कमजोर अवस्थामा छ। विगतका सञ्चालन घाटा र कार्यशील पूँजी कर्जाको उच्च निर्भरता कारण कम्पनीको मूर्त खुद सम्पत्ति नकारात्मक अवस्थामा छ । सन् २०२५ मा प्रवद्र्धकबाट ३२ करोड रुपैयाँ पूँजी थपिए पनि समग्र गियरिङ अनुपात उच्च नै रहेको छ ।
कम्पनीको ब्याज तिर्ने क्षमता सन् २०२५ मा १.७८ गुणा पुगेको छ, जुन अघिल्ला वर्षको तुलनामा सुधार भए पनि अझै कमजोर रहेको छ ।
कम्पनीकोको व्यवसाय उच्च कार्यशील पूँजीमा निर्भर छ । कच्चा पदार्थ आयातमा निर्भर रहनु, ७७ दिनको औसत भण्डारण अवधि र १०७ दिनको सञ्चालन चक्रका कारण बैंक कर्जामा निर्भरता बढी छ ।
खानेतेल उद्योग मौसमी कृषि उत्पादनमा आधारित भएकाले कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव हुने गर्छ। साथै, स्वदेशी तथा विदेशी संगठित/असंगठित प्रतिस्पर्धीको उपस्थितिले बजार प्रतिस्पर्धा चर्को छ ।
कम्पनीले तीन दशकभन्दा बढी समयदेखि खाद्य तेल प्रशोधन तथा बिक्री गर्दै आएको कम्पनी नेपालका स्थापित औद्योगिक समूह के एल दुगड ग्रुप अन्तर्गत सञ्चालनमा छ ।
वि.सं. २०४१ सालमा स्थापना भएको स्वस्तिक आयल इन्डष्ट्रिज प्रालिको उद्योग मोरङको विराटनगर–९ मा अवस्थित छ । कम्पनीको वार्षिक प्रशोधन क्षमता एक लाख ३५ हजार मेट्रिक टन (सोयाबिन, पामोलीन, सनफ्लावर तेल तथा वनस्पति घ्यू) तथा १० हजार मेट्रिक टन तोरी तेल रहेको छ
।
कम्पनीले स्वस्तिक, धारा, सनफ्लो, संगम र बिगुल ब्रान्डमार्फत आन्तरिक तथा भारतीय बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि १० अर्ब ६ करोड एक लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । जसमा दीर्घकालिन कर्जाका लागि एक अर्ब ४५ करोड ४१ लाख रुपैयाँ रहेको छ भने अल्पकालिन कर्जाका लागि ८ अर्ब ६० करोड ६० लाख रुपैयाँ रहेको छ ।