गोदावरी पोलिस्याक्सको व्यापार ३१ प्रतिशतले घट्यो, नाफा मार्जिनमा पनि संकुचन 

गोदावरी पोलिस्याक्सको व्यापार ३१ प्रतिशतले घट्यो, नाफा मार्जिनमा पनि संकुचन 

काठमाडौं : सन् २०२५ मा गोदावरी पोलिस्याक्स एण्ड फ्याब्रिक प्रालिको व्यापार करिब ३१ प्रतिशतले घटेको छ। सन् २०२४ मा ७३ करोड ४० लाख रुपैयाँको व्यापार गरकेो कम्पनीले यस वर्ष ५० करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । 

पछिल्ला वर्षहरूमा कम्पनीको व्यापार निरन्तर ओरालो लागेको देखिएको छ। यसअघि सन् २०२३ मा कम्पनीले ७३ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो। 

कम्पनीले मुख्य रूपमा टार्पुलिन र पोलिस्याक झोला उत्पादन गर्दै आएको छ। समीक्षा अवधिमा टार्पुलिन बिक्रीमा आएको तीव्र गिरावटले समग्र आम्दानीमा ठूलो असर पारेको छ। 

सन् २०२४ मा ४५ करोड ९० लाख रुपैयाँको टार्पुलिन बिक्री गरेको कम्पनीले सन् २०२५ मा केवल ६० लाख रुपैयाँ बराबरको मात्र बिक्री गर्न सकेको छ। बजारमा टार्पुलिनको माग घटेका कारण कम्पनीको आम्दानी खुम्चिएको हो । 

व्यापार घटेसँगै नाफामा पनि दबाब देखिएको छ। कम्पनीको सञ्चालन नाफा मार्जिन ७.०५ प्रतिशतबाट घटेर ५.४९ प्रतिशतमा झरेको छ। उद्योगमा बढ्दो प्रतिस्पर्धा र कच्चा पदार्थको लागत वृद्धि भए पनि कम्पनीले सोही अनुपातमा मूल्य समायोजन गर्न नसक्दा नाफा संकुचित भएको रिपोर्टमा उल्लेख छ। 

सन् २०२५ मा कम्पनीको ग्रस क्यास एक्रुअल १४ मिलियन रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष १६ मिलियन रुपैयाँ रहेको थियो। कम्पनीको पूँजी संरचना अझै ऋणमा निर्भर देखिएको छ। समग्र गियरिङ अनुपात ३.७२ गुणाबाट घटेर २.४९ गुणामा सुधारिए पनि कुल ऋण रकम वास्तविक रूपमा घटेको छैन। 

सन् २०२५ को अन्त्यमा कुल ऋण–ग्रस क्यास एक्रुअल अनुपात ४५.११ गुणा पुगेको छ, जसले ऋण भुक्तानी क्षमतामा दबाब रहेको रिपोर्टमा उल्लेख छ। कार्यशील पूँजीको उच्च आवश्यकताका कारण कम्पनीको सञ्चालन चक्र २९६ दिन पुगेको छ, जुन अघिल्लो वर्ष २१७ दिन थियो।

यद्यपि, कम्पनी ‘गोडावरी’ ब्रान्डमार्फत देशव्यापी रुपमा सञ्चालनमा रहेको छ। २०० भन्दा बढी डिलर तथा सब–डिलर सञ्जालमार्फत उत्पादन बिक्री हुँदै आएको छ भने ललितपुर, हेटौंडा र रौतहटमा रहेका डिपोहरूले बजार विस्तारमा सहयोग पुर्याएका छन्। 

सन् २०१८ मा स्थापना भएको कम्पनी २०२५ मे २६ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीसाग ३९६.२५ मिलियन रुपैयाँ दीर्घकालीन र ३२० मिलियन रुपैयाँ अल्पकालीन बैंक सुविधा गरी कुल ७१६.२५ मिलियन रुपैयाँको बैंकिङ सुविधा रहेको छ।

थप समाचार