काठमाडौं : जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नियमित बचतमा उल्लेखनीय प्रगति गर्दै आफ्नो वित्तीय आधार थप सुदृढ बनाएको छ। तिलोत्तमा–१५, कोटिहवा, रुपन्देहीमा मुख्य कार्यालय रहेको जनउत्थानमा हाल कुल ३ अर्ब ७६ करोड रुपैयाँ बचत संकलन भएको छ। त्यसमध्ये १ अर्ब ६५ करोड रुपैयाँ नियमित बचत रहेको छ, जुन कुल बचतको ४४ प्रतिशत हो।
संस्थाले सोमबार सार्वजनिक गरेको विवरणअनुसार बचत संरचना सन्तुलित र विविधिकृत देखिएको छ। चालु बचत २४ प्रतिशत अर्थात् ९२ करोड रुपैयाँ रहेको छ भने धन सिर्जना गर्ने बचत १६ प्रतिशत (६० करोड) र आवधिक बचत १६ प्रतिशत (५९ करोड) रहेको उल्लेख छ। प्रतिशतका आधारमा हेर्दा आवधिक बचत सबैभन्दा कम देखिएको छ।
सहकारीमा नियमित बचतको हिस्सा धेरै हुनु सकारात्मक मानिन्छ। नियमित बचत सदस्यहरूको निरन्तर सहभागिता, आर्थिक अनुशासन र संस्थाप्रतिको विश्वासको प्रतिविम्ब हो। सानो–सानो मासिक बचतलाई दीर्घकालीन आर्थिक सुरक्षासँग जोड्ने सहकारी सिद्धान्तलाई जनउत्थानले व्यवहारमै उतारेको देखिन्छ।
‘सहकारीको ब्यूटी भनेकै नियमित मासिक बचत हो। यो बचत कुल बचतको ४५ प्रतिशतको सेरोफेरोमा भएमा अति उत्तम हुन्छ,’ जनउत्थान साकोसका व्यवस्थापक रणबहादुर थापाले भने, ‘४५ प्रतिशतको सेरोफेरोमा जनउत्थान पुगेको छ।’
नियमित मासिक बचत कमजोर भएको संस्था सहकारीको मर्मअनुसार नचल्ने उनको तर्क छ। सहकारी र साहुकारीबीचको भिन्नता बुझ्नु जरुरी रहेको बताउँदै थापाले धन सिर्जना गर्ने बचत १५–२० प्रतिशत, आवधिक बचत १५–२० प्रतिशत तथा चालु बचत २०–२५ प्रतिशतको सन्तुलन उपयुक्त हुने उल्लेख गरे। नियमित र धन सिर्जना गर्ने बचतको आधार कमजोर भई चालु र आवधिक बचतमै निर्भर हुँदा जोखिम बढ्न सक्ने उनको भनाइ छ।
उच्च नियमित बचतले संस्थाको तरलता व्यवस्थापन सहज बनाउने, कर्जा प्रवाहलाई स्थिर र योजनाबद्ध बनाउने तथा आकस्मिक आर्थिक आवश्यकतामा सदस्यलाई छिटो सेवा दिन सक्ने क्षमता बढाउने विश्वास गरिन्छ। यसले जोखिम व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पार्छ। स्थिर बचत आधार भएका सहकारीहरू दीगो विकासतर्फ उन्मुख हुने विज्ञहरूको धारणा छ।
२०८२ पौष मसान्त सम्मको तथ्यांक अनुसार संस्थाको सेयर पुँजी ३० करोड ३१ लाख, जगेडा कोष ४१ करोड १८ लाख, कर्जा जोखिम कोष १२ करोड २३ लाख रहेको छ । ४१ हजार ५ सय ७८ जना सेयर सदस्य रहेको जनउत्थानमा ११ हजार १ सय ७ जनाले ३ अर्ब ४७ करोड १५ लाख कर्जा उपभोग गरेका छन् ।
जनउत्थान सन् २०२५ मा एक्सेस ब्राण्ड पाउने नेपालको एक मात्र सहकारी हो ।
Advertisment