काठमाडौं : टायल्स उत्पादक कम्पनी लुम्बिनी सेरामिक्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै ७४ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। कम्पनीले सन् २०२५ मा ९१ करोड रुपैयाँको कारोबार गरेको थियो भने वार्षिक रूपमा करिब ९६ प्रतिशतले व्यापार वृद्धि भएको उल्लेख गरिएको छ।
रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपाल का अनुसार कम्पनीको उत्पादन क्षमता उपयोग दर र नाफा मार्जिन दुवैमा सुधार देखिएको छ। सन् २०२४ मा ४७.८० प्रतिशत रहेको क्षमता उपयोग दर सन् २०२५ मा बढेर ५८.२४ प्रतिशत पुगेको छ।
त्यस्तै, सन् २०२६ को सोही अवधिमा नाफा मार्जिन २८ प्रतिशत पुगेको छ, जुन सन् २०२५ मा करिब २१ प्रतिशत थियो। चालु वर्षको पाँच महिनामा खुद नाफा दर पनि उल्लेखनीय रूपमा बढेर करिब १२ प्रतिशत पुगेको छ।
यद्यपि, कम्पनीको समग्र गियरिङ अनुपात करिब १.९५ गुणा रहेकाले पूँजी संरचना मध्यम रूपमा ऋण–आधारित देखिएको छ। परियोजना मुख्यतः ऋणबाट वित्तपोषित भएकाले वित्तीय जोखिम पूर्ण रूपमा न्यूनीकरण भइसकेको छैन।
सन् २०२५ मा कार्यशील पूँजी आवश्यकता करिब ४८ प्रतिशतले बढेको छ। औसत भण्डारण अवधि १४१ दिन र औसत असुली अवधि ४७ दिन रहेको छ। लामो आपूर्तिकर्ता भुक्तानी अवधि (३७८ दिन) का कारण सञ्चालन चक्र नकारात्मक देखिएको छ। तर भविष्यमा आपूर्तिकर्ताका सर्तहरू कडाइ भएमा तरलतामा दबाब आउन सक्ने जोखिम पनि औंल्याइएको छ।
इन्फोमेरिक्स नेपालले कम्पनीको २ अर्ब ७८ करोड २ लाख रुपैयाँ बराबरको दीर्घकालीन बैंक सुविधालाई ‘डबल बी’ र ९५ करोड रुपैयाँ बराबरको अल्पकालीन बैंक सुविधालाई ‘ए फोर’ रेटिङ प्रदान गरेको छ। साथै, कम्पनीको इश्युअर रेटिङ ‘बीबी’ मा उकासिएको छ, जुन यसअघि ‘बीबी माइनस’ थियो। उक्त रेटिङले कम्पनीमा समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीको कारखाना बर्दिया जिल्लाको गुलरिया–८ मा अवस्थित छ। वार्षिक जडित उत्पादन क्षमता ४१.३८ मिलियन वर्ग फिट रहेको कम्पनी भारत–नेपाल सीमाक्षेत्र रुपैडिहा–नेपालगञ्ज नजिक भएकाले कच्चा पदार्थ आयातमा लागत दक्षता र सहजता प्राप्त भएको जनाएको छ।
कम्पनी ‘मंगलम’ समूहसँग आबद्ध छ र अध्यक्ष सुब्रत धितालको नेतृत्वमा सञ्चालन हुँदै आएको छ। कम्पनीमा अध्यक्ष धितालको १७.९८ प्रतिशत शेयर स्वामित्व रहेको छ।
हाल सञ्चालन विस्तारको चरणमा रहेको कम्पनीले आगामी दिनमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने योजना बनाएको जनाएको छ। निर्माण तथा रियल इस्टेट क्षेत्रमा हुने चक्रिय उतारचढावका कारण मागमा प्रभाव पर्न सक्ने र त्यसले क्षमता उपयोग, आम्दानी तथा नाफामा उतारचढाव ल्याउन सक्ने सम्भावनालाई रेटिङ प्रतिवेदनले औंल्याएको छ।
कम्पनीले कुल ३ अर्ब ७३ करोड २ लाख रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधाका लागि रेटिङ गराएको छ।
Advertisment