काठमाडौं : सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) फागुन ५ गते बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको कार्यालयमा बिहान ९ बजे गोलाप्रथामार्फत बाँडफाँट सम्पन्न गरिएको हो।
कम्पनीले गत माघ १८ देखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेको थियो, जसको कुल आकार ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ रहेको छ।
उक्त आईपीओमा २४ लाख ५२ हजार ६०२ जनाले २ करोड ६१ लाख ३२ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये २४ लाख ११ हजार ९९२ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन्।
मागभन्दा झण्डै ४५ गुणा बढी आवेदन परेपछि कम्पनीले गोलाप्रथा विधिबाट शेयर बाँडफाँट गरेको हो। सो अनुसार ५७ हजार २४३ जना आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
बाँडफाँटपछि बाँकी रहेको १ कित्ता शेयर पनि सोही समूहका एक आवेदकलाई प्रदान गरिएको छ। यसरी एक जना आवेदकले कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् भने बाँकी अधिकांश आवेदक हात खाली भएका छन्।
Advertisment