Below Menu
Below Menu

अम्बे सिमेन्टको ‘बाउन्स ब्याक’: एक अर्ब २८ करोडको व्यापार, खुद घाटामा पनि उल्लेख्य सुधार

अम्बे सिमेन्टको ‘बाउन्स ब्याक’: एक अर्ब २८ करोडको व्यापार, खुद घाटामा पनि उल्लेख्य सुधार

काठमाडौं : सन् २०२५ मा अम्बे सिमेन्ट प्रालिको व्यापार ७२६.२८ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले एक अर्ब २८ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । 

Sponsored Advertisement

सन् २०२४ मा कम्पनीले १५ करोड ६० लाख रुपैयाँको मात्र कारोबार गरेको थियो भने सन् २०२३ मा ५७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो।

व्यापार विस्तारसँगै नाफा मार्जिनमा पनि सुधार देखिएको छ। अघिल्लो वर्ष नकारात्मक रहेको नाफा मार्जिन सन् २०२५ मा ५.५१ प्रतिशतमा पुगेको छ। 

अम्बे सिमेन्टको क्षमता उपयोग बढेसँगै लागत नियन्त्रणमा सुधार आउँदा व्यापार बढेको रिपोर्टमा उल्लेख छ । लागत संरचना सुधारिँदै जाँदा सञ्चालन नाफा ७ करोड १० लाख रुपैयाँ पुगेको छ, जबकि सन् २०२४ मा कम्पनीले ५ करोड ७० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

यद्यपि कम्पनी अझै खुद नाफामा पुग्न सकेको छैन। सन् २०२५ मा खुद घाटा २ करोड ९० लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको ९ करोड ३० लाख रुपैयाँ घाटाभन्दा उल्लेख्य रूपमा कम हो। नगद आर्जन २ करोड ३० लाख रुपैयाँ पुगेको छ।

कम्पनीको समग्र गियरिङ रेसियो १.३७ गुणा तथा ब्याज तिर्ने क्षमता १.८३ गुणा रहेको छ। तर कार्यशील पूँजीमा उच्च निर्भरता कायम छ। हालको अनुपात १.०१ गुणा र क्विक रेसियो ०.८७ गुणा रहेकोले छोटो अवधिका दायित्व व्यवस्थापनमा सीमित तरलता देखिएको छ। बैंकबाट लिइने कार्यशील पूँजी सीमाको ८०–९० प्रतिशतसम्म उपयोग भइरहेको छ।

कम्पनीसँग आफ्नै क्लिंकर उत्पादन इकाइ नभएकाले अन्य स्थानीय उत्पादकबाट क्लिंकर खरिद गर्नुपर्छ। स्ल्याग, फ्लाइ एश र जिप्सम जस्ता कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने भएकाले मूल्य अस्थिरताको जोखिम उच्च रहेको छ। सिमेन्ट उद्योगमा बढ्दो प्रतिस्पर्धा र क्षमताको अधिकताले नाफा मार्जिनमा दबाब सिर्जना गरिरहेको छ।

सन् २००४ मा स्थापना भएको कम्पनी अम्बे ग्रुप अन्तर्गत प्रवर्द्धित हो। कम्पनीका अध्यक्ष शोभाकर न्यौपाने समूहका संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत हुन्। दैनिक १,००० मेट्रिक टन क्षमताको ग्राइन्डिङ प्लान्टमार्फत कम्पनीले पीपीसी, ओपिसी र पीएसपी सिमेन्ट उत्पादन गर्दै आएको छ।

केयर रेटिङ नेपालले कम्पनीको अल्पकालीन बैंक सुविधा अन्तर्गतको रेटिङ यथावत राखेको छ। कम्पनीले ६५ करोड ७५ लाख रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ कर्जा सुविधाका लागि रेटिङ गराएको छ।


 

थप समाचार