Below Menu

१३ खर्बको वैदेशिक व्यापारमा साढे नौ खर्ब घाटा, निर्यातमा बढेपनि अर्थतन्त्र अझै दबाबमा

१३ खर्बको वैदेशिक व्यापारमा साढे नौ खर्ब घाटा, निर्यातमा बढेपनि अर्थतन्त्र अझै दबाबमा

काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा नेपालको वैदेशिक व्यापारको आकार बढेपनि व्यापार घाटाको झन् गहिरिएको छ । 

भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा करिब १३ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले नौ खर्ब ५५ अर्ब ३४ लाख रुपैयाँ तीन लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । 

गत वर्षको तुलनामा व्यापार घाटा १०.९१ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले आठ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस अवधिमा नेपालको वैदेशिक व्यापार १५.७६ प्रतिशतले बढेको छ । माघ  मसातसम्म नेपालले १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।  

आयात र निर्यातमा वृद्धि  

विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको छ । सात महिनामा सवा ११ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने साढे एक खर्बको वस्तु तथा सेवा निर्यात भएको छ 

माघसम्ममा आयात १३.६५ प्रतिशत र निर्यात ३२.१९ प्रतिशतले बढेको छ । विभागका अनुसार यस अवधिमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

यस अवधिमा एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।

निर्यात वृद्धिले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको संकेत गरेको छ । यद्यपी निर्यातको उच्च वृद्धि दरले पनि व्यापार घाटा कम गर्न खासै योगदान पुर्याउन सकेको छैन । 

विलासी वस्तु र पेट्रोलियम पदार्थको बढ्दो आयातले गर्दा देशको शोधनान्तर स्थितिमा चाप परिरहेको छ । माघ मसान्तसम्म एक खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । जसबाट सरकारले ७१ अर्ब ५९ करोड रुपैयाँ राजस्व समेत संकलन गरेको छ ।

यस अवधिमा नेपालले १५३ देशसँगको वैदेशिक व्यापार गरेको छ । जसमध्ये २८ देशसँगको व्यापार नाफामा छ भने १२५ देशसँगको व्यापार घाटामा रहेको छ ।