Below Menu
Below Menu

नीतिगत लुपहोलको परिणामः प्रशोधित तेल निर्यात दोब्बरले बढ्दा कच्चा तेल आयात ८५ प्रतिशतले वृद्धि

नीतिगत लुपहोलको परिणामः प्रशोधित तेल निर्यात दोब्बरले बढ्दा कच्चा तेल आयात ८५ प्रतिशतले वृद्धि

काठमाडौं : चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा नेपालमा कच्चा खाद्य तेल आयात र प्रशोधित तेल निर्यात दुवै उल्लेख्य रूपमा बढेको देखिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा ९३ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको कच्चा खाद्य तेल आयात भएको छ भने ७८ अर्ब १९ करोड ६१ लाख रुपैयाँको प्रशोधित खाद्य तेल निर्यात भएको छ ।

कुल आयातमध्ये सबैभन्दा ठूलो हिस्सा कच्चा भटमास (सोयाबिन) तेलको रहेको छ । सात महिनामा ७० अर्ब ९९ करोड रुपैयाँ बराबरको ४४ करोड ८३ लाख ८७ हजार ४ सय ९४ लिटर कच्चा भटमास तेल आयात भएको छ ।

त्यस्तै, ६६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ बराबरको ३२ करोड ४१ लाख १९ हजार २२ लिटर प्रशोधित भटमास तेल निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।

कुल निर्यातमा सबै किसिमका खाद्यतेलको हिस्सा करिब साढे ४६ प्रतिशत रहेको छ भने त्यसमा भटमास तेल एक्लैको हिस्सा ४० प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने ३८ अर्ब २९ करोड ७३ लाख रुपैयाँ बराबरको २५ करोड ९२ लाख ९५ हजार ३ सय ५३ लिटर कच्चा भटमास तेल आयात भएको थियो । त्यस्तै ३२ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ बराबरको १५ करोड ८१ लाख ३८ हजार ८ सय ३१ किलो प्रशोधित भटमास तेल निर्यात भएको थियो ।

तथ्यांकअनुसार चालु आवमा कच्चा भटमास तेल आयात ८५.३८ प्रतिशतले बढेको छ भने प्रशोधित भटमास तेलको निर्यात १०६ प्रतिशतले वृद्धि भएको छ । यस वृद्धि पछाडि भारतको नीतिगत परिवर्तन मुख्य कारणका रूपमा देखिएको छ ।

भारत सरकारले ३० मे २०२५ मा कच्चा पाम तेल, सोयाबिन तेल र सूर्यमुखी तेलमा लाग्ने आधारभूत भन्सार शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो भने प्रशोधित तेलमा ३५.७५ प्रतिशत शुल्क यथावत् राखेको थियो । यस निर्णयपछि नेपालमा कच्चा तेल आयात गरी प्रशोधन गरेर भारततर्फ निर्यात गर्ने प्रवृत्ति बढेको देखिएको छ ।

यसअघि भारतले सेप्टेम्बर २०२४ मा स्वदेशी तेलबिउ किसानलाई संरक्षण गर्ने उद्देश्यले कच्चा र परिष्कृत दुवै प्रकारका खाद्यतेलमा २० प्रतिशत आयात कर बढाएको थियो । त्यसका कारण भारतमा कुल आयात शुल्क २७.५ प्रतिशतबाट १६.५ प्रतिशतमा झरेको थियो । तर उक्त निर्णयको अप्रत्याशित फाइदा नेपाललाई पुगेको देखिन्छ ।

विज्ञहरुकाअनुसार भारतको भन्सार नीतिमा भएको उतारचढावले नेपाल–भारतबीचको खाद्यतेल व्यापारमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । अहिले देखिएको आयात–निर्यातको असामान्य वृद्धि दीर्घकालीन उत्पादन वृद्धिभन्दा पनि नीतिगत अन्तरको परिणाम भएको विश्लेषण गरिएको छ ।

Advertisment

थप समाचार