Below Menu
Below Menu

होङ्शीको लाभांशमा टिकेको शिवम् होल्डिङ्स : व्यापार २१ करोडमा खुम्चिँदा पनि पाँच अर्बको सम्पत्ति

होङ्शीको लाभांशमा टिकेको शिवम् होल्डिङ्स : व्यापार २१ करोडमा खुम्चिँदा पनि पाँच अर्बको सम्पत्ति

काठमाडौं : शिवम् होल्डिङ्स लिमिटेडको व्यापार सन् २०२५ मा घटेर २१ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ५.६० प्रतिशतले कम हो। 

सन् २०२४ मा कम्पनीले २३ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो। यसअघि सन् २०२३ मा २१ करोड ३० लाख र सन् २०२२ मा ३९ करोड रुपैयाँको व्यापार भएको थियो। कम्पनीको प्रतिवेदनअनुसार लाभांश वितरण र ब्याज आम्दानीमा आएको परिवर्तनले यसको व्यापारमा उतारचढाव देखिएको हो।

यद्यपि व्यापार घटे पनि कम्पनीको भौतिक सम्पत्ति भने निरन्तर बढ्दो क्रममा रहेको छ। सन् २०२५ सम्म आइपुग्दा कम्पनीको कुल भौतिक सम्पत्ति ४ अर्ब ९९ करोड ४० लाख रुपैयाँ पुगेको छ । जुन सन् २०२४ को ४ अर्ब ९० करोड १० लाख रुपैयाँभन्दा बढी हो। 

यसअघि सन् २०२३ मा ४ अर्ब ५७ करोड ८ लाख, २०२२ मा ४ अर्ब ३७ करोड ३० लाख र २०२१ मा ३ अर्ब ८० करोड ९० लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको थियो।

नाफा मार्जिनतर्फ पनि केही उतारचढाव देखिएको छ। सन् २०२५ मा कम्पनीको सञ्चालन नाफा मार्जिन ९६.५३ प्रतिशत रहेको छ, जुन सन् २०२४ को ९६.२८ प्रतिशतभन्दा सामान्य वृद्धि हो। तर, सन् २०२३ र २०२२ मा यो क्रमशः ९७.२० प्रतिशत र ९९.५३ प्रतिशत रहेको थियो।

त्यस्तै, औसत सम्पत्तिमा प्रतिफल (आरओए) सन् २०२२ पछि घट्दै स्थिर अवस्थामा पुगेको छ । सन् २०२२ मा ९.४६ प्रतिशत रहेको यो सूचक २०२४ मा ४.५९ प्रतिशत र २०२५ मा ४.२० प्रतिशतमा झरेको छ।

कम्पनीको तरलता सूचक पनि अस्थिर देखिएको छ। सन् २०२५ मा वर्तमान अनुपात १२५.८० प्रतिशत पुगेको छ, जुन २०२४ को ९४.७७ प्रतिशतभन्दा सुधार भए पनि २०२३ को ३४७.३५ प्रतिशतबाट उल्लेखनीय गिरावट हो।

इन्फोरिमेक्स क्रेडिट रेटिङ नेपाल ले कम्पनीलाई ‘ट्रिपल बी माइनस’ रेटिङ दिएको छ । जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यम स्तरको सुरक्षित रहेको देखाउँछ । रेटिङ एजेन्सीका अनुसार कम्पनी ऋणरहित संरचनामा रहे पनि यसको आम्दानीको स्थिरता मुख्यतः एउटै लगानीमा निर्भर छ।

कम्पनीको प्रमुख आम्दानी स्रोत यसको लगानीबाट प्राप्त लाभांश हो, जसमा सबैभन्दा ठूलो हिस्सा होङ्शी शिवम् सिमेन्ट प्रालिमा रहेको ३० प्रतिशत स्वामित्वबाट आउँछ। 

यस कम्पनीमा ७० प्रतिशत स्वामित्व होङ्शी समूहअन्तर्गत हङकङ रेड लायन सिमेन्ट नम्बर ३ लिमिटेडको रहेको छ। सन् २०२५ सम्ममा शिवम् होल्डिङ्सको उक्त कम्पनीमा लगानी ४ अर्ब २१ करोड २० लाख रुपैयाँ पुगेको छ।

होङ्शी शिवम् सिमेन्ट कम्पनी नेपालका ठूला सिमेन्ट र क्लिङ्कर उत्पादकहरूमध्ये एक हो । जसको वार्षिक उत्पादन क्षमता लगभग २ मिलियन टन क्लिङ्कर र २.३० मिलियन टन ग्राइन्डिङ युनिट छ । ‘होङ्शी’ ब्रान्डअन्तर्गत ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको यस कम्पनीको उत्पादन क्षमता उपयोग दर पनि सन्तोषजनक रहेको छ।

यद्यपि, शिवम् होल्डिङ्सको सम्पूर्ण लगानी एउटै कम्पनीमा केन्द्रित हुनु यसको प्रमुख जोखिमको रूपमा देखिएको छ। होङ्शी शिवम् सिमेन्ट सूचीबद्ध नभएको र कम्पनीको स्वामित्व केवल ३० प्रतिशत मात्रै भएकाले रणनीतिक निर्णयमा सीमित प्रभाव रहने अवस्था पनि कायम छ।

आगामी दिनमा कम्पनीले सार्वजनिक निष्कासन (आईपीओ) मार्फत पूँजी उठाएर जलविद्युत्, पूर्वाधार, होटल तथा वित्तीय क्षेत्रमा लगानी विस्तार गर्ने योजना बनाएको छ। 

यसका लागि कम्पनीले ५ अर्ब ८० करोड रुपैयाँको जारी पूँजीमध्ये २० प्रतिशत बराबरका एक करोड २६ लाख कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको छ। शेयर निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।

फेब्रुअरी २०१५ मा निजी कम्पनीको रूपमा स्थापना भएको शिवम् होल्डिङ्स जुन २०२२ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। प्रारम्भमा शिवम् सिमेन्ट लिमिटेडको विशेष प्रयोजन कम्पनीका रूपमा स्थापना भएको यस कम्पनीले हाल आफ्नो लगानी पोर्टफोलियो विविधीकरण गर्ने रणनीति अघि सारेको छ।

कम्पनीका प्रमुख शेयरधनीहरूमा शिवम् सिमेन्ट लिमिटेडको ८५.०३ प्रतिशत स्वामित्व रहेको छ भने बिनोद कुमार श्रेष्ठ र दीपक कुमार झाको क्रमशः ३.६३ प्रतिशत र ३.२१ प्रतिशत हिस्सा रहेको छ। कम्पनीका अध्यक्ष शिवरत्न शारदा ‘शारदा समूह’का अध्यक्ष समेत हुन्, जसले इस्पात र सिमेन्टजस्ता विभिन्न क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव बटुलेका छन् । 

Advertisment

थप समाचार