काठमाडौं : डाबर नेपाल प्रालिले सन् २०२५ मा १५ अर्ब ६ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ। यो अघिल्लो वर्ष सन् २०२४ को तुलनामा ६.८२ प्रतिशतले कम हो।
सन् २०२४ मा कम्पनीले १६ अर्ब १६ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२३ मा १३ अर्ब ६१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो। पछिल्ला वर्षहरूमा कम्पनीको व्यापारमा उतारचढाव देखिएको छ।
कम्पनीका अनुसार बजार मागमा कमी र निर्यात घट्दा व्यापार प्रभावित भएको हो। नाफा मार्जिनमा पनि उतारचढाव देखिएको छ। सन् २०२५ मा नाफा मार्जिन १५.८६ प्रतिशत रहेको छ, जुन सन् २०२४ को १६.९७ प्रतिशतभन्दा कम भए पनि सन् २०२३ को १३.८८ प्रतिशतभन्दा बढी हो।
केयर रेटिङ नेपाला अनुसार कम्पनीको ओभरअल गियरिङ रेसियो ०.०६ गुणा रहेको छ भने ब्याज कभरेज अनुपात ४८.६६ गुणा पुगेको छ, जुन अघिल्लो वर्ष ३६.७७ गुणा थियो। त्यस्तै, वर्तमान अनुपात ३.९३ गुणा रहेको छ।
डाबर नेपाल प्रालि नेपालका प्रमुख निर्यातकर्तामध्ये एक हो। आर्थिक वर्ष २०२५ मा कम्पनीको कुल आम्दानीमध्ये करिब ६४ प्रतिशत निर्यातबाट आएको छ, जसको अधिकांश हिस्सा यसको मूल कम्पनी डाबर इन्डिया लिमिटेडतर्फ जाने गरेको छ। देशको कुल निर्यातमा कम्पनीको योगदान करिब ३.७ प्रतिशत रहेको छ।
कम्पनीसँग ३०० भन्दा बढी वितरक छन् भने एक लाखभन्दा बढी खुद्रा पसलबाट व्यापार गरिरहको छ। यसले डाबर रियल, हाजमोला, वाटिका जस्ता लोकप्रिय ब्रान्डमार्फत नेपाली बजारमा बलियो उपस्थिति बनाएको छ।
कम्पनीको आम्दानीको करिब ७० प्रतिशत हिस्सा खाद्य तथा पेय पदार्थबाट आउने गरेको छ। तर कच्चा पदार्थको मूल्यमा उतारचढाव, ब्याजदरको अस्थिरता तथा स्वदेशी–विदेशी प्रतिस्पर्धाले कम्पनीलाई चुनौती दिएको रिपोर्टमा उल्लेख छ।
यसका साथै, सरकारको खाद्य सुरक्षासम्बन्धी मापदण्ड वा चिनी आयातसम्बन्धी प्रतिबन्धले पनि कम्पनीको नाफामा प्रभाव पार्ने केयर रेटिङ नेपालले औँल्याएको छ । कम्पनीले अल्पकालीन बैंकिङ कर्जाका लागि ६ अर्ब ६० करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ।
सन् १९८९ मा स्थापना भएको डाबर नेपाल प्रालिले सन् १९९२ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो। यो डाबर इन्डिया लिमिटेडको सहायक कम्पनी हो। कम्पनीले जुस, च्यवनप्राश, ग्लुकोज, टुथपेस्ट, कपालको तेल, हजमोला, मह लगायतका उपभोक्ता वस्तु उत्पादन तथा बिक्री गर्दै आएको छ।
Advertisment