Below Menu
Below Menu

सूचना लुकाएपछि अटोवेजको ‘क्रेडिट रेटिङ’ खारेज, बैंकहरुको डेढ अर्ब लगानी जोखिममा ! 

सूचना लुकाएपछि अटोवेजको ‘क्रेडिट रेटिङ’ खारेज, बैंकहरुको डेढ अर्ब लगानी जोखिममा ! 

काठमाडौं : क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले अटोमोबाइल व्यवसायमा संलग्न अटोवेज प्राइभेट लिमिटेड (एपीएल) को दीर्घकालीन र अल्पकालीन ऋण रेटिङ फिर्ता लिएको छ।

इक्राले कम्पनीलाई यसअघि प्रदान गरिएको दीर्घकालीन ऋण रेटिङ एलबी माइनस र अल्पकालीन ऋण रेटिङ ए फोर औपचारिक रूपमा हटाएको जनाएको छ। रेटिङका लागि कम्पनीबाट आवश्यक सूचनामा निरन्तर असहयोग रहेका कारण क्रेडिट रेटिङ फिर्ता लिइएको रिपोर्टमा उल्लेख छ ।

अटोवेज प्राइभेट लिमिटेडले रेटिङ निगरानीका लागि आवश्यक विवरण उपलब्ध नगराएपछि इक्रा नेपालले पटक–पटक अनुरोध गरे पनि सहकार्य नभएको उल्लेख गरेको छ।

इक्राका अनुसार, रेटिङ फिर्ताको सूचना जारी गरिएको मितिबाट ६ महिनासम्म कम्पनीलाई सहकार्यका लागि समय दिइएको थियो। तर उक्त अवधिमा पनि कुनै प्रगति नभएपछि क्रेडिट रेटिङ नियमावली २०६८ तथा संस्थाको ‘रेटिङ फिर्ता नीति’ अनुसार रेटिङ हटाइएको हो।

कम्पनीबाट पर्याप्त वित्तीय तथा सञ्चालन सम्बन्धी विवरण प्राप्त नभएकाले पछिल्लो अवस्थामा कम्पनीको क्रेडिट जोखिममा के परिवर्तन आयो भन्ने मूल्याङ्कन गर्न सम्भव नभएको रेटिङ एजेन्सीले स्पष्ट पारेको छ । जसअनुसार नयाँ रेटिङ आधार तथा वित्तीय सूचकहरू समावेश गरिएको छैन।

अटोवेज प्राइभेट लिमिटेड सन् २००२ मा स्थापना भएको कम्पनी हो। कम्पनीले नेपालका विभिन्न क्षेत्रमा टोयोटा, आइचर र कोमात्सु सवारी साधन तथा निर्माण उपकरणको डिलरशिप सञ्चालन गर्दै आएको छ।

कम्पनीसँग पोखरा, नारायणघाट र बुटवलमा शोरुम रहेका छन् भने सहायक कम्पनीमार्फत सर्भिस सेन्टर सञ्चालन गर्दैआएको छ। कम्पनीका प्रबन्ध निर्देशक तथा एकमात्र शेयरधनी नारायण प्रसाद पौडेल रहेका छन्।  

कम्पनीले बैकिङ कर्जा सुविधाका लागि एक अर्ब ३८ करोड १० लाख रुपैयाँ बराबरको रेटिङ गराएको थियो । जसमा दीर्घकालिन कर्जाका लागि ६४ करोड ३० लाख र अल्पकालिन कर्जाका लागि ७३ करोड ८० लाख रुपैयाँ रहेको छ ।

Advertisment

थप समाचार