Below Menu
Below Menu

एशियन पेन्ट्सको व्यापार २६ प्रतिशतले बढ्यो, एक वर्षमा पौने छ अर्बको कारोबार 

एशियन पेन्ट्सको व्यापार २६ प्रतिशतले बढ्यो, एक वर्षमा पौने छ अर्बको कारोबार 

काठमाडौं :  एशियन पेन्ट्स (नेपाल) प्राइभेट लिमिटेडले सन् २०२५ मा ५ अर्ब ८९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २६.१८ प्रतिशतले बढी हो। सन् २०२४ मा कम्पनीले ४ अर्ब ६७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । 

यद्यपी, विगत केही वर्षमा कम्पनीको व्यापारमा उतार–चढाव देखिएको छ। सन् २०२३ मा कम्पनीले ७ अर्ब ८० करोड ७० लाख र सन् २०२२ मा ८ अर्ब ५७ करोड ४० लाखको व्यापार गरेको थियो।

व्यापारसँगै सञ्चालन नाफा मार्जिनमा पनि उल्लेखनीय सुधार आएको छ। सन् २०२४ मा ९.१ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन २०२५ मा १४.२ प्रतिशतमा पुगेको छ। 

इक्रा नेपालका अनुसार, बिक्री परिमाणमा भएको वृद्धि र बिक्री मूल्यमा गरिएको परिमार्जनले नाफा मार्जिन सुधारमा देखिएको हो। तथापि, सन् २०२२ मा व्यापार उच्च रहँदा नाफा मार्जिन २१.५ प्रतिशत रहेको थियो।

कम्पनीले विगत पाँच वर्षमा  औसत ३५ प्रतिशत मात्र नाफा वितरण गर्दै बाँकी रकम सञ्चित गरेको छ। जसका कारण कम्पनीको नेटवर्थ ७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । जसमा ९९ प्रतिशत हिस्सा सञ्चित आम्दानीले ओगटेको छ र ७१ प्रतिशत रकम नगद भण्डारमा रहेको छ।

१९८३ मा स्थापना भएको कम्पनीको उत्पादन प्लान्ट मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा अवस्थित छ। वार्षिक १ लाख १ हजार ८०० मेट्रिक टन उत्पादन क्षमता भएको यस कम्पनीले ४४ भन्दा बढी ब्रान्डका रङहरू उत्पादन गर्दै आएको छ। २०२२ देखि बाथरुम फिटिङ्सको एसेम्बली पनि सुरु गरिएको छ।

इक्रा नेपालले कम्पनीको बलियो ब्रान्ड भ्यालु, व्यापक डिलर नेटवर्क र भारतीय मूलको एशियन पेन्ट्स लिमिटेडको ५३ प्रतिशत स्वामित्वलाई सकारात्मक पक्षको रूपमा लिएको छ।

निर्माण क्षेत्रमा उतार–चढाव, कच्चा पदार्थको मूल्य अस्थिरता र वैदेशिक मुद्राको जोखिमले नाफा मार्जिनमा असर पुर्याउने रिपोर्टमा उल्लेख छ । साथै, कम्पनीले आफ्नै इमल्सन पेन्टको कच्चा पदार्थ उत्पादन गर्ने योजना बनाएकोले पूँजीगत खर्च र तरलता व्यवस्थापन चुनौतीपूर्ण हुने देखिएको छ । 

कार्यशील पूँजी चक्रमा सुधार र ऋणीको संकलन अवधिमा कमी आउँदा कम्पनीको नगद भण्डारमा २४ प्रतिशत वार्षिक वृद्धि भएको रिपोर्टमा उल्लेख छ । । 

कम्पनीमा भारतको एशियन पेन्ट्स लिमिटेडको ५३ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीले अल्पकालिन बैंकिङ कर्जा सुविधाका लागि एक अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । 

Advertisment

थप समाचार