प्रिमियर डिष्टिलरीले गर्यो एक वर्षमै एक अर्ब ३२ करोडको व्यापार, साढे २२ करोडको आईपीओ ल्याउँदै 

प्रिमियर डिष्टिलरीले गर्यो एक वर्षमै एक अर्ब ३२ करोडको व्यापार, साढे २२ करोडको आईपीओ ल्याउँदै 

काठमाडौं : सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको प्रिमियर डिष्टिलरी लिमिटेडले एक वर्षमा सवा एक अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा एक अर्ब ३२ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा २.७९ प्रतिशतले बढी हो। 

सन् २०२४ मा कम्पनीको व्यापार एक अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको थियो भने सन् २०२३ मा एक अर्ब १६ करोड ८० लाख र सन् २०२२ मा ९३ करोड ९० लाख रुपैयाँको व्यापार भएको थियो। 

पछिल्ला वर्षहरूमा कम्पनीको व्यापारमा निरन्तर वृद्धि देखिएको छ । कम्पनीको उत्पादनहरूको औसत मूल्यमा सुधार र रक्सी तथा अन्नमा आधारित एक्स्ट्रा न्यूट्रल अल्कोहलको बिक्री मात्रा बढेका कारण व्यापारमा उल्लेख्य सुधार देखिएको रिपोर्टमा उल्लेख गरिएको छ।

यद्यपि व्यापार विस्तारसँगै उत्पादन लागत बढ्दा कम्पनीको सञ्चालन नाफा मार्जिन भने दबाबमा परेको छ। सन् २०२४ मा १४.८३ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२५ मा घटेर १२.६२ प्रतिशतमा सीमित भएको छ। 

कच्चा पदार्थको लागतले मात्रै कुल सञ्चालन आय (टीओआई) को करिब ७९ प्रतिशत हिस्सा ओगट्ने भएकाले मूल्यमा हुने उतारचढावले कम्पनीको नाफामा प्रत्यक्ष असर पार्ने रिपोर्टमा औँल्याइएको छ । 

साथै कम्पनीको पूँजी संरचनामा उल्लेखनीय सुधार आएको छ। आर्थिक वर्ष २०२५ मा समग्र गियरिङ अनुपात १.४७ गुणाबाट घटेर ०.५८ गुणामा झरेको छ। प्रमोटरहरूबाट करिब ४० करोड ७८ लाख रुपैयाँ बराबरको थप पूँजी लगानी र ऋण घटाइएको कारण यस्तो सुधार सम्भव भएको हो। 

कम्पनीको ऋण भुक्तानी क्षमतामा सुधार आएको देखिएको रिपोर्टमा उल्लेख छ । सन् २०२४ मा २.२९ गुणा रहेको कम्पनीको ब्याज कभरेज रेसियो बढेर ३.०८ गुणामा पुगेको छ । 

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। प्रिमियर डिष्टिलरीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरका २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ।

वि.सं २०६९ सालमा सुनसरीको दुहबीमा एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा स्थापना भएको यो कम्पनी नेपालका आधुनिक एकीकृत मदिरा उत्पादन उद्योगमध्ये एक मानिन्छ। कम्पनीले भोड्का, ह्विस्की, रम तथा जिन उत्पादनका लागि आवश्यक अन्नमा आधारित ग्रेन–बेस्ड एक्स्ट्रा न्यूट्रल अल्कोहल उत्पादन गर्दै आएको छ। 

अत्याधुनिक स्वचालित बोटलिङ लाइन र उच्चस्तरीय गुणस्तर नियन्त्रण प्रणालीमार्फत सञ्चालन भइरहेको यस उद्योगले आफ्नै आवश्यकता मात्र होइन, देशभरका अन्य बोटलिङ उद्योगहरूलाई समेत स्पिरिट आपूर्ति गर्दै आएको छ, जसले मदिरा क्षेत्रमा आयात निर्भरता घटाउन टेवा पुर्याएको छ।

कम्पनीअन्तर्गत ‘द हिमालयन रिजर्भ’ ह्विस्कीका साथै भारतको मोहन मिकिन लिमिटेड सँगको फ्रेन्चाइज सम्झौताअन्तर्गत उत्पादन हुने ‘ओल्ड मङ्क रम’ लगायत विभिन्न ब्रान्डहरू उत्पादन भइरहेका छन्। अत्याधुनिक प्रविधि, दिगो सञ्चालन अभ्यास र ठूलो लगानीका माध्यमबाट कम्पनीले नेपालको स्पिरिट्स उत्पादन क्षेत्रमा नयाँ मापदण्ड स्थापना गर्ने प्रयास गरिरहेको छ।

क्रेडिट रेटिङतर्फ कम्पनीको दीर्घकालीन बैंक सुविधा (९३.३१ मिलियन रुपैयाँ) को रेटिङ बीबीबाट बढेर डबल बी प्लस पुगेको छ भने अल्पकालीन सुविधा (६९० मिलियन रुपैयाँ) को रेटिङ एफोरबाट ए फोर प्लसमा स्तरोन्नति गरिएको छ।

साथै, कम्पनीलाई बीबी प्लस रेटिङ प्रदान गरिएको छ ।  कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जा सुविधाका लागि ७८ करोड ३३ लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ।

प्रिमियर डिष्टिलरी शारदा समूह र राठी समूहको संयुक्त लगानीमा सञ्चालित कम्पनी हो। यी समूहहरूको खाद्यान्न, सिमेन्ट, प्याकेजिङ, स्पिरिट, टीएमटी बार, रबर, सवारी साधन तथा मोबाइल व्यापार लगायत विभिन्न क्षेत्रमा बलियो उपस्थिति रहेको छ। कम्पनीका अध्यक्ष प्रदीप कुमार शारदासँग दुई दशकभन्दा बढी व्यापारिक अनुभव रहेको छ । 

तर कम्पनीले केही संरचनात्मक चुनौतीहरू पनि सामना गरिरहेको रिपोर्टमा उल्लेख छ । नेपालमा मदिरा उद्योग उच्च कर र कडा नियमनअन्तर्गत सञ्चालन हुने भएकाले व्यवसायिक वातावरण जटिल रहेको छ। 

मदिरासम्बन्धी प्रत्यक्ष तथा अप्रत्यक्ष विज्ञापनमा प्रतिबन्ध, उपहार वितरणमा रोक लगायतका नीतिले बजार विस्तारमा सीमितता ल्याएको छ। यसै कारण उद्योगले सरोगेट विज्ञापनजस्ता विकल्प अपनाउनुपर्ने अवस्था रहेको छ। कम्पनीले स्कच र बोतलहरू अमेरिकी डलरमा हेजिङ बिना खरिद गर्ने भएकाले विदेशी विनिमय दरको जोखिम पनि वहन गरिरहेको छ।