Below Menu
Below Menu

क्षमता विस्तार गर्दै एलएस न्युरो अस्पतालः ३०० बेड पुर्याइने, एक वर्षमा २१ करोड ४० लाखको व्यापार 

क्षमता विस्तार गर्दै एलएस न्युरो अस्पतालः ३०० बेड पुर्याइने, एक वर्षमा २१ करोड ४० लाखको व्यापार 

काठमाडौं : बाराको परवानीपुरस्थित एलएस न्युरो एण्ड जनरल अस्पताल प्रालिले सन् २०२५ मा २१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा करिब ५० प्रतिशत कम हो। 

यसअघि सन् २०२४ मा अस्पतालले २६ करोड ७० लाख र सन् २०२३ मा २६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो। कारोबारमा कमी आएको भए पनि अस्पतालको सञ्चालन मार्जिन भने उल्लेखनीय सुधार भएको छ। सन् २०२४ मा २९.९८ प्रतिशत रहेको सञ्चालन मार्जिन बढेर सन् २०२५ मा ३४.०३ प्रतिशत पुगेको छ।

कम्पनीको वित्तीय संरचनामा पनि सुधार देखिएको छ। ओभरअल गियरिङ २.८४ प्रतिशतबाट घटेर १.०८ गुणा कायम भएको छ भने ब्याज कभरेज अनुपात २.८४ गुणाबाट २.६८ गुणामा झरेको छ। कुल ऋण र नगद प्रवाह अनुपात ५.८१ गुणाबाट घटेर ५.१९ गुणामा आएको छ।  

हालै केयर रेटिङ नेपालले एल एस न्युरो एण्ड जनरल अस्पताललाई दीर्घकालीन बैंक सुविधाका लागि बीबी माइनस र अल्पकालीन बैंक सुविधाका लागि ए फोर रेटिङ प्रदान गरेको छ। अस्पतालले कुल ८५ करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जा ८० करोड र अल्पकालीन कर्जा ५ करोड रुपैयाँ रहेको छ।

अस्पतालले स्वास्थ्य सेवा विस्तारका लागि महत्वाकांक्षी योजना अघि बढाएको छ। हाल १०० शैय्याको क्षमतासहित सञ्चालन भइरहेको अस्पतालको बेड क्षमता ३०० पुर्याउने लक्ष्य राखिएको छ। तर, परियोजना प्रारम्भिक चरणमा रहेको हुँदा निर्माण ढिला हुनु वा लागत बढ्नु जस्ता जोखिमहरू कायम रहेका छन्। 

एल एस अस्पतालको संचालन हाल परवानीपुरमा केन्द्रित छ। अस्पतालमा तीन वटा ब्लक रहेका छन्, जसमा प्रमुख अपरेशन, प्याथोलोजी प्रयोगशाला, आउटपेशनल विभाग र इनपेसिन्ट सुविधा उपलब्ध छन्। 

नेपालको निजी स्वास्थ्य सेवा क्षेत्रमा प्रतिस्पर्धा तीव्र छ। आसपासका क्षेत्रका अन्य अस्पताल र क्लिनिकहरूले पनि उन्नत प्रविधि र सेवा प्रदान गरिरहेका छन्। योग्य चिकित्सक र विशेषज्ञ स्टाफको उपलब्धता सुनिश्चित गर्नु चुनौतीपूर्ण छ, जसले अस्पतालले आफ्नो सेवा स्तर कायम राख्न चुनौती दिने गर्दछ। 

करिब ९ वर्षको अनुभवसहित स्थिर सञ्चालनको ट्र्याक रेकर्ड रहेको, स्थानीय स्तरमा बलियो ब्रान्ड छवि रहेको र बिरामीको भरोसा कायम रहेको अस्पतालको प्रमुख शक्तिहरू रहेको रिपोर्टमा उल्लेख छ । 

अध्यक्ष रामप्रवेश प्रसाद कुर्मी, वाणिज्य स्नातक र ३ दशकभन्दा बढी उद्यमी अनुभव भएका व्यक्ति हुन्। उनले स्वास्थ्य, निर्माण र शिक्षा क्षेत्रमा आफ्नो अनुभव प्रयोग गर्दै अस्पतालको व्यवस्थापनमा सक्रिय भूमिका निभाइरहेका छन्।

कुल ऋण हाल २४ करोड ७० लाख रुपैयाँ रहेको छ र दायित्व अनुपात सुधारिएको छ । निजी स्वास्थ्य सेवाको माग बढ्दै गएसँगै एल एस अस्पताल जस्ता स्थापित संस्थानहरूले बिरामी संख्या वृद्धि र बजार हिस्सेदारी बढाउने अवसर पाउने अपेक्षा गरिएको छ।

एल एस अस्पतालले आईसीयू, २४ सै घण्टा आपतकालीन सेवा, अपरेशन, निदान र प्रयोगशाला, न्यूरो, सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, अर्थोपेडिक, स्त्री रोग र बाल रोगसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ।

स्थिर वित्तीय अवस्था, अनुभवी व्यवस्थापन टोली, र बढ्दो स्वास्थ्य सेवा मागका कारण अस्पतालको भविष्यमा विस्तार र नाफा वृद्धिको सम्भावना रहेको देखिन्छ। तर, परियोजना ढिला हुनु, लागत बढ्नु वा ऋण संरचना कमजोर हुनु जस्ता जोखिमहरू निरन्तर निगरानीमा राख्नुपर्ने पनि रिपोर्टमा उल्लेख छ।

अस्पताल विस्तार परियोजना हाल प्रारम्भिक चरणमा रहेको छ। आवश्यक पूर्वाधारका लागि धेरैजसो जग्गा अधिग्रहण भइसकेको छ। परियोजनाको लागतको अन्तिम रूप अझै तय भइसकेको छैन। परियोजना मुख्यतः संस्थापकको स्वपुँजी (इक्विटी) लगानीमा सुरु हुने अपेक्षा गरिएको छ। 

योजना अनुसार अस्पतालको क्षमता विस्तार सन् २०२८ को अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

Advertisment

थप समाचार