काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईको स्वामित्वमा रहेको बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडको कारोबार ४४.३७ प्रतिशतले बढेको छ । सन् २०२५ मा बिएन्डसी मेडिकल कलेजले एक अर्ब ३९ करोडको कारोबार गरेको हो ।
सन् २०२४ मा कम्पनीले ९६ करोड ३० लाखको कारोबार गरेको थियो भने सन् २०२३ मा ८१ करोड ५० लाखको कारोबार गरेको थियो । पछिल्ला वर्षहरुमा मेडिकल कलेजको कारोबारमा निरन्तर वृद्धि देखिएको छ । अस्पताल सेवासँगै मेडिकल कलेज सञ्चालन सुरु भएपछि नयाँ आम्दानी स्रोत थपिएको र बिरामीको आवागमन बढेकाले आम्दानीमा उल्लेख्य वृद्धि भएको रेटिङ एजेन्सी जनाएको छ।
यद्यपि कम्पनीको नाफा मार्जिन भने केही घटेको छ । आर्थिक वर्ष २०२५ मा कम्पनीको पीबीआईएलडीडी मार्जिन करिब २२.८३ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्ष २६.६९ प्रतिशत थियो । नयाँ सुविधा सञ्चालन, पूर्वाधार विस्तार र प्रशासनिक खर्च बढेकाले मार्जिन घटेको रिपोर्टमा उल्लेख छ ।
यद्यपि कम्पनीले अघिल्लो वर्षको नगद घाटाबाट सुधार गर्दै आर्थिक वर्ष २०२५ मा करिब २ करोड ८० लाख रुपैयाँ सकल नगद सञ्चिति हासिल गरेको छ । चालु आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामै कम्पनीले ७० करोड ८० लाख रुपैयाँ कारोबार गरिसकेको छ ।
झापामा सञ्चालित बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको व्यापार विस्तार हुँदै गए पनि कम्पनीको पूँजी संरचना अझै कमजोर र ऋणको भार उच्च रहेको देखिएको छ ।
केयर रेटिङ नेपालले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीको दीर्घकालीन बैंक सुविधामा बी प्लस र अल्पकालीन बैंक सुविधामा एफोर रेटिङ पुनः प्रदान गरिएको छ ।
रेटिङ एजेन्सीका अनुसार कम्पनीले लिएको बैंक सुविधा रकम बढेर ४ अर्ब ४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । जसमा ३ अर्ब ९४ करोड ७६ लाख रुपैयाँ दीर्घकालीन र १० करोड रुपैयाँ अल्पकालीन कर्जा रहेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बैंक सुविधा ३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ थियो ।
प्रतिवेदनअनुसार कम्पनीको पूँजी संरचना उच्च ऋणमा आधारित रहेको छ । आर्थिक वर्ष २०२४ र २०२५ मा निरन्तर घाटा संचित भएकाले कम्पनीको नेटवर्थ कमजोर भएको छ ।
आर्थिक वर्ष २०२५ मा कम्पनीको कुल ऋण करिब ३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ३ अर्ब ६६ करोड रुपैयाँ थियो । मुख्यतः होस्टल लगायत शैक्षिक पूर्वाधार निर्माणका लागि लिइएको ऋण तथा ब्याज पूँजीकरणका कारण कम्पनीको कुल ऋण बढेको रिपोर्टमा उल्लेख छ ।
ऋणको भार उच्च भएपनि कम्पनीको ऋण सेवा क्षमता केही सुधारिएको छ । आर्थिक वर्ष २०२५ मा कम्पनीको ब्याज भुक्तानी क्षमता १.१० गुणा पुगेको छ, जुन अघिल्लो वर्ष १ भन्दा कम थियो । बैंकहरुको ब्याजदर घट्दै जानु र सञ्चालनबाट नगद प्रवाह सुधारिनुले ऋण सेवा क्षमतामा सुधार आएको प्रतिवेदनले जनाएको छ ।
बिएन्डसी मेडिकल कलेज सन् २०११ मा स्थापना भएको निजी स्वास्थ्य संस्था हो । मेडिकल कलेजले झापामा बहुविशेषज्ञ सेवा तथा आधुनिक डायग्नोस्टिक सुविधासहित स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीको अध्यक्ष डा. रामबाबु गिरी रहेका छन् भने कार्यकारी निर्देशक दुर्गा प्रसाईं रहेका छन् ।
Advertisment