महाशक्ति सिमेन्ट्सले गर्यो छ महिनामा ४०.३० करोडको व्यापार, बढ्दो लागतले नाफामा दबाब

महाशक्ति सिमेन्ट्सले गर्यो छ महिनामा ४०.३० करोडको व्यापार, बढ्दो लागतले नाफामा दबाब

काठमाडौं : पछिल्ला वर्षहरूमा महाशक्ति सिमेन्ट लिमिटेडको व्यापार विस्तार हुँदै गएको देखिएको छ। निर्माण क्षेत्रमा सिमेन्टको माग बढ्दै जाँदा कम्पनीको बिक्री रकममा उल्लेखनीय वृद्धि भएको देखिएको हो । 

चालु आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामै कम्पनीले करिब ४६ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। यसअघि आर्थिक वर्ष २०२५ मा कम्पनीले १ अर्ब २५ करोड ५० लाख रुपैयाँ बराबरको बिक्री गरेको थियो। 

त्यसअघि सन् २०२४ मा कम्पनीको व्यापार ९४ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा ९६ करोड २० लाख रुपैयाँ रहेको थियो। विशेषगरी सन् २०२३ देखि २०२५ सम्मको अवधिमा कम्पनीको वार्षिक आम्दानी औसतमा करिब १४.२२ प्रतिशतले वृद्धि भएको देखिन्छ।

यद्यपि व्यापार विस्तार हुँदै गए पनि कम्पनीको नाफामा भने लगातार गिरावट देखिएको छ। बढ्दो कच्चा पदार्थको मूल्य र उद्योगभित्रको तीव्र प्रतिस्पर्धाले कम्पनीको नाफामा भने दबाब परेको रिपोर्टमा उल्लेख छ । 

सन् २०२३ मा कम्पनीको सञ्चालन नाफा मार्जिन करिब ८७ प्रतिशत रहेको थियो। तर यो मार्जिन सन् २०२४ मा घटेर ५४ प्रतिशत मा झर्यो भने सन् २०२५ मा झन् घटेर २९.९४ प्रतिशतमा पुगेको छ। चालु आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामा कम्पनीको सञ्चालन नाफा मार्जिन २६.९३ प्रतिशत कायम रहेको छ।

रेटिङ प्रतिवेदनका अनुसार कम्पनीको नाफा घट्नुको मुख्य कारण क्लिंकरको मूल्यमा आएको तीव्र वृद्धि हो। सिमेन्ट उत्पादनको प्रमुख कच्चा पदार्थ क्लिंकरको मूल्य अन्तर्राष्ट्रिय बजारसँग जोडिएको हुन्छ। पछिल्लो समय यसको मूल्य बढे पनि सिमेन्टको बिक्री मूल्य सोही अनुपातमा बढाउन नसक्दा कम्पनीको सञ्चालन नाफामा दबाब परेको बताइएको छ।

नाफामा आएको गिरावटसँगै कम्पनीको आन्तरिक नगद प्रवाह (क्यास फ्लो) पनि घटेको छ। सन् २०२५ मा कम्पनीको आन्तरिक नगद प्रवाह घटेर करिब ११ करोड २० लाख रुपैयाँ मा झरेको छ। व्यापार विस्तार भइरहे पनि बढ्दो कच्चा पदार्थको लागत र बजार प्रतिस्पर्धाका कारण कम्पनीको वित्तीय प्रदर्शनमा चुनौती देखिएको उल्लेख छ । 

कम्पनीको समग्र ऋण अनुपात पछिल्ला तीन वर्षदेखि १ भन्दा कम रहेको छ। सन् २०२५ मा यो अनुपात ०.७१ गुणा रहेको थियो भने सन् २०२६ को जनवरीसम्म पनि करिब ०.७५ गुणा को आसपास रहेको छ। 

तर नाफा घटेसँगै कम्पनीको ब्याज तिर्ने क्षमता भने कमजोर हुँदै गएको छ। आर्थिक वर्ष २०२४ मा कम्पनीको ब्याज कवरेज अनुपात २ गुणा रहेको थियो भने आर्थिक वर्ष २०२५ मा घटेर १।३७ गुणा मा पुगेको छ। यसले नाफा घट्दा वित्तीय दायित्व व्यवस्थापनमा दबाब बढ्दै गएको संकेत गर्छ।

यसैबीच, इन्फोरिमेक्स क्रेडिट रेटिङले कम्पनीलाई दीर्घकालीन बैंकिङ सुविधामा ‘डबल बी माइनस’ तथा अल्पकालीन बैंकिङ सुविधामा ‘एफोर’ रेटिङ प्रदान गरेको छ। 

रेटिङ एजेन्सीका अनुसार कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको मानिन्छ। महाशक्ति सिमेन्टले दीर्घकालीन रूपमा करिब ६३ करोड ६८ लाख रुपैयाँ र अल्पकालीन रूपमा २ अर्ब १६ करोड ५२ लाख रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधाका लागि रेटिङ गराएको छ।

नेपालको सिमेन्ट उद्योगमा प्रतिस्पर्धा पनि तीव्र हुँदै गएको छ। हाल देशभर करिब ६० वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् भने करिब २० वटा क्लिंकर उत्पादन गर्ने उद्योग सक्रिय रहेका छन्। 

महाशक्ति सिमेन्टले क्लिंकरसहितका प्रमुख कच्चा पदार्थहरू भारत तथा अन्य देशहरूबाट आयात गर्दै आएको छ। क्लिंकरसँगै कोइला, फ्लाइ एश, जिप्सम, स्ल्याग र आइरन अयस्कजस्ता कच्चा पदार्थहरूको मूल्य अन्तर्राष्ट्रिय बजारसँग जोडिएको हुँदा मूल्यमा उतारचढाव आउने जोखिम कम्पनीले निरन्तर सामना गर्नुपर्ने रिपोर्टमा उल्लेख छ । 

महाशक्ति सिमेन्ट लिमिटेड हालै सार्वजनिक कम्पनीका रूपमा स्थापना भएको हो। सन् २०२३ को जुलाईमा महाशक्ति सिमेन्ट प्रालि, गरिमा सिमेन्ट प्रालि र एम जयपी सिमेन्ट प्रालि गाभिएपछि कम्पनी सार्वजनिक कम्पनीको रूपमा गरिणत भएको हो । 

कम्पनीको एकीकृत सिमेन्ट उत्पादन उद्योग कपिलवस्तुको शिवराज–६ मा रहेको छ। कम्पनीले हाल ओपिसी र पीपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ।

कम्पनीका अध्यक्ष सुन्र पाठक रहेका छन्। कम्पनीमा श्याम प्रसाद पौडेलको करिब ९ प्रतिशत शेयर स्वामित्व रहेको छ भने हरि बहादुर भण्डारी र पारस अधिकारीको समान ८–८ प्रतिशत शेयर स्वामित्व रहेको छ।

यसैबीच कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ।

कम्पनीले एक अर्ब ७८ करोड ५० लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको हो। आईपीओको बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।