काठमाडौं : काठमाडौंको कान्तिपथ क्षेत्रमा प्रस्तावित पाँचतारे ओएसिस होटल परियोजना लागत बढ्दै जाँदा र वित्तीय व्यवस्थापनमा चुनौती देखिँदा पुनः चर्चामा आएको छ। व्यापारिक समूह चौधरी ग्रुपको प्रमुख लगानी रहने यो होटल परियोजनाको अनुमानित लागत निर्माण सुरु हुनुअघि नै उल्लेखनीय रूपमा बढेको छ।
प्रस्तावित होटलको लागत अहिले बढेर ७ अर्ब ८९ करोड ९० लाख रुपैयाँ पुगेको छ। यसअघि कम्पनीले परियोजनाको लागत करिब ६ अर्ब २६ करोड रुपैयाँ रहने अनुमान गरेको थियो। यसरी निर्माण कार्य सुरु नहुँदै लागत करिब २६ प्रतिशतले बढेको हो।
कम्पनीका अनुसार परियोजना कार्यान्वयनमा ढिलाइ हुनु, निर्माण सामग्री तथा अन्य व्यवस्थापन खर्च बढ्नुजस्ता कारणले लागतमा वृद्धि भएको हो। लागत बढेसँगै होटलको प्रतिकोठा लागत पनि उल्लेखनीय रूपमा बढेको छ। अहिले प्रतिकोठा लागत करिब ३ करोड २० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
काठमाडौँको कान्तिपथ क्षेत्रमा निर्माण हुने यो पाँचतारे होटलमा कुल २५० कोठा रहनेछन्। होटल १६ तलाको हुने योजना छ, जसमा दुई तला भूमिगत पार्किङसहित कुल उचाइ करिब ५२ मिटर रहनेछ।
होटल भवन करिब सात रोपनी जग्गामा निर्माण हुने भएको छ भने सम्पूर्ण परियोजना परिसर करिब १० रोपनी क्षेत्रफलमा फैलिनेछ। भवनको कुल क्षेत्रफल २२ हजार ७०९ वर्गमिटर रहनेछ। परियोजनामा हरियाली क्षेत्र करिब २० प्रतिशत, खुला क्षेत्र ३९.२८ प्रतिशत र ग्राउण्ड कभरेज करिब ४०.६६ प्रतिशत रहने योजना बनाइएको छ।
परियोजनाको लगानी संरचना पनि परिमार्जन गरिएको छ। प्रारम्भिक योजनामा २५ प्रतिशत संस्थापकको स्वपुँजी र ७५ प्रतिशत बैंक ऋणमार्फत लगानी गर्ने योजना बनाइएको थियो। तर अहिले उक्त संरचना परिवर्तन गरी ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण हुने गरी प्रस्ताव गरिएको छ।
यद्यपि परियोजनाका लागि आवश्यक ठूलो हिस्सा ऋण तथा इक्विटी अझै जुटाउन बाँकी रहेकाले यसको कार्यान्वयनमा केही वित्तीय जोखिम देखिएको विश्लेषण गरिएको छ।
कम्पनीमा चौधरी समूहको लगानी कम्पनी आर एण्ड आर सिटी सेन्टर प्राइभेट लिमिटेडको ४४ प्रतिशत स्वामित्व छ। यसैगरी व्यवसायी सुवर्णकृष्ण श्रेष्ठको ३३ प्रतिशत, अमृतरत्न शाक्यको १८ प्रतिशत तथा शर्मा एण्ड कम्पनी प्राइभेट लिमिटेडको ५ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
हालसम्म परियोजनाका लागि आवश्यक जग्गा खरिद गरिसकिएको छ र जग्गा खरिद तथा विकासमा अनुमानित लागतको करिब २२ प्रतिशत रकम खर्च भइसकेको जनाइएको छ। तर होटलको भौतिक निर्माण कार्य भने अझै सुरु हुन सकेको छैन।
कम्पनीले निर्माण कार्य सुरु भएपछि होटल निर्माण सम्पन्न गर्न करिब साढे तीन वर्ष लाग्ने अनुमान गरेको छ। व्यवस्थापनले होटललाई आर्थिक वर्ष २०३० सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। साथै अन्तर्राष्ट्रिय स्तरको चेन होटल ब्रान्ड भित्र्याएर सञ्चालन गर्ने योजना पनि बनाइएको छ।
यसबीचमा क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ओएसिस होटल प्रालिको दीर्घकालीन र अल्पकालीन ऋण रेटिङ पुनः पुष्टि गर्दै कम्पनीलाई डिफल्ट श्रेणीमै राखेको छ। कम्पनीको दीर्घकालीन ऋण रेटिङ “एलडी” र अल्पकालीन ऋण रेटिङ “डी” कायम गरिएको हो।
रेटिङ एजेन्सीका अनुसार कम्पनीले ऋणको किस्ता तथा ब्याज भुक्तानीमा ३० दिनभन्दा बढी ढिलाइ गर्ने क्रम देखिएकाले यस्तो निर्णय गरिएको हो। पछिल्लो पटक पनि सन् २०२६ जनवरीको मध्यसम्म समाप्त हुने त्रैमासिक अवधिमा ऋण सेवा भुक्तानीमा ढिलाइ भएको जनाइएको छ।
कम्पनीको कुल ऋण सीमा पनि उल्लेखनीय रूपमा बढाइएको छ। यसअघि करिब ५८ करोड ५९ लाख रुपैयाँ रहेको ऋण सीमा बढेर अहिले करिब ३ अर्ब रुपैयाँ पुगेको छ। दीर्घकालीन ऋण सीमा २ अर्ब ९७ करोड ९० लाख रुपैयाँ र अल्पकालीन ऋण सीमा दुई करोड ९ लाख रुपैयाँ रहेको छ।
ओएसिस होटल कम्पनी सन् २००६ मा स्थापना भएको हो। प्रारम्भिक योजनाअनुसार सन् २०२२ को अन्त्यदेखि निर्माण सुरु गरी चार वर्षभित्र अर्थात् सन् २०२६ सम्म होटल सञ्चालनमा ल्याउने लक्ष्य थियो। तर परियोजना विकासको प्रारम्भिक चरणमै ढिलाइ हुँदा निर्माण सुरु हुन सकेको छैन।
Advertisment