काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ बिन्दुमा बन्द भएको हो।
आज कारोबारमा आएका कुल कम्पनीहरूमध्ये ७८ कम्पनीको शेयरमूल्य बढ्दा १७८ कम्पनीको शेयरमूल्य घटेको छ भने ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
सूचक घटेपनि कारोबार रकममा भने उल्लेखनीय वृद्धि देखिएको छ। आज बजारमा २१ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आजको कारोबारमा ङादी ग्रुप पावर कम्पनीको शेयर सर्वाधिक किनबेच भएको छ। उक्त कम्पनीको एक अर्ब ९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
सर्वाधिक मूल्य बढ्नेमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यता, मूल्य घट्ने कम्पनीतर्फ हिम स्टार उर्जा कम्पनी परेको छ । कम्पनीको शेयरमूल्य ६.३६ प्रतिशतले घटेको छ।
यसअघि प्रतिनिधिसभा निर्वाचन-२०८२मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुईतिहाइ बहुमत ल्याउने अनुमानपछि बजारमा असाधारण उत्साह देखिएको थियो।
स्थिर सरकार बन्ने र नीतिगत स्थिरता आउने अपेक्षामा लगानीकर्ताले आक्रामक रूपमा शेयर खरिद गर्दा सोमबार खुलेको बजारमा लगातार तीन पटक सर्किट लागेर कारोबार बन्द भएको थियो।
Advertisment